काठमाडौं । भक्तपुरको पिकनिक स्थलनजिक पार्किङ क्षेत्रमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ बोडे निलबाराही पार्किङ क्षेत्रमा स्थित मृतक खोटाङको केपिलासगढी गाउँपालिका–२ घर भएका ६६ वर्षीय ओम प्रकाश राई हुन्।
राई कबाडी सामान संकलन गर्ने व्यक्ति भएको खुलिएको छ। प्रहरीले उनको शवमा देखिएको चोटका आधारमा हत्या भएको आशंका गरेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता ढुण्डिराज नेउपानेले मृतकको दाहिने कानको छेउ र टाउकोमा गहिरो चोट लागेको जानकारी दिए। साथै, शव नजिकै रगत लत्पतिएको ढुंगा भेटिएको हुँदा ढुंगा प्रहार गरेर हत्या गरिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।
शव पोस्टमार्टमका लागि भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पताल पठाइएको छ। मृतकका तीन छोरा रहेको र उनीहरूमध्ये जेठो छोरा ग्रिसमा रहेको खुलेको छ। मृतकसँगै अन्य दुई जना कबाडी संकलन गर्नेहरू पनि रहेकोले प्रहरी उनीहरूको खोजी तथा अनुसन्धानमा जुटेको छ।
प्रतिक्रिया