काठमाडौं । प्रमुख सत्तारुढ दल नेकपा (एमाले) ले पूर्वराजा ज्ञानेन्द्र शाह र उनका समर्थकहरू गणतन्त्र कमजोर पार्ने योजनामा लागिपरेको आरोप लगाउँदै भारतको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ।
पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले विशेष प्रस्ताव पारित गर्दै भारतको उक्साहटमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनी पक्षधरले नेपालको गणतन्त्र कमजोर बनाउने उद्देश्यसहित चलखेल बढाएको निष्कर्ष निकालेको छ ।
बैठकपछि एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भनिन्,- ‘पूर्वराजा शाह र उनका समर्थकहरूको पछिल्लो गतिविधि गणतन्त्रलाई कमजोर बनाउने सुनियोजित प्रयास हो। कसैको उक्साहट नभएको भए अहिले राजतन्त्र फर्काउने गतिविधि यति सक्रिय हुने थिएन।’
पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ७ मा दिएको अभिव्यक्ति र फागुन २५ मा राजावादीहरूले आयोजना गरेको प्रदर्शनपछि नेपालमा पुनः राजसंस्थाको बहस चुलिएको छ। पोखराबाट काठमाडौं आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजा शाहलाई ठूलो संख्यामा समर्थकहरूले स्वागत गरेका थिए। यस घटनाले राजावादीहरूलाई थप आत्मविश्वास दिलाएको एमालेको ठहर छ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेपालको लोकतान्त्रिक प्रणालीलाई पछाडि फर्काउने कुनै पनि प्रयास असफल हुने दाबी गरेका छन्। ‘नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरिसकेको छ। अब मुलुकलाई पुनः राजतन्त्रतर्फ फर्काउने प्रयासलाई जनताले नै अस्वीकार गर्छन्,’ ज्ञवालीले भने।
एमालेले लोकतान्त्रिक गणतन्त्रका उपलब्धिलाई कमजोर पार्न केही शक्तिहरू लागिपरेको भन्दै त्यसविरुद्ध सबै गणतन्त्र पक्षधर शक्ति एकजुट हुनुपर्नेमा जोड दिएको छ।
गणतन्त्र स्थापनाका लागि संघर्ष गरेका दलहरू आन्तरिक विवादमा फसेका कारण बाह्य शक्तिहरूले चलखेल गर्ने अवसर पाएको एमालेको ठहर छ। पार्टीले सबै लोकतान्त्रिक शक्तिहरू एकताबद्ध भएर नेपालको संविधान र लोकतान्त्रिक प्रणालीको रक्षा गर्नुपर्नेमा जोड दिएको छ।
राजावादीहरूले पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वमा समिति गठन गरेको दाबी गरिए पनि यस विषयमा आन्तरिक मतभेद देखिएको छ। गणतन्त्र पक्षधर दलहरूले भने राजतन्त्र फर्काउने अभियानले मुलुकलाई अस्थिर बनाउने चेतावनी दिएका छन्।
प्रतिक्रिया