काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजावादीहरूले काठमाडौंमा गरेको प्रदर्शन सामान्य भएको टिप्पणी गरेका छन् । सुदूरपश्चिम प्रदेश सम्मेलनलाई सम्बोधन गर्न सोमबार धनगढी पुगेका सभापति देउवाले धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।
हिजो काठमाडौंमा अद्भुत प्रदर्शन भयो भन्ने हल्ला छ ? भन्दै देउवालाई सञ्चारकर्मीले प्रश्न गरेका थिए । जवाफमा देउवाले भनेका छन्, ‘कहाँ अद्भुत हुन्छ ? केही भएकै छैन ।’ उनले अहिले दुई दल सरकारमा रहेको र सरकार राम्रोसँग चलेको पनि जिकिर गरे ।
‘दुईवटा पार्टी सरकारमा छन् । राम्रैसँग चलेको छ । सरकारमा कुनै समस्या छैन,’ उनले भने । उनले ०८४ सम्म सरकार चल्ने पनि दाबी गरे । उनले पार्टीको महाधिवेशन समयमै हुने जिकिर गरे ।
काँग्रेस, सुदूरपश्चिम कार्यसमितिको प्रथम प्रदेश सम्मेलनको उद्घाटनका लागि देउवासहितका नेताहरू सोमवार बिहान धनगढी पुगेका छन।
नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश प्रवक्ता सुरत रावत (डोटेली कान्छा)ले सभापति देउवा, महामन्त्रीहरू गगन कुमार थापा र विश्वप्रकाश शर्मा तथा कोषाध्यक्ष उमेश श्रेष्ठ, केन्द्रीय सदस्य शशाङ्क कोइराला लगायतका नेताहरूको टोली धनगढी पुगेको बताए।
प्रतिक्रिया