• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    नेपालमा जनवादी क्रान्ति सम्पन्न भएको भए कम्युनिष्टहरु रुँदै कराउँदै हिड्नु पर्दैनथ्यो: प्राडा भण्डारी

    1.8K
    SHARES



    काठमाडौ । नेपालमा सामन्तवाद बिरोधी पूजीवादी जनवादी क्रान्ति सम्पन्न भैनसकेको त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर जगदीशचन्द्र भण्डारीको भनाइ छ । त्यसैले, संविधानमा समाजवाद उन्मुख लेख्दैमा समाजवाद नआउने उनले जिकिर समेत गरे ।

    अर्थ राजनीतिका बिश्लेषक तथा लेखक डीपी ढकालको पुस्तक ‘समाजवादी क्रान्तिका दुई चरण’बारे त्रिभुवन विश्वविद्यालय परिसरमा बिहीवार आयोजित परिचर्चा कार्यक्रमलाई सम्बोधन गर्दै प्राडा भण्डारीले भने, ”देश समाजवादतर्फ हुन्थ्यो भने सर्वहारा वर्गको नेतृत्वमा जनवादी अधिनायकत्वको अवस्था हुन्थ्यो र मिसन ८४ भन्दै कम्युनिष्टहरु रुँदै कराउँदै हिड्नुपर्ने अवस्था हुदैनथ्यो ।”

    समाजवादी क्रान्तिसँग जोडिएका अनुभव र आफ्नो बैचारिक दार्शनिकीकरण मार्फत लेखक ढकालले समाजवादी क्रान्तिका लागि गुन लगाएका भएपनि मार्क्सवादमा समाजवादी क्रान्तिका दुई चरण भनेर व्याख्या नगरिएको उनले बताए । समाजवादको चरण नहुने भन्दै उनले सिधै जनवादी अधिनायकत्व र सर्वहारा अधिनायकत्वमा जोड दिए ।

    कार्यक्रममा त्रिविका सह प्राध्यापक डा रमेश पौडेलले समाजवादी राजनीतिक अर्थशास्त्रमा समाजवादी क्रान्तिका दुई चरण पुस्तकले बहस छेडेको बताए । समाजवादी नेताहरुको बिचार र व्यवहारले समाजवादी आन्दोलनमा समस्या देखिएको र नेताहरु सामुहिक सिद्धान्तले निर्देशित नभई व्यक्तिगत बिचारले निर्देशित हुँदा आन्दोलनको भविष्य व्यक्तिकेन्द्रित हुन पुगेको उनले खुलासा गरे ।

    सिद्धान्तलाई सत्तामा पुगेपछि बिर्सने र कार्यान्वयन नगर्ने अवस्थाले समाजवादमा पुग्ने अवस्था नहुने उनले स्पष्ट पारे । राज्यले उत्पादनमा लगानी नगर्दा नेपाली रैथाने बस्तु तथा सेवा बिस्थापित हुन पुगेका र यसले समाजवादलाई असर पुर्याएको उनले दावी गरे । उनले सर्वहारा वर्गको अधिनायकत्व शब्दावलीमै समस्या रहेको र त्यसलाई फरक ढंगले परिभाषित गर्नुपर्ने पनि आवश्यकता औल्याए । पुराना थेउरी रटेर सामाजवाद सजिलो नहुने उनको तर्क छ ।

    उनले समाजवादका चरणप्रति सहमती जनाउँदै त्यसका लागि सशस्त्र बिद्रोह आवश्यक नभएको बताए । वर्तमान पुस्ता सशस्त्र बिद्रोहबाट थाकेर बसेको बताउँदै उनले यो पुस्ता सशस्त्र बिद्रोहको पक्षमा नरहेको ठोकुवा गरेका छन् ।

    अर्का सहप्राध्यापक डा गुमानसिंह खत्रीले जनवादी क्रान्ति सम्पन्न भएको भन्ने लेखक ढकालको भनाइ प्रति सहमती जनाएपनि भूमिको पुनर्वितरण नगरिकन र सामन्तवादी श्रम सम्बन्ध कायमै रहेसम्म समाजवादी क्रान्तिको चरणमा पुगिएको भन्ने निष्कर्ष सहि हुन नसक्ने बताए ।
    देशमा सुदखोर र मिटर ब्याज बिरुद्धको आन्दोलन, सहकारी पिडितहरुको आन्दोलन लगायत जनपक्षीय आन्दोलन उठिरहेको र कम्युनिष्टहरुले त्यसको नेतृत्व गर्न नसकिरहेको प्रति उनले आपत्ति जनाए ।

    नेपालका कम्युनिष्ट पार्टीहरु सामाजवाद उन्मुख भन्ने भ्रममा बाचिरहेका भएपनि उनीहरु संसदीय अवसरवादमा चुर्लुम्म डुबेका डा खत्रीको दावी छ । सुधारिएको पंचायत भन्याजस्तै यो सुधारिएको संसदीय व्यवस्था मात्र भएको उनले दावी गरेका छन् ।

    यो अवस्थाबाट समाजवादमा पुग्न नसकिने स्पष्ट पार्दै उनले त्यसका लागि बलप्रयोग अत्यावश्यक रहेको उल्लेख गरे । शासक वर्गबाट शासित वर्गमा स्वामित्व र अधिकार सजिलै हस्तान्तरण नहुने उनले बताए । राष्ट्रिय पूजीको बिकास र सामूहिक पुजीको निर्माण बलप्रयोग नगरी नहुने विषय भएका उनको भनाइ छ ।

    त्यसैगरी त्रिविकै अर्का प्राध्यापक डाक्टर सूर्यबहादुर थापाले समाजवाद आवश्यक रहेपनि कम्युनिष्ट पार्टीबीच यसको बाटोको विषयलाई लिएर टुटफुट भएको बिचार व्यक्त गरे ।

    लेखक ढकालले बैज्ञानिक समाजवादकै स्कूलिंगबाट समाजवादी क्रान्तिका दुई चरण लेखेको बताउँदै उनले वर्तमान अवस्थामा यसले समाजवादी क्रान्तिका लागि महत्वपूर्ण पूजी थपिएको बताए ।समाजवादका दुई चरण थेसिसका रुपमा अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन् ।

    सो अवसरमा समाजवादी क्रान्तिका दुई चरण पुस्तकका लेखक डिपी ढकालले सनातनी मार्क्सवादी धारामाहरुमा समाजवादको दुई चरण हुन्छ भनेर कसैले पनि नभनेको स्वीकार गर्दै आफू आफ्नो अनुभव र अन्तराष्ट्रिय समाजवादी क्रान्तिको शिक्षाबाट सो निस्कर्षमा पुगेको जानकारी गराए ।

    मार्क्सले पूजीको चरम बिकास भएको बेलायत र जर्मनबाट मात्रै क्रान्तिको युग शुरु हुन्छ भनेको कुरामा लेनिनले सुधार नगरेको भए रुसमा क्रान्ति नै नहुने इतिहास उल्लेख गर्दै लेखक ढकालले देशैपिच्छेको मौलिकता र विशेषतालाई नजर अन्दाज गर्न नहुने बताए ।

    मार्क्सवादको आधारभूत सिद्धान्तप्रति प्रतिवद्धता र निष्ठामा अडिग रहँदै उनले देशको सार्वभौमिक चरित्र र उत्पादन सम्बन्धको विशिष्ट चरित्रलाई टेकेर सामाजवादमा जानुपर्ने मार्गचित्र प्रस्तुत गरे । उत्पादन साधनको सम्बन्धको स्वामित्वको रुपान्तरण र सर्वहारा एवं मूलत उत्पीडित श्रमजीवी वर्गको त्यसमा नेतृत्वदायी भूमिकामा उनले जोड दिएका छन् ।

    सो अवसरमा उपप्राध्यापक ताराप्रसाद न्यौपाने, बामपन्थी राजनीतिज्ञ सुरेश न्यौपाने, त्यसैगरी बामपन्थी लेखकद्वय श्रीराम खाइजू र शिव फुयाँल तथा पुस्तकका प्रकाशक ननस्टप मिडियाका निर्देशक संजीप घिमिरे लगायतले विश्वविद्यालयमा समाजवादलाई बहसको विषय बनाइनु सकारात्मक रहेको प्रतिक्रिया दिए ।

    राजनीतिक बिचार निर्माण र पथप्रदर्शनमा बौद्धिक एवं प्राज्ञिक जगतले योगदान गर्न सके समाजवादमा सजिलै पुग्न सकिने उनीहरुको बुझाइ रहेको छ । सो पुस्तक परिचर्चा कार्यक्रममा त्रिविका प्राध्यापक र विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ