• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    प्रधानमन्त्रीले ‘चिनियाँ कार्ड’ खेलेको भन्ने प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

    323
    SHARES



    काठमाडौँ । नेकपा (एमाले) ले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई लिएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय मिडियामा दिएको अभिव्यक्तिको भर्त्सना गरेको छ।

    एमालेको विदेश विभाग प्रमुख रघुवीर महासेठले शनिबार विज्ञप्ती जारी गरी प्रधानमन्त्री केपी शर्मा ओलीले ‘चिनियाँ कार्ड’ खेलेको भन्ने प्रचण्डको अभिव्यक्ति आधारहीन, गैरजिम्मेवार रहेको भन्दै त्यसप्रति भर्त्सना गरेका हुन्।

    प्रचण्डको अभिव्यक्तिले नेपालको सार्भभौमसत्ता र परराष्ट्र नीतिमा समेत क्षति पुगेको एमालेको निष्कर्ष छ। एक सार्वभौम सत्तासम्पन्न मुलुकको प्रधानमन्त्रीले कुन देश भ्रमण गर्ने भन्ने निर्णय स्वतन्त्र रूपमा गर्न सक्ने र त्यसका लागि बाह्य स्वीकृति आवश्यक नहुने पनि बताइएको छ।

    ‘प्रचण्डको भनाइले नेपालले आफ्ना दुई छिमेकी भारत र चीनसँग कायम रखेको सन्तुलनलाई कमजोर बनाउँछ,जुन दुवै नेपालको विकास र समृद्धिको हिस्सा हुन्। यस्ता विचारहीन टिप्पणीले यी राष्ट्रहरूसँगको साझेदारीलाई खतरामा पार्न सक्छ,’ विज्ञप्तिमा भनिएको छ।

    मुलुकको सार्वभौमसत्ता र स्वतन्त्रताको रक्षामा प्रधानमन्त्री ओलीले ऐतिहासिक नेतृत्व गरेको पनि विज्ञप्तिमा उल्लेख छ। त्यसकारण प्रचण्डलाई आफ्नो अभिव्यक्ति तत्काल फर्ता लिएर नेपाली जनतासँग माफी माग्न एमालेले अनुरोध गरेको छ।

    ‘नेकपा एमाले भारत र चीन दुवैसँग नेपालको सन्तुलित सम्बन्ध कायम गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै पुष्पकमल दाहाललाई आफ्ना गैरजिम्मेवारपूर्ण अभिव्यक्ति फिर्ता लिन र नेपाली जनतासँग माफी माग्न आग्रह गरेको छ,’ विज्ञप्तिमा भनिएको छ।

    प्रचण्डले भारतीय पत्रिका द हिन्दुकी पत्रकार सुहासिनी हैदरसँगको अन्तर्वार्तामा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली चीन भ्रमणमा जान लागेको विषयमा टिप्पणी गर्दै ‘चिनियाँ कार्ड’ को आरोप लगाएका हुन्।

    प्रधानमन्त्री ओली मंसिर २७ गतेदेखि चीनको औपचारिक भ्रमणमा जाने तयारीमा छन्। हैदरले प्रधानमन्त्रीका रूपमा ओलीले पहिलो पटक चीनको औपचारिक भ्रमण गर्न लागेको विषयमा प्रचण्डलाई प्रश्न सोधेकी थिइन्।

    जबाफमा प्रचण्डले भनेका थिए, ‘यो केपी ओली सरकारको अपरिपक्वता हो। सरकारले दुई छिमेकीसँगको सम्बन्धमा परिपक्वता देखाउनुपर्थ्यो। केपीजी चीनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ। यो भ्रमण चिनियाँ कार्ड जस्तो देखिएको छ, जुन गलत छ। हाम्रो इतिहास, संस्कृति र भूगोलका आधारमा हामीले छिमेकीसँग बराबरको सम्बन्ध निभाउनुपर्छ। उहाँले (चीन) जानुअघि भारतसँगको हाम्रो विशेष सम्बन्धको ख्याल राख्नुपर्थ्यो।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया