• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    उमागौरी सहकारी ठगी प्रकरण- १० जनाविरुद्ध पक्राउ पुर्जी

    585
    SHARES



    विराटनगर । मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया बजारस्थित उमागौरी कृषि सहकारी संस्थाको ठगी प्रकरणको अनुसन्धान प्रहरीले सुरु गरेको छ ।

    उमागौरी सहकारीको बचत अपचलन विषयमा जिल्ला अदालत मोरङबाट १० जनाविरुद्ध पक्राउ अनुमति लिएर अनुसन्धान सुरु गरिसकेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए । उनका अनुसार सहकारी संस्थाको वर्तमान सञ्चालक समितिका ७ र लेखा सुपरिवेक्षण समितिका ३ गरी १० जनाविरुद्ध पक्राउ अनुमति लिइएको छ ।

    प्रहरी स्रोतका अनुसार सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि सहकारीका वर्तमान अध्यक्ष धनपालथान–४ घर भइ विराटनगरको शान्ति चोक बस्दै आएका शम्भुप्रसाद रौनियार, सहकारीका उपाध्यक्ष कटहरी गाउँपालिका–२ का लक्ष्मण साह, सचिव धनपालथान–४ का आलम अन्सारी मियाँ र कोषाध्यक्ष धनपालथान–४ का शम्भुप्रसाद सिंह विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । यसैगरी सञ्चालक समितिका सदस्यहरु जहदा गाउँपालिका–४ का आमोद मण्डल, धनपालथान–४ का रोशन राजवंशी तथा धनपालथान–२ का जितमान ठाकुरविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

    यो सहकारीको ठगी प्रकरणमा संसदको सार्वजनिक लेखा समिति सभापति तथा एमाले नेता ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला पनि जोडिएकी छन् । उमागौरी सहकारीको पूर्वसञ्चालक कोइराला कालोसूचीमा छिन् । सहकारी संकटमा परेपछि कोइरालाले ५ माघ २०७८ देखि सहकारीबाट राजीनामा दिएकी थिइन् ।

    कोइराला सञ्चालक भएको बेला लिएको ऋण नतिरेका कारण आरएसडिसी लघुवित्त वित्तीय संस्थाले कोइरालासहित अन्य सञ्चालकलाई कालो सूचीमा राखेको छ । उनीमाथि भने प्रशासन मौन छ । मोरङकै माछापुछ्रे बचत तथा ऋण सहकारीको बचत अपचलनको मुद्दामा भने पूर्व सञ्चालकविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको थियो ।

    उमागौरीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण लिएको देखिन्छ। सहकारीले फिर्ता गर्नुपर्ने बचत २ करोड ३ लाख ५४ हजार १ सय ५६ रुपैयाँ छ। १८ करोड ४० लाख कुल पुँजी देखाइएको सहकारीको वासलात रिपोर्टमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया