काठमाडौँ । बाँकेकी अभियन्ता रूबी खानसहित धर्नामा बसेकाहरू बिरामी भएका छन्।
५६ दिनदेखि काठमाडौंको माइतीघर मण्डलामा धर्नामा बसेकी रूबी खानसहित उनको टोली नै बिरामी परेका हुन्।
रूबीलाई डेंगी भएको छ। अरू १२ जना अभियन्तालाई ज्वरो र खोकी लागेको हो। बिरामी भए पनि धर्नामै बसिराख्ने मनकुमारी गुर्तालले बताइन्। ‘१३ जना सबै बिरामी भएका छौं, माग पूरा नभएसम्म छोड्दैनौं,’ उनले भनिन्।
निर्मला कुर्मी र सुमदरानी थारूलाई न्याय माग गर्दै उनीहरू धर्नामा बसेका हुन्। उनीहरू गत जेठ २५ गतेदेखि धर्नामा बसेका हुन्।
‘राजनीतिक दबाब र प्रभावमा निर्दोषलाई फसाउने बाँकेका अहिलेका एसपी र अनुसन्धान अधिकृत चाहिँदैन, प्रहरीले आमनागरिकको अधिकार हनन् गर्न पाउँदैन’ भन्दै उनी धर्नामा सुरू गरेका थिए।
कुर्मीलाई लामो समय बन्धक बनाएर हत्या गरिएको उनीहरूको आरोप छ। कुर्मीको न्यायको लागि लामो समयदेखि खान लगायतले आवाज उठाउँदै आएकी छन्। उनी यसअघि पनि तीन पटक न्याय माग्दै काठमाडौं आएकी थिइन्।
प्रतिक्रिया