काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालले शुक्रबारबाट जलनका बिरामीलाई सेवा दिन थालेको छ । २०७२ वैशाखको भूकम्पपछि बन्द रहेको बर्न वार्डमा जलनका सामान्य बिरामीलाई उपचार गर्न अन्य अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता थियो ।
अस्पतालका निर्देशक डा. सन्तोष पौडेलका अनुसार डा. केडी जोशी जलन उपचार केन्द्र नामकरण गरी सेवा पुन: सुरु गरिएको हो । जसमा १० जनरल बेड, ५ आईसीयू र तीनवटा अप्रेसन थिएटर छन् ।
नेपालमा जलनको उपचारको सुरूवात वरिष्ठ प्लाष्टिक सर्जन डा. केशवदास जोशीले २०४३ सालदेखि वीर अस्पतालमा सुरू गरेका थिए । उनकै नामबाट अस्पतालले केन्द्रको नामकरण गरेको हो ।
नेपालजस्तो अल्पविकसित देशमा जलनको समस्या भयावह छ । चिकित्सकहरुका अनुसार जलनमा पर्ने धेरैजसो बिरामी दूरदराज र विपन्न वर्गका हुन्छन् । नेपाल सरकारले जलनका घाइतेहरूलाई नै उपचार गर्ने भनेर अस्पताल बनाएको छैन । सबै खाले उपचार हुने ठूला अस्पतालमा ५ देखि १० बेडको जलन उपचार विभाग तोकिए पनि दक्ष जनशक्ति नहुँदा काठमाडौं नै रेफर गर्ने चलन छ ।
अमेरिका लगायत विकसित मुलुकमा अत्याधुनिक उपकरण र स्तरीय उपचारका कारण ९० प्रतिशतसम्म जलेर आएका ५० प्रतिशत बिरामीलाई बचाएको रेकर्ड छ । तर नेपालमा ४० प्रतिशत जलेका बिरामीलाई पनि बचाउन हम्मेहम्मे पर्छ ।
हाल नेपालमा सबैभन्दा बढी सेवा दिइरहेको कीर्तिपुर अस्पतालमा शरीरको बाहिरी भाग जलेकामा ३० प्रतिशत र श्वासनली जलेकोमा ६० प्रतिशतभन्दा बढी मृत्युदर छ ।उपत्यकाका ८ प्रतिशत र काठमाडौं बाहिरका ९२ प्रतिशत जलनका बिरामी आउने गरेको कीर्तिपुरको तथ्यांकले देखाउँछ । बढी जलनका घटना मधेश प्रदेशमा हुने गरेको छ ।
जलनका बिरामीलाई एक लाख सहुलियत दिने तयारी
अस्पताल बसाई लामो र जलनको बिरामीको स्वास्थ्य अवस्था जटिल हुने भएकाले उपचार खर्चिलो हुन्छ । एक अध्ययनअनुसार जलेका बिरामीको ६० प्रतिशतभन्दा बढी पैसा औषधि किन्दा सकिन्छ । कमजोर आर्थिक अवस्था भएकाहरु नै बढी जलनको समस्यामा पर्छन् । उपचारमा पटक–पटक शल्यक्रिया र महंगो औषधि लाग्ने हुँदा उनीहरुको सर्वस्व सकिने अवस्था आउँछ ।
सरकारले जलनका बिरामीलाई उपचारमा सहुलियत दिने गरेको छैन । डा. पौडेलका अनुसार शुक्रबार जलन उपचार केन्द्र उद्घाटन गर्दै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले जलनका बिरामीलाई एक लाख सहुलियत दिने आश्वासन दिएका छन् ।
प्रतिक्रिया