काठमाडौं ।आजबाट रंगहरूको पर्व फागु अर्थात् होली विधिवत् रूपमा सुरु भएको छ ।
काठमाडौंको बसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ शुक्रबार बिहान होलीको चीर ठड्याइएपछि देशभर होलीको विधिवत् सुरुवात भएको हो । बिहान ८ बजेर ३३ मिनेटको साइतमा चीर ठड्याइएको हो ।
फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै होली पर्व सुरु हुन्छ । परम्परा अनुसार रंगी चंगी कपडाका टुक्राहरु झुण्ड्याइएको तीन तले चीर ठड्याएपछि हर्ष र बधाईका साथ अबीर छर्की चीरलाई पूजा गरी होली खेल्न प्रारम्भ गरिन्छ ।
तीन तले छत्र र त्यसमा रंगीचंगी कपडाका टुक्राहरु झुण्डिएका करिब ३० फीट अग्लो चीरलाई ठड्याइएको छ । वसन्त उत्सवका रूपमा समेत मानाइने रंगहरुको पर्व होलीको पौराणीक तथा सांस्कृतिक महत्त्व रहेको छ ।
यसै शुभसाइतमा हनुमानढोका परिसर, हनुमानढोका भित्र डाखचोक र मोहनकाली चोकमा पनि मयलरुखको हाँगामा रंगी चंगी कपडाका टुक्राहरु झुन्ड्याइएको चीर गाडिएको छ ।
प्रतिक्रिया