काठमाडौं । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगी प्रकरण मुद्दामा रास्वपाका सभापति रवि लामिछानेको बयान सकिएको छ । आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा लामिछानेको बयान सकिएको हो ।
लामिछानेको बयान सकिएसँगै वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ र सुशील पन्तले उनको पक्षमा बहस सुरु गरेका छन् । लामिछानेको पक्षमा बहस सकिएपछि सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरि शर्मा काफ्ले र जिल्ला न्यायाधिवक्ता खडान्द्रराज कटवालसहित १० जनाले बहस गर्ने तयारी रहेको छ ।
गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । रविलाई सरकारी वकिलले सो ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदाबी गरेको छ ।
अभियोग पत्रमा उल्लेख भए अनुसार ७५ लाख १० हजार २ सय रुपैयाँ रेमिट मार्फत विदेश पठाएको फेला भेटिएको छ । २०२१ र २०२२ मा सो रकम गएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सो रकम रवि लामिछानेको नामबाट विदेशमा पठाएको भेटिएको छ ।
अदालतले कास्की जिल्ला अदालतले झैँ धरौटी मागेमा छुटने छन् । नमागे वा बयान नसकिएमा उनी अझै हिरासतमा रहने जनाइएको छ ।
पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिनपछि गत बिहीबार साँझ ६५ लाख धरौटी बुझाएर छुटेका थिए ।
त्यहाँबाट छुटे पनि उनीविरुद्ध कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा चलेको थियो । त्यसपछि उनी शुक्रबार नै स्वयम् हाजिर हुने भनिए पनि समयअभावका कारण आइतबार उपस्थित भएका हुन् ।
प्रतिक्रिया