• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बयान सकेर पूर्वडीआईजी जोशीलाई पोखरा फिर्ता गरिँदै, रविलाई ल्याउने तयारी

    31
    SHARES



    काठमाडौं । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जोडिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको बयान सकिएको छ ।

    मंगलबार साँझ पोखराबाट काठमाडौं ल्याइएका जोशीको बुधबार र बिहीबार बयान लिइएको थियो । जोशीसँग जिल्ला सरकारी वकिल कार्यालयमा दुई दिन बयान लिइएको थियो ।

    बयान सकिएपछि जोशीलाई आजै पोखरा फिर्ता गर्न लागिएको छ । पोखरा फिर्ता गराउनका लागि जोशीलाई प्रहरीले अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ लगेको छ ।

    जोशीलाई पोखरा पुर्‍याएपछि भोलि शनिबार साँझ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई काठमाडौं ल्याउने तयारी छ ।

    रविलाई शनिबार साँझ काठमाडौं ल्याएर आइतबारबाट बयान लिने तयारी रहेको परिसर स्रोतले जानकारी दियो ।

    यसअघि स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमै पक्राउ पुर्जी जारी भएपछि पोखराबाट कुमार रम्तेललाई काठमाडौं झिकाएर बयान गरिएको थियो । शनिबार काठमाडौं ल्याइएका रम्तेललाई बयान सकेर मंगलबार फिर्ता गरिएको थियो ।

    ६४५ बचतकर्ताले जाहेरी दिएपछि यो सहकारी ठगीको प्रहरी वृत्त कालीमाटीले अनुसन्धान सुरु गरेको थियो । अहिले जिल्ला प्रहरी परिसरले कालीमाटीबाट फाइल झिकाएर अनुसन्धान गरिरहेको छ ।

    स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड रकम अपचलन भएको प्रहरीको प्रारम्भिक अनुमान छ । जोशी ६ असोज र लामिछाने २ कात्तिकदेखि प्रहरी हिरासतमा छन् ।

    उनीहरूमाथि पोखराको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारीमा पनि अनुसन्धान भइरहेको छ । यसका लागि चितवनको साहारा चितवन सहकारीमा पनि उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया