काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले आफ्नो चीन भ्रमणको क्रममा सन् २०१५ मे मा चीन र भारतबीच भएको समझदारीको २८ औं बुँदाबारे कुरा उठाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।
बिहिबार काठमाडौँको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले उक्त बुँदामा चीन र भारतले नेपालीभूमि लिपुलेकलाई आफ्नो भूमिझैं गरिरहेकाले उक्त समझदारीलाई खारेजीको लागि पहल गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।
१५ मे सन् २०१५ मा भारत र चीनबीच संयुक्त विज्ञप्ति जारी भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीनको औपचारिक भ्रमणका क्रममा जारी संयुक्त विज्ञप्तिमा दुई पक्षले लिपुलेक हुँदै भारत र चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोड्ने व्यापार मार्ग खोल्ने उल्लेख थियो ।
त्रीदेशीय सीमामा नेपाललाई बाइपास गरेर भारत र चीनले सम्झौता गरेका थिए । चीनसंगको उक्त सम्झौतापछि भारतले नेपाललाई कुनै जानकारी नै नदिइ एकतर्फीरुपमा लिपुलेक हुँदै व्यापार मार्ग खोलेको छ । जसको नेपालभएर चौतर्फी बिरोध हुँदै आएको छ ।
चिनियाँ प्रधानमन्त्री ली छ्याङको तर्फबाट प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तिो आएको थियो। ओली मंसिर १७ गते चीन जाने सम्भावना रहेको बालुवाटार स्रोतले जनाएको छ । यद्यपि, भ्रमणको औपचारिक घोषणा भने हुन बाँकी छ।
त्यस्तै, कालापानी, लिम्पियाधुरा–लिपुलेकलगायत नेपाली भूमि तत्काल छोड्न समेत नेकपा बहुमतले माग गरेको छ । उसले सन् १९५० लगायत सबै असमान सन्धि तथा सम्झौता खाजेर गर्न समेत माग गरेको छ ।
प्रतिक्रिया