दोधारा । कञ्चनपुरमा ३ दिनदेखि लगातार पानी परिरहेको छ । लगातार परेको पानीले महाकाली, जोगबुढा र दोदा नदीमा जलस्तर खतराको तह पार गरेको छ ।
दोदा नदीको बाढीका कारण विस्थापित भएका ७० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक ईश्वर थापाले बताए । त्यस्तै भीमदत्त नगरपालिका–१२ स्थित रहेको भुजेला खोलाले बस्ती डुबानमा परेको छ ।
त्यसैगरि लगातारको पानीपछि महाकाली नदीमा पानीको बहाब बढेको छ । पानीको बहाब बढेपछि शुक्रबार बिहानदेखि शारदा ब्यारेजको पुलमा चारपाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रहरीका अनुसार महाकाली नदीमा पानीको बहाब तीन लाख ५१ हजार क्युसेक पुगेको छ । शारदा ब्यारेजको पुल जीर्ण भएको भन्दै पानीको बहाव एक लाख क्युसेक नाघ्ने वित्तिकै ठूला सवारीसाधन आवागमनमा रोक लगाइने गरिएको छ ।
जिल्लाका अन्य नदीमा पनि जलस्तर खतराको तह पार गरेको छ । वर्षा नरोकिएका कारण नदीमा जलस्तर अझै बढ्नसक्ने बताइएको छ । नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता र पूर्व तयारी अपनाउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अनुरोध गरेको छ ।
प्रतिक्रिया