काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन्द्र साहले एमालेकी प्रदेश सांसदलाई लक्षित गर्दै लेखेको पोस्ट फेसबुकले फिर्ता गरिदिएको छ ।
एमाले लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मालाई लक्षित गर्दै उनले लेखेको घरेलु बालश्रम सम्बन्धी स्टाटसलाई फेसबुकले कम्युनिटी स्ट्यान्डर्ड उल्लंघन भएको भन्दै तीन दिनअघि हटाएको थियो ।
फेसबुकले साहबाट ह्यारेसमेन्ट र बुलिइङ समेत भएकाले हटाइएको सूचना पठाएको थियो । साहले आफ्नो पोस्ट सरकारले हटाएको भन्दै प्रधानमन्त्री केपी ओलीविरुद्ध रोष प्रकट गरेका थिए ।
त्यसपछि साहका केही निकटस्थ र समर्थकले प्रधानमन्त्री ओलीको फेसबुक पेजमा अनफलो अभियान चलाएका थिए । सरकारले भने त्यो पोस्ट आफूले नहटाएको, बरु साह आफैंले हटाएको बताउँदै आएको थियो ।
ओली र साह दुवैले यसबारे औपचारिक रुपमा केही नभने पनि एमाले पार्टी पंक्ति र साहका समर्थकबीच फेसबुकमा आरोप प्रत्यारोप नै चलेको थियो । शुक्रबार अपराह्न फेसबुकले उक्त पोस्ट फेरि प्रकाशित भएको खुलाउँदै सूचना पठाएको छ ।
प्रतिक्रिया