काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज अपरान्ह र राति कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको चेतावनी दिँदै ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
विभागका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा देशका बाँकी भागमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
विभागले आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाउँदै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको बताएको छ । साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
त्यसैगरी, आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागले जनाएकाे छ ।
प्रतिक्रिया