• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगी आरोपमा काठमाडौं प्रहरीमा जाहेरी

    1.4K
    SHARES



    काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत ठगी आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको छ। लामिछानेविरुद्ध सिन्धुलीका युवराज पौडेल ‘सफल’ ले हुलाकमार्फत उक्त जाहेरी दिएका हुन् ।

    जाहेरीमा सहकारी ठगी आरोपमा फरार रहेका गितेन्द्रबाबु राईलाई पनि प्रतिवादी बनाइएको छ । काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडिया नेटवर्कको नाममा ६४ करोड रुपैयाँ गैरकानुनी रुपमा कर्जा लिई अपचलन गरेको आरोप जाहेरीमा लगाइएको छ ।

    जाहेरीमा लामिछाने २०७७ फागुन ११ देखि २०७९ असार १ गतेसम्म गोर्खा मिडिया नेटवर्कको सञ्चालक तथा प्रबन्ध निर्देशकको जिम्मेवारीमा हुँदा स्वर्णलक्ष्मीबाट गोर्खा मिडियाको नाममा ६४ करोड रुपैयाँ गैरकानुनी रुपमा कर्जा लिने कार्यमा संलग्न रहेको उल्लेख छ ।

    ‘स्वर्णलक्ष्मी सहकारीसम्बन्धी जिल्ला प्रहरी कार्यालय काठमाडौँले गरेको अनुसन्धान प्रतिवेदन, सहकारीसम्बन्धी निकायले गरेको अनुसन्धान प्रतिवेदन साथै विभिन्न राष्ट्रिय मिडियामा सार्वजनिक भएका तथ्यांकहरुलाई मुख्य प्रमाण मानी आवश्यक कारवाही गरि पाऊँ’, जाहेरीमा उल्लेख छ ।

    उक्त कसूरमा सहकारी ऐन दफा १२२ को उपदफा (ख), संगठित अपराध निवारण ऐन २०७० र मुलुकी अपराध संहिता २०७४ को दफा २४९ आकर्षित हुने भएकाले निजहरूलाई तत्काल पक्राउ गरी हदैसम्मको कैद सजाय हुन तथा पीडितको रकम फिर्ता गराउन जाहेरीमा माग गरिएको छ ।

    स्वर्णलक्ष्मी सहकारीबाट जीबी र रविले ‘सवारी कर्जा’ शीर्षकमा दुई पटक रकम लिएको दाबी गरिएको छ । ०७८ वैशाख ९ गते गोर्खा मिडिया नेटवर्क प्रालिका नाममा चारपांग्रे सवारी खरिदका लागि ४६ लाख ४८ हजार रूपैयाँँ कर्जा लिएको पाइएको छ । ०७८ साउन ५ गते पुनः त्यही नाममा ४६ लाख ९८ हजार रूपैयाँँ लिएको भौचर सार्वजनिक भइसकेको छ ।

    यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगीमा पनि गृहमन्त्री रविविरुद्ध प्रहरीमा जाहेरी परेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता भएको पूरक जाहेरीमा रविको नाम पहिलो नम्बरमा थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया