काठमाडौं । भोलि बिहीबारदेखि सर्वसाधारणका लागि धरहरा खुला हुने भएको छ ।
काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि अन्तरिम रुपमा सञ्चालन गर्ने निर्णय २७ भदौको मन्त्रिपरिषद बैठकले नै गरेको थियो ।
लगतै संविधान दिवसको अवसर पारेर धरहरा चढ्न पाउने व्यवस्था गर्न सरकारले शहरी विकास मन्त्रालयमार्फत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) का परियोजनालाई निर्देशन दिएको थियो ।
परियोजनाले भोलिदेखि धरहरामा दैनिक करिब ५०० जनालाई चढ्न दिने गरी व्यवस्थापन गर्दैछ । परियोजनाका प्रमुख कोषनाथ अधिकारीका अनुसार वेबसाइटमार्फत धरहरा चढ्ने टिकट काट्ने व्यवस्था गर्न लागिएको छ ।
त्यसको तयारी सकिएपछि वेबसाइटबारे सार्वजनिक रुपमा जानकारी दिइने उनले बताए । भोलिको हकमा वेबसाइटमार्फत सम्भव नभए धरहरा परिसरमै भौतिक रुपमा टिकट काट्ने व्यवस्था मिलाउने परियोजना प्रमुख अधिकारीले बताए । अर्को निर्णय नभएसम्मका लागि धरहराको प्रवेश टिकट निःशुल्क गरिनेछ । धरहराभित्रको पार्किङ पनि निःशुल्क हुनेछ ।
धरहरा चढ्नेहरुले माथि पुग्न र तल झर्न दुई वटा विद्युतीय लिफ्टको प्रयोग गर्न पाउने छन् । धरहरा चढेकाहरुले करिब १० मिनेट मात्रै यसको बार्दली क्षेत्रमा बिताउन पाउनेछन् । फोटो भिडियो खिच्न समेत दिइने परियोजना प्रमुख अधिकारीले बताए ।
प्रतिक्रिया