काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । राजीनामा अघि प्रधानमन्त्रीसँग परामर्श गर्न सो पार्टीका नेताहरू बालुवाटार पुगेका हुन् ।
पार्टी सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्याललगायतका नेताहरू प्रधानमन्त्रीसँगको परामर्शमा जुटेका हुन् । समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्ने र प्रधानमन्त्रीको धारणापछि राजीनामा बुझाउने उनीहरूको तयारी छ ।
‘हामी राजीनामा दिन तयार छौँ । तर विकसित घटनाक्रमबारे प्रधानमन्त्रीसँग परामर्श गर्नुपर्यो । उहाँका कुरा सुनेपछि हामी आफ्नो ढङ्गबाट अघि बढ्छौँ’- उपसभापति अर्यालले भने ।
सरकारमा रास्वपाका तर्फबाट सभापति लामिछाने उपप्रधान तथा गृहमन्त्री, उपसभापति अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन् ।
बुधबार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै मन्त्रीहरुले पनि सामूहिक राजीनामा बुझाएका थिए । नेकपा एमालेले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग गठबन्धन गरेपछि सरकार अल्पमतमा परेको छ ।
प्रतिक्रिया