• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    वरिष्ठ नेता पौडेलको गिरफ्तारीपछि फायर भएका देउवाको फोन प्रधानमन्त्रीलाई, के भयो कुराकानी ?

    1.6K
    SHARES

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको धरपकडलाई लिएर प्रधानमन्त्री ओलीलाई लाई टेलिफोन गरेका छन् । देउवाले प्रधानमन्त्रीलाई फोन गरी नेता पौडेललाई किन पक्राउ गरेको भनेर प्रश्न गरेका थिए ।

    देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार सभापति देउवाले वरिष्ठ नेता पौडेललाई तत्काल रिहा गर्नसमेत माग गरेका थिए । नेता पौडेलकै शान्ति सुरक्षाका लागि प्रहरीले सुरक्षित स्थलमा लगेको तर्क गर्दै तत्काल रिहाइ गरिन्छ प्रधानमन्त्रीको जवाफ थियो ।

    तनहुँको व्यास नगरपालिका वडा नम्बर १ तालघरेबाट पौडेललाई प्रहरीले पक्राउ गरेको थियो। पौडेललाई बुधबार दिउँसो निषेधाज्ञा तोडेर पुल उद्घाटन गर्न गएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो।

    त्यसपछि नेता पौडेलको गिरफ्तारीको नेपाली कांग्रेसले भत्सर्ना गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ती जारी गर्दै वरिष्ठ नेता पौडेललाई गिरफ्तार गर्नु सर्वसत्तावादको संकेत भएको बताएका छन् ।

    सभापति देउवाले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘तनहुँ जिल्ला ब्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल आज स्थानीय उपभोक्ता समितिले सर्वसम्मत रुपमा निर्णय गरेर निमन्त्रणा गरे पश्चात् उद्घाटन गर्न जाँदै गर्दा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलमाथि गरिएको दुर्व्यवहार र गिरफ्तारी अत्यन्तै आपत्तिजनक छ ।’

    देउवाले सरकारको कामको भत्सर्ना गर्दै तत्काल पौडेललाई रिहा गर्न माग समेत गरेका छन् । देउवाले रिहा नगरे उत्पन्न हुने परिस्थितिको सामना गर्न चेतावनी समेत दिएका छन् ।

    ‘तनहुँ जिल्ला ब्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल आज स्थानीय उपभोक्ता समितीले सर्वसम्मत रुपमा निर्णय गरेर निमन्त्रणा गरे पश्चात् उद्घाटन गर्न जाँदै गर्दा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल माथि गरिएको दुव्र्यवहार र गिरफ्तारी अत्यन्तै आपत्तिजनक छ’, देउवाले विज्ञप्तिमार्फत भनेका छन्, ‘सरकारको यो निन्दनीय व्यवहारको भत्सर्ना गर्दै तत्काल उहाँलाई रिहा गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु ।’

    प्रकाशमान सिंहले के भने ?

    नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वरिष्ठ नेता रामचन्द्र पौडेललाई गिरफ्तार गरेर सरकारले आफ्नो दिनगन्ती सुरु गरेको बताएका छन् । बुधबार गृहजिल्ला तनहुँमा पौडेल पक्राउ परेपछि सिंहले नेकपाको सरकारको असली चरित्र उदाँगो भएको बताए ।

    उनले पञ्चायत र राजाको प्रत्यक्ष शासनकाल विर्साउने गरि प्रमुख प्रतिपक्षी दलको वरिष्ठ नेतामाथि नै धरपकड सुरु गरेर नेकपाको सरकारले आफ्नो दिनगन्ती शुरु गरेकोे बताए । उनले पौडेलसहितका नेता, कार्यकर्तामाथिको धरपकड र गिरफ्तारीको घटनाको निन्दा गरेका छन् ।

    ‘कार्यक्रमलाई प्रभावित गर्न सत्ताको आडमा कार्यक्रमस्थलमा निषेधाज्ञा जारी गर्ने कार्य भएको छ । नेपाली काँग्रेसका नेता कार्यकर्तामाथि धरपकड गर्ने, स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने, नागरिक हकविरुद्ध बाटो अवरोध गर्नेजस्ता निन्दनीय कार्य भएका छन् । यो सत्ताको चरम दुरुपयोग हो,’ सिंहले भने ।

    यसले नेकपा सरकारको असली चरित्र उदांगिएको उनको भनाइ छ । सिंहले तत्काल पौडेललाई ससम्मान रिहाई गर्न माग समेत गरे । नेता सिंहले पौडेललाई रिहा नगरिए काँग्रेसले सशक्त प्रतिवाद गर्ने चेतावनी दिँदै घटनाको छानबिन गर्नसमेत माग गरे ।

    यस्तै नेता शेखर कोइरालाले पौडेललाई नियन्त्रणमा लिएर प्रशासनले कानुनको धज्जी उडाएको बताए । उनले ट्विटर लेखेका छन्, ‘व्यास नगरपालिकाले निर्माण गरेको पूल उदघाटन गर्न गृह जिल्ला तनहुँ पुग्नुभएका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर प्रशासनले कानुनी राज्यको धज्जी उडाएको छ। यस घटनाको घोर भर्त्सना गर्दै नेता पौडेललाई तत्काल ससम्मान रिहाइको माग गर्दछु।’

    नेता गगन थापाले के भने ?

    यस्तै नेपाली काँग्रेसका नेता गगन थापाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलप्रतिको दुर्व्यवहार र गिरफ्तारी प्रधानमन्त्रीका लागि निकै महंगो पर्ने चेतनावनी दिएका छन् । तनहुँमा मोटरेवल पुल उद्घाटन गर्न पुगेका पौडेललाई स्थानीय प्रशासनको आदेशमा जिल्ला प्रहरी कार्यालय तनहुँले आज दिउँसो नियन्त्रणमा लिएको छ ।

    वरिष्ठ नेता पौडेलको गिरफ्तारी र प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रतिक्रिया नभएको थापाको भनाइ छ । उनले ट्वीटरमा लेखेका छन्, यो नियोजित हो, राजनीतिक प्रतिशोध हो, शक्ति उन्माद हो। यसले यो सरकारको चरित्रलाई उदाङ्गो बनाएको छ।

    प्रधानमन्त्रीलाई मेनसन गर्दै थापाले यो तपाईँका लागि निकै महँगो पर्नेछ भनेका छन् । यस्तै नेता नैनसिंह महरले पौडेलमाथि गरिएको दुव्र्यवहार खेदजनक भएको बताए । पौडेललाई नेकपाका कार्यकर्ता र नेकपा पुलिस प्रशासनले अबरोध गरेर हिरासतमा लगिएको नेता महरको आरोप छ ।

    जिल्ला प्रशासन कार्यालय तनहुँले जारी गरेको निषेधाज्ञा तोडेको आरोपमा प्रशासनले काँग्रेसका वरिष्ठ नेता पौडेललाई आज दिउँसो पक्राउ गरेको थियो । तनहुँको व्यास नगरपालिका–१, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दी खोला पुल उद्घाटन गर्न गएका पौडेललाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

    गिरफ्तार पर्नुअघि पौडेलले के भनेका थिए ?

    गिरफ्तार पर्नुअघि नेता पौडेलले पार्टीको १४ औं महाधिवेशन आगामी फागुन ७ मै गर्न सकिने बताएका थिए । काग्रेस केन्द्रीय कार्यालयले क्रियाशील सदस्यता वितरण र नविकरणका लागि पठाएको फारम भरेर सदस्यको विवरण जिल्ला कार्यसमितिले बुझाई नसक्दै नेता पौडेलले सदस्यता वितरण र नवीकरणलाई तीव्रता दिएमा फागुन ७ देखि १४ औं महाधिवेशन सम्भव हुने बताएका हुन् ।

    ‘क्रियाशील सदस्यताको सूची पाएको डेढ महिनाभित्र महाधिवेशन गर्न सकिन्छ,’ तनहुँमा बुधबार संचारकर्मीसँग पौडेलले भने, ‘तोकिएकै समयभित्र महाधिवेशन गरौं, पार्टीलाई संकटतर्फ जान दिन हुन्न ।’

    कांग्रेसको १३ औं महाधिवेशनबाट निर्वाचित बर्तमान केन्द्रीय कार्यसमितिको एक वर्ष थप गरिएको कार्यकाल आगामी फागुनमा सकिँदैछ । त्यसपछि महाधिवेशन गर्ने हो भने कार्यकाल बढाउनुपर्ने हुन्छ । त्यसका लागि कांग्रेसले संविधानको सहारा लिनुपर्ने हुन्छ ।

    पार्टी केन्द्रीय कार्यसमितिको हालै बसेको बैठकले मंसिरभित्रै क्रियाशील सदस्यता वितरण र नविकरण टुंग्याउन निर्देशन दिइसकेको छ । जिल्लाले केन्द्रीय कार्यालयमा विवरण पठाए पनि त्यसको उजुरी, माग दाबी र अन्तिम नामावली प्राप्त भएपछि मात्र क्रियाशिल सदस्यताको काम सम्पन्न हुन्छ ।

    पार्टीको महाधिवेशनको लागि गाउँ–नगर वडा, गाउँ–नगर, प्रदेश सभा निर्वाचन क्षेत्र, प्रतिनिधिसधा निर्वाचन क्षेत्रको अधिवेशन गर्नै पर्ने बाध्यता छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समितिको अधिवेशनले मात्र महाधिवेशन प्रतिनिधिहरुको छनोट गर्दछ ।

    जिल्ला र प्रदेश अधिवेशन पनि महाधिवेशनअघि नै सम्पन्न गर्नु पर्ने पार्टी विधानमा उल्लेख गरिएको छ । तर समायोजन नसकिएको भन्दै केही जिल्लामा कांग्रेसले क्रियाशील नवीकरण र वितरण गर्न सकेको छैन ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ