• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    कोरोना संक्रमणबाट थप २९ जनाको मृत्यु

    11K
    SHARES

    काठमाडौँ । विश्वभर महामारीका रुपमा फैलिरहेकाे कोरोना भाइरस कोभिड १९ लाई लिएर नेपालीहरुको लागि अर्को दुखद खबर आएको छ । नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप २९ जनाको मृत्यु भएको छ ।

    यससँगै देशभर कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १५०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा थप २९ जनाले संक्रमणकै कारण ज्यान गुमाएका हुन्।

    यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १४७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १७ हजार ४२३ रहेको छ ।

    पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३६१ महिला र ४४८ पुरुष गरी ८०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म उपत्यकामा कोरोना स‌क्रमितको संख्या १ लाख ९ हजार १२६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६१५, ललितपुरमा १२५ र भक्तपुरमा ६९ जनाान कोरोना भाइरसको संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा थप १९३१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख १४ हजार ५२१ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

    कुन जिल्लामा कति संक्रमित थपिए ?

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ को इलाममा ५, उदयपुरमा १०, झापामा ४९, ताप्लेजुङमा २४, धनकुटामा ४, पाँचथरमा २, भोजपुरमा १, मोरङमा ८२, संखुवासभामा ४, सोलुखुम्बुमा ४ र सुनसरीमा ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    यसैगरी प्रदेश २ को धुनषामा १४, बारामा ३, महोत्तरीमा १, रौतहटमा ३, सप्तरीमा १२, सर्लाहीमा ४ र सिरहामा ७ जनामा कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार बागमती प्रदेशको काठमाडौंमा मात्र ६ सय १५ जनामा कोरोना पुष्टि भएको छ।

    काभ्रेमा २९, चितवनमा ३७, दोलखामा २, धादिङमा १०, नुवाकोटमा ६, भक्तपुरमा ६९, मकवानपुरमा २४, रामेछापमा ४, ललितपुरमा १ सय २५, सिन्धुलीमा १ र सिन्धुपाल्चोकमा १० जनामा कोरोना स‌क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

    यस्तै गण्डकी प्रदेशको कास्कीमा २९, गोरखामा १६, तनहुँमा २, नवलपरासी पूर्वमा १२, पर्वतमा १, म्याग्दीमा १०, लमजुङमा ३, वागलुङमा १ र स्याङजामा १२ जना कोरोना स‌क्रमित थपिएका छन् ।

    लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २, कपिलवस्तुमा ४, गुल्मीमा ३, दाङमा ४९, नलवपरासीमा ५, पाल्पामा ७, प्यूठानमा ४, बर्दियामा १, बाँकेमा ८, रोल्पामा १ र रुपन्देहीमा ३६ जनामा कोरोना पुष्टि भएको छ ।

    यसैगरी कर्णाली प्रदेशको जाजरकोटमा ४, जुम्लामा ३, दैलेखमा ५, रुकुम पश्चिममा १, सल्यानमा ५ र सुर्खेतमा २४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। सुदूरपश्चिम प्रदेशको अछाममा ४, कञ्चनपुरमा १, डडेल्धुरामा २, डोटीमा १ र बाजुरामा ५ जना कोरोना स‌क्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

    कोरोना भाइरस सङ्क्रमणः कोभिड-१९ विरुद्ध बनेको एन्टिबडी मानिसको शरीरमा ‘कम्तीमा ६ महिना बस्छ’

    कोरोनाभाइरसविरुद्ध निर्मित एन्टिबडी मानिसको शरीरमा कम्तीमा छ महिना बस्ने र तिनले दोस्रो पटक सङ्क्रमण हुनबाट जोगाउने प्रमाण भेटिएको एउटा अध्ययनले देखाएको छ।

    अक्स्फर्ड यूनिभर्सिटीद्वारा सञ्चालित अस्पतालहरूमा कार्यरत स्वास्थ्यकर्मीको नियमित कोभिड-१९ परीक्षण र पहिला सङ्क्रमण भएको थियो कि थिएन भनेर हेर्न एन्टिबडी परीक्षण गरिएको थियो।

    शरीरमा जति धेरै मात्रामा एन्टिबडी हुन्छ पुनः सङ्क्रमण हुने सम्भावना पनि उति नै कम हुन्छ। अर्को छुट्टै अध्ययनमा अरू कोरोनाभाइरसका कारण विकसित प्रतिरक्षा क्षमताले पनि कोभिड-१९ हुन नदिएको देखियो।

    सङ्क्रमणविज्ञ डा. केटी जेफ्रीले कोभिड खोप बन्न लागेको अवस्थामा अक्स्फर्ड यूनिभर्सिटीको निष्कर्षलाई “उत्साहवर्धक समाचार” भनेकी छन्। उनका अनुसार एक चोटि भाइरसको सङ्क्रमण भएपछि फेरि कोभिड हुन नदिन “छोटो अवधिकै लागि भए पनि सुरक्षा प्राप्त” हुने अनुसन्धाताहरूले बताएका छन्।

    अक्स्फर्ड यूनिभर्सिटीको अध्ययनमा स्वास्थ्यसेवाका १२,००० कर्मचारीलाई संलग्न गराइएको थियो। तीमध्ये ११,००० जनामा कोभिड-१९ को एन्टिबडी भेटिएको थिएन। भाइरल सङ्क्रमण हुँदा शरीरले एन्टिबडी निर्माण गर्छ। ती तत्त्वहरूले भाइरसलाई अन्य कोषभित्र छिर्न दिँदैनन्।

    अध्ययन आरम्भ गरिँदा एन्टिबडी नभएकामध्ये ८९ जनामा लक्षणसहितको सङ्क्रमण भयो। स्वाब परीक्षणबाट सङ्क्रमण पुष्टि गरिएको थियो। तर कोरोनाभाइरसविरुद्ध एन्टिबडी भएका कुनै व्यक्तिमा पनि अध्ययन अवधिभरि लक्षण देखिनेगरी सङ्क्रमण भएन।

    परीक्षण गर्दा एन्टिबडी बनेको पुष्टि भए पनि तीन जनामा भने लक्षणविहीन कोभिड-१९ भएको पाइयो। उक्त समूहमा ७६ जनामा एन्टिबडी थिएन। तर ती तीन जना पनि बिरामी भएनन्। उक्त अध्ययनका अनुसार “सार्स-कोभ-२ सँग फेरि संसर्ग हुँदा पनि लक्षण नदोहोरिनेगरी” परिणाममा एकरूपता देखियो।

    यो अनुसन्धानमा कोभिड-१९ गराउने कोरोनाभाइरसको “स्पाईक प्रोटीन” विरुद्ध बन्ने एन्टिबडीको अध्ययन गरिएको थियो। कोरोनाभाइरसको सतहमा बनेको काँडाजस्तो देखिने उक्त प्रोटीनलाई लक्ष्य गरेर अहिले खोप निर्माणको काम भइरहेको छ।

    अनुसन्धानमा सहभागी व्यक्तिहरूलाई ३० सातासम्म परीक्षण गरिएको थियो। यो साताको आरम्भतिर पब्लिक हेल्थ इङ्ग्ल्यान्डले गरेको एउटा शोधमा मानव शरीरको प्रतिरक्षा प्रणालीले बनाउने टी-सेल नामक विशेष कोषको अध्ययन गरेको थियो।

    अध्ययनमा सहभागी गराइएका कर्मचारीमध्ये एकचौथाइमा टी-सेलको मात्रा उच्च भएको र ती कोषले शरीरभित्र रगतमा कोरोनाभाइरस भए पत्ता लगाउने गरेको देखिएको थियो। तर तीमध्ये आधाभन्दा केही बढीमा मात्र कोभिड-१९ भएको पुष्टि भएको थियो।

    उक्त शोधले त्यस्तो प्रतिरक्षा क्षमता कोभिड-१९ गराउने भाइरसबाहेक सामान्य रुघा गराउने अन्य कोरोनाभाइरसको सङ्क्रमणका कारण विकसित भएको हुन सक्ने निष्कर्ष निकालेको छ। पहिला कोभिड भएको भए पनि नभए पनि उच्च मात्रामा सम्बन्धित टी-सेल भएका व्यक्तिहरूलाई चार महिनासम्म कोभिड-१९ भएन।

    कोरोना भाइरसः के हो कोभिड-१९? यसका लक्षण के हुन्? यसबाट मृत्यु हुने सम्भावना कति छ? कसरी सुरक्षित हुने?

    कोरोनाभाइरस महामारीले हाम्रो जीवन र सम्बन्धमा अकस्मात् धेरै परिवर्तन ल्याइदिएको छ। अहिले विश्वभरि कोरोनाभाइरस सङ्क्रमण र त्यसबाट हुने रोग कोभिड-१९ को त्रास छ। विश्वका अधिकांश देशमा मान्छेका गतिविधिहरू अत्यावश्यक काममा मात्रै सीमित भएका छन्।

    उक्त भाइरस फैलिन नपाओस् भनेर अवलम्बन गरिएको उपायस्वरूप अधिकांश मानिसहरू घरभित्रै सीमित छन्। कोरोनाभाइरस के हो, त्यसबाट कसरी सङ्क्रमण हुन्छ, कसलाई सङ्क्रमणको बढी जोखिम छ, कोभिड-१९ लागेपछि मृत्युको सम्भावना कति छ तथा उक्त भाइरसबाट कसरी जोगिन सकिन्छ भन्ने जिज्ञासा धेरै जनामा छ। हामी यहाँ यिनै प्रश्नको उत्तर खोज्दैछौँ।

    आनुवंशिक संरचनामा आरएनए (RNA) भएका भाइरस अर्थात् विषाणुको एउटा समूहलाई वैज्ञानिकहरूले कोरोनाभाइरस (Coronavirus) नामकरण गरेका थिए। भाइरसको बाह्य रूप किरीट अर्थात् श्रीपेचजस्तै भएकाले अङ्ग्रेजीमा उक्त नाम दिइएको थियो। त्यसलाई नेपालीमा ‘किरीटाकार विषाणु’ वा ‘किरीट विषाणु’ पनि भन्न सकिन्छ। तर कोरोनाभाइरस नै प्रचलित र सजिलै बुझिने नाम हो।

    सन् २०१९ को डिसेम्बरमा चीनमा मानिसमा सङ्क्रमण गर्न थालेको भाइरस सो समूहमा राख्न मिल्ने नयाँ भाइरस भएको पत्ता लाग्यो। चीनको वुहाननजिकै पशुपक्षी व्यापार हुने एउटा बजारमा पहिलो पटक यसको सङ्क्रमण देखिएको उक्त भाइरस केही महिनामै विश्वभरि फैलियो।

    उक्त भाइरसको वैज्ञानिक नाम सार्स-कोभ-२ (Sars-CoV-2) हो। सङ्क्रमणबाट हुने रोगलाई कोभिड-१९ (Covid-19) भनिन्छ। कोरोनाभाइरस नाक र मुखबाट मानिसको शरीरमा प्रवेश गर्छ। सङ्क्रमित व्यक्तिको संसर्गमा आउने अरू मानिसलाई उक्त भाइरस सर्न सक्छ।

    सङ्क्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक र मुखबाट निस्किएका ससाना छिटामा कोरोनाभाइरस हुन्छन्। उनीहरूको नजिकमा बस्ने मानिसको शरीरमा भाइरस छिर्न सक्छ। सङ्क्रमित व्यक्तिले सरसामान वा सतह छोएर हात नधोई आफ्नो अनुहार छुँदा कोरोनाभाइरस शरीरमा छिर्न सक्छ।

    भाइरसले पहिला घाँटी, सासनली र फोक्सोका कोषलाई आक्रमण गर्छ। बिस्तारै ती अङ्गलाई कोरोनाभाइरसहरूले आफ्नो नियन्त्रणमा लिएर आफ्नो सङ्ख्या वृद्धि गर्न थाल्छन् र गम्भीर असर पुर्‍याउन सक्छन्।

    ज्वरो आउनु र सुक्खा खोकी लाग्नु कोरोनाभाइरस सङ्क्रमण भएपछि लाग्ने रोग कोभिड-१९ का मुख्य लक्षण हुन्। केही बिरामीमा घाँटी दुख्ने, टाउको दुख्ने र पखाला लाग्ने गरेको पनि पाइएको छ। केही बिरामीमा घ्राणशक्ति अर्थात् सुँघ्ने क्षमता पनि शिथिल भएको पाइएको छ।

    केही मानिसहरूलाई सङ्क्रमण भए पनि कुनै गम्भीर लक्षण देखिँदैन। तर उनीहरूले थाहै नपाई अरूलाई भाइरस सारिदिन सक्छन्। यी लक्षण देखियो भने घरमै अरूबाट अलग्ग बस्न विश्व स्वास्थ्य सङ्गठनले सुझाव दिएको छ। झन्डै ८० प्रतिशत मानिसमा सामान्य खालको सङ्क्रमण हुन्छ।

    तर ज्वरो आएको छ, खोकी लागेको छ र सास फेर्न गाह्रो भएको छ भने चिकित्सकसँग परामर्श गर्नुपर्छ। किनभने ती लक्षणले श्वासप्रश्वास प्रणालीमा भएको सङ्क्रमण वा अन्य गम्भीर समस्यातिर सङ्केत गर्छन्।

    कोरोनाभाइरस सङ्क्रमण जसलाई पनि हुन सक्छ। सङ्क्रमित व्यक्तिको संसर्गमा आउने व्यक्ति तथा कोभिड-१९ बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीमा भाइरस सर्ने सम्भावना उच्च हुन्छ।

    त्यसैले सबैले आफू सुरक्षित हुने उपाय अवलम्बन गर्नुपर्छ। अरू गम्भीर रोग भएका व्यक्ति र वृद्धवृद्धालाई सङ्क्रमणको भयो भने यो भाइरसले धेरै दुःख दिन सक्छ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया