काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन् । शनिबार भएको चुनावको सार्वजनिक मतपरिणाम अनुसार ढकालले आफ्ना किशोर प्रधानलाई १६६ मतान्तरले हराएका हुन् । आइएमई ग्रुपका ढकाल ६३३ मत ल्याएर विजयी भएका हुन् । पराजित प्रधानलाई ४६६ मत मात्र प्राप्त भयो ।
३० प्रतिशत मत भार रहेको एशोसिएटमा चन्द्र ढकालले ५ सय २२ र किशोर प्रधानले ३ सय ७५ मत, २० प्रतिशत मत भार रहेको वस्तुगतमा चन्द्र ढकालले ५९ र किशोर प्रधानले ३९ तथा ५० प्रतिशत मत भार रहेको जिल्ला नगरतर्फ चन्द्र ढकालले ५२ र किशोर प्रधानले ५३ मत ल्याएका थिए ।
महासंघको वस्तुगततर्फको उपाध्यक्षमा प्रधान पक्षका अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फ पनि प्रधानपक्षकै दिनेश श्रेष्ठ र एसोसिएट्सतर्फ ढकाल पक्षका रामचन्द्र संघाई विजयी भएका छन् । जिल्ला नगरतर्फको केन्द्रीय कार्यकारिणी सदस्य पदमा प्रधान प्यानलको वर्चस्व छ ।
जितेपछि उनले के भने ?
नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले अब जित–हार भुलेर महासंघलाई बलियो बनाउन अघि बढ्ने बताएका छन् । विहान चुनाव जितेपछि सञ्चारमाध्यमलाई संक्षिप्त प्रतिक्रिया दिँदै ढकालले अब चुनावसँगै प्यानल पनि सकिएको बताए ।
उनले अब गोल्छाकै नेतृत्वमा महासंघलाई एक ढिक्का बनाएर अघि बढाउने बताए । ‘चुनाव हारे पनि आदरणीय दाजु किशोर प्रधानलाई पनि साथै लिएर अघि बढ्छौं,’ उनले भने, ‘मलाई विश्वास गर्ने सबैमा धन्यवाद प्रकट गर्छु ।’
महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था गरेकोले उपाध्यक्ष र सोभन्दा मुनिका विभिन्न पदमा शनिबार मतदान भएको थियो । महासंघमा निवर्तमान अध्यक्ष भवानी राणाको समयसम्म आइपुग्दा १८ जना अध्यक्षहरुले महासंघको नेतृत्व गरिसकेका छन् ।
१९ औं नेतृत्वको रुपमा अबको एक कार्यकाल शेखर गोल्छाले गर्नेछन् भने अहिले वरिष्ठ उपाध्यक्ष जितेका ढकालले महासंघको २० औं अध्यक्षको रुपमा आफ्नो जिम्मेवारी सम्हाल्नेछन् ।
प्रतिक्रिया