• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    राजकुमार घिमिरेको गिरफ्तारी बिरुद्ध चौतर्फी बिरोध, तत्काल रिहा गर्न माग

    1.6K
    SHARES


    काठमाडौँ । सोमबार साझ सञ्चारकेन्द्र डटकमका पुर्व संवाददाता राजकुमार घिमिरेलाई प्रहरीले कास्कीबाट गिरफ्तार गरेको भन्दै विभिन्न संघसंस्थाले बिरोध जनाएका छन्। यसै क्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति कार्यालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै घिमिरेलाई ससम्मान रिहाई गर्न माग गरेको छ ।

    महासंघ गण्डकीका महासचिव गणेश पौडेलले गिरफ्तारीबारे आफ्नो ध्यानाकर्षण भएको भन्दै प्रेस स्वतन्त्रताको रक्षा र स्वतन्त्रपूर्वक समाचार संकलन तथा सम्प्रेषण गर्ने वातावरण तयार गर्न विज्ञप्तिमार्फत् माग गरेका छन् ।

    यस्तै नेपाल पत्रकार महासंघ कास्की शाखाले पनि प्रेस विज्ञप्ति जारी गर्दै घिमिरेलाई हिजो (सोमबार)साँझ ७ बजे पक्राउ गरिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी कास्कीको जनसभामा समाचार संकलनका लागि गएर फर्कदैं गर्दा पत्रकार घिमिरेलाई बाटोमा कास्की प्रहरीले पक्राउ गरिएको कास्की शाखाका सचिव रामप्रसाद तिमिल्सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    स्वतन्त्रतापूर्वक पत्रकारिता गर्न पाउनु संवैधानिक अधिकार हुँदाहुँदै पत्रकार पक्राउ गर्नुले प्रेस स्वतन्त्रता माथि नै आक्रमण भएको महासंघ कास्कीको ठम्याई रहेको सचिव तिमिल्सेनाको भनाई छ । पत्रकार घिमिरेलाई विना शर्त रिहाई गर्न र स्वतन्त्र प्रेसको सम्मान गर्न नेपाल पत्रकार महासंघ कास्कीले प्रहरी प्रशासन समक्ष जोडदार माग समेत गरेको छ ।

    यस्तै नेपाल प्रेस युनियन कास्कीले एक प्रेस विज्ञप्ति जारी गर्दै सञ्चारकेन्द्र डटकमका पुर्व संवाददाता पत्रकार राजकुमार घिमिरेलाई ससम्मान रिहाई गर्न माग गरेको छ । प्रहरीले पक्राउ गरेको घटनाप्रति प्रेस युनियन कास्कीका अध्यक्ष नविन सिग्देल र सचिव प्रदिप पौडेलको ध्यानाकर्षण भएको भन्दै प्रेस स्वतन्त्रताको रक्षा र स्वतन्त्रपूर्वक समाचार संकलन तथा सम्प्रेषण गर्ने वातावरण तयार गर्न विज्ञप्तिमार्फत् माग गरेका छन् ।

    यस्तै बिद्रोही नेपाल कम्युनिष्ट पार्टीले आफ्ना कार्यकर्ता, शुभचिन्तक र पत्रकारहरुमाथि प्रहरी दमन, राज्य आतंक र धरपकड बढेको भन्दै आपत्ति जनाएको छ । कास्कीका सेक्रेटरी विश्वासले दलाल सरकारलाई दमनद्वारा जनताको भविष्य छेक्न सकिन्छ कि भन्ने दिवा सपना नदेख्न चेतावनी दिएका छन् ।

    आज एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतिबन्धित नेकपा कास्कीका सेक्रेटरी विश्वासले पक्राउ परेका आफ्ना पार्टी कार्यकर्ता, समर्थक र समाचार संकलन गर्न गएका पत्रकारको बिना शर्त तुरुन्त रिहाई गर्न सम्बन्धित पक्षसँग आग्रह गरेका छन् । अन्यथा जस्तोसुकै संघर्ष, प्रतिरोध र बदलाका निम्ती पार्टी अगाडि बढ्ने चेतावनी दिदैं विज्ञप्तिमा उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी स्वयम् दलाल सरकार र त्यसका मतियार हुने उल्लेख छ ।

    यता जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ परेका सबैजना विप्लवका कार्यकर्ता भनेर आरोप लगाई रहेको बेलामा नेकपा कास्कीका सेक्रेटरी विश्वासले विज्ञप्ति मार्फत् पक्राउ गरिएका कार्यकर्ता, समर्थक र पत्रकारहरुको बारेमा स्पष्ट जानकारी खुलाईदिएको छ ।

    विज्ञप्तिमा मंसिर ८ गते हिजो साँझ जिल्ला प्रहरी कार्यालय कास्कीले पार्टी पुनस्र्थापना दिवसका सन्दर्भमा जनसभा सम्पन्न गरेर फर्कदैं गर्दा गुण्डागर्दी शैलीमा बिना कारण सो पार्टीका युवा संंगठनका गण्डक संयोजक कुमार, मजदुर संगठन कास्कीका संयोजक कालीबहादुर पाण्डे, सामान्य समर्थक यम भट्टराई र विमल श्रेष्ठ अनि पत्रकार राजकुमार घिमिरेलाई गिरफ्तार गरिएको भन्दै निन्दा एवम् भत्र्सना गरिएको छ ।

    कोरोना महामारीको जटिल अवस्थामा संघर्षका उच्च कार्यहरु स्थगित गरेर जनचेतनाका निम्ति परिचालित भएको, माक्स–सेटिटाईजर, राहत लगायतका सामग्री वितरण गर्ने जस्ता कार्यमा व्यस्त रहेको पार्टीलाई संकटकालमा झैं दमन गर्नु घोर निन्दनीय कार्य भएको विज्ञप्तिमा उल्लेख छ ।

    न्यायपूर्ण आवाज उठाउने देशभक्त, राष्ट्रवादी, प्रगतिशील तथा लोकतान्त्रिक शक्तिहरुलाई निषेध र दमन गर्नु कथित कम्युनिष्ट सरकारको विशेषता बनेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारप्रति तिखो व्यङ्गय समेत गरिएको छ ।

    केपी–प्रचण्ड मण्डलीको सामाजिक दलाल फासिवादी सरकार झन्–झन् फासिवादी, राष्ट्रघाती, जनघाती र निरंकुश बन्दै गएको आरोप प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी कास्कीका सेक्रेटरी विश्वासले लगाएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ