• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    प्रवास समाचार

    आग्राको सडक दुर्घटनामा परी तीन नेपालीको मृत्यु, ५ घाइते

    445
    SHARES

    काठमाडौँ । भारतको आग्रामा मंगलबार राति भएको सवारी दुर्घटनामा परी तीन नेपालीको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। अहिले नयाँदिल्लीमा रहेका नमस्ते-सुपा देउराली टुरका सञ्चालक दिल खत्रीले दिएको जानकारी अनुसार मंगलबार राति १२ तिर दिल्लीबाट सुनौली आउन लागेको कार आग्रा एक्प्रेसवेमा ट्रकसँग ठोक्किएको थियो।

    ‘अर्घाखाँचीका मेरा छिमेकी दुर्घटनामा परेको खबर आएपछि म बुधबार बिहान घटनास्थलमा पुगेको थिएँ,’ खत्रीले सेतोपाटीसँग भने,‘दिल्लीबाट सुनौली जान नेपालीहरू चढेको गाडी दुर्घटनामा परेको रैछ। १ जनाको घटनास्थलमै मृत्यु भएको र दुई जनाको उपचारको क्रममा ज्यान गएको छ।’ उनले जनकपुरकी श्यामकुमारी पाण्डेको घटनास्थलमै मृत्यु भएको जानकारी दिए।

    अरू दुई जना मृतकको भने बुधबार सनाखत हुन सकेको थिएन। ‘आजमात्र बाग्लुङमा रहेका उहाँहरूका आफन्त दूतावासको सम्पर्कमा आउनुभएको सुनेको छु,’ खत्रीले भने। घाइतेमध्ये एक जना सामान्य उपचारपछि घर फर्किएको र अरूको आग्रा र दिल्लीमा उपचार भइरहेको उनले जानकारी दिए। नेपाल आउन लागेका उनीहरूले कुनै ट्राभलबाट टिकट काटेको नदेखिएको खत्रीले बताए।

    यस्तै भारतको पुणेस्थित एक सैनिक कलेजमा ‘अवैध रूप’मा बस्दै आएकी नेपाली महिला पक्राउ परेकी छन्। दापोडीको कलेज अफ मिलिटरी इन्जिनियरिङ(सिएमई)बाट नवलपरासीकी २६ वर्षीया एलिसा मनोज पाण्डे खड्का पक्राउ परेकी हुन्।

    भारतीय समाचार पत्र इन्डियन एक्सप्रेसका अनुसार उनी केही महिनादेखि सो कलेजको क्वार्टरमा बस्दै आएकी थिइन्। त्यस्तै, भारतीय सेनाका कप्तान तहका एक सैनिकमाथि पनि अनुसन्धान अघि बढाएको छ। जसको क्वार्टरमा खड्का बस्दै आएकी थिइन्। खड्काविरूद्ध भवानी पेठका इम्रान खालिर हज्वानीले उजुरी दिएका थिए।

    प्रहरी कार्यालयमा दर्ता भएको जाहेरीका अनुसार खड्काले युएईमा व्यापार गर्न आफ्नो पार्टनर बनाउने भन्दै हज्वानीसँग ८५ लाख रुपैयाँ ठगेकी थिइन्। पिम्प्री-चिन्चवाद प्रहरीले खड्कालाई पक्राउ गर्न सिएमईका अधिकारीहरूसँग सम्पर्क गरेका थिए। प्रहरीलाई सहयोग गर्न सिएमईबाट टोली समेत खटिएको थियो।

    खड्काले प्रहरीलाई दिएको बयान अनुसार उनी सिएमईको पर्खाल चढेरभित्र पसेकी थिइन्। उनी गत मार्च २३ गते राति साढे ११ बजे सिएमइको परिसर पसेको प्रहरी समक्ष बताएकी छिन्।

    त्यसबेलादेखि उनी एक सैनिक कप्तानको क्वार्टरमा बस्दै आएकी हुन्। प्रहरीका अनुसार उनी त्यहाँ किन बसेको भन्नेबारे जवाफ दिएकी छैनन्। अनुसन्धानको क्रममा उनी मार्च अघि कोरिगाउँ पार्कको पबमा ती सैनिक कप्तानसँग भेटेको समेत खुलेको छ। प्रहरीले यस केसमा ती सैनिक कप्तानको भूमिकाबारे पनि अनुसन्धान अघि बढाएको छ।

    अहिलेलाई प्रहरीले खड्काविरूद्ध ‘हाउस ट्रेसपास’को मुद्दा चलाएको छ। ‘हामीले नेपाली महिलालाई पक्राउ गरेका छौं। उनलाई मंगलबार अदालतमा पेश गरेका थियौं। अदालतले उनलाई १२ नोभेम्बरसम्म हिरासतमा राख्न अनुमति दिएको छ। यस केसमा भारतीय सेनाको कप्तान तहका एक अधिकारीको पनि नाम आएको छ।

    उनीमाथि प्रश्न गर्न सैनिक अधिकारीहरूबाट अनुमति लिएका छौं,’ वरिष्ठ प्रहरी निरीक्षक शान्कट अवाटाडेले भने। उनी कसरी र किन भारत आएकोबारे पनि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया