• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Corona Update Highlights

    कोरोना संक्रमणका कारण थप १६ जनाको मृत्यु

    1.3K
    SHARES

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९२० पुगेको छ । यस्तै आज थप ३५१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार२३५ पुगेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३८३५७ रहेको छ । यसअघि शुक्रबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ थियो । पछिल्लो २४ घण्टामा थप ४०९६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख २८ हजार ९५८ पुगेको छ ।

    उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि विहीबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख २४ हजार ८६२ रहेको थियो ।

    त्यस्तै कोभिड–१९ महामारीको त्रासका कारण यसपालीको दशैँमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रुपमा कम भएका छन् । विगतका वर्षमा उपत्यका छाड्ने र भित्रिने यात्रुको सङ्ख्या दशौँ लाख हुन्थ्यो । यसपाली भने केही लाखले मात्रै आवतजावत गरेका छन् ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल विगतका वर्षमा आवतजावतको तथ्याङ्क जोड/घटाउमा उपत्यका छाड्ने खुद व्यक्ति झण्डै १० देखि १२ लाख हुने गरेकोमा यसपाली भने एक लाखको हाराहारीमा रहेको बताउँछन् ।

    गत वर्ष कूल ३० लाखले उपत्यका छाडेका थिए भने १८ लाख भित्रिएका थिए । यसपाली दशैँमा भने तीन लाखले उपत्यका छाडे । झण्डै दुई लाख भित्रिएका छन् । कोभिड–१९ को महामारीका कारण यसरी यात्रु आवागमनमा प्रत्यक्ष प्रभावित भएका हुन् । दशैँ सकिएपछि पनि उपत्यका भित्रिने यात्रुको सङ्ख्या बढ्न सकेको छैन । यही १३ गते २४ हजार यात्रु भित्रिएका छन् भने २० हजार बाहिरिएको विवरणले पनि उक्त कुराको पुष्टि गर्छ ।

    पछिल्लो समयमा उपत्यकामा कोरोना सङ्क्रमणको उच्च जोखिम छ । मुलुकभर देखिएको कूल सङ्क्रमितमध्ये आधाभन्दा बढी उपत्यकामा रहेकाले पनि मानिस राजधानी आउन डराइरहेका जनस्वास्थ्य विज्ञको भनाइ छ ।

    सङ्ख्यात्मक रुपमा विष्लेषण गर्दा यसवर्ष इतिहासमै पहिलो पटक मानिसको आवागमन न्यून भएको प्रहरीको दाबी छ । विसं २०७७ लाई छाड्दा २०७१ पछिको विवरणमा विसं २०७१ र २०७२ मा उपत्यकामा सबैभन्दा कम यात्रुको आवागमन भएको पाइन्छ । विसं २०७१ को दशैँमा ६५ हजार सवारी साधनमार्फत आठ लाख यात्रु बाहिरिएका र ५१ हजार सवारी साधानमार्फत पाँच लाख मानिस भित्रिएका थिए ।

    यस्तै २०७२ सालमा ५९ हजार सवारी साधानमार्फत आठ लाख ३० हजार यात्रु बाहिरिएका र ५६ हजार सवारी साधनमार्फत पाँच लाख १६ हजार यात्रु भित्रिएका थिए । विसं २०७३ देखि २०७६ सम्म यात्रु भित्रिने र बाहिरिने अवस्था ह्वात्तै बढेको थियो ।

    यसपाली भने सबै भन्दा कम यात्रुको चहलपहल देखियो । नयाँ संविधान निर्माण भई सङ्घीयता कार्यान्वयनको समयमा शान्ति प्रक्रिया टुङ्गोमा पुगेको र शान्ति/सुरक्षा अब्बल बन्दै गएकाले वातावरण सहज हुँदा यात्रुलाई एक ठाउँबाट अर्को स्थानमा जानआउन समस्या थिएन । तर यसपाली गत चैतबाट बढेको कोरोना महामारीले चाडबाडलाईसमेत नराम्ररी प्रभावित बनाएको तथ्याङ्कले देखाएको छ ।

    प्रहरी प्रवक्ता कुबेर कडायत यसपालीको दशैँको बेलामा सवारीसाधन र यात्रुको आवातजावत कम हुँदा ठूला दुर्घटनासमेत नभएको बताउँछन् । बजारमासमेत चहलपहल कम हुँदा आपाराधिक घटनामा समेत कमि देखिएको उनको भनाइ छ ।

    विश्वभर ४ करोड ५३ लाखमा संक्रमण, ११ लाख ८६ हजारको मृत्यु

    कोरोना भाइरसको महामारी सुरू भएको १० महिनामा विश्वभर ४ करोड ५३ लाखभन्दा बढीमा संक्रमण भएको छ । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख ४५ हजार ९०३ जनामा संक्रमण भएको छ ।

    योसँगै संक्रमितको संख्या ४ करोड ५३ लाख २१ हजार ६५९ पुगेको छ । संक्रमितमध्ये ८२ हजार २३६ जनाको अवस्था गम्भीर छ । यस्तै पछिल्लो २४ घण्टामा ७ हजार १७२ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ११ लाख ८६ हजार २४३ पुगेको छ ।

    यस्तै विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ११ लाख ४२ नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ६६ हजारभन्दा धेरै निको भएर घर फर्किएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या ३ करोड २९ लाख नाघेको छ ।

    सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा ९२ लाख १२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ८० लाख ८८ नाघेको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५४ लाख ९६ हजार पुगेको छ । ब्राजिल विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

    कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ६० हजार ६६ जनाको मृत्यु भएको छ । ९४ लाख ८ हजार ६४८ जना संक्रमित भएकोमा ३६ लाख ६४ हजार १४६ जना संक्रमणमुक्त भएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया