• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    भारतीय सेनाप्रमुख काठमाडाैं आउने मिति तोकियो, कोरोना संकटका बेला उनी किन आउदैछन नेपाल ?

    837
    SHARES

    काठमाडौँ । भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे कात्तिक १९ गते नेपाल आउने भएका छन् । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले मंगलबार विज्ञप्ति जारी गर्दै भारतीय सेनाध्यक्ष नरवणेको भ्रमणतालिकाबारे जानकारी गराएको हो ।

    सेनाध्यक्ष नरवणे चार सदस्यीय भ्रमण दलका साथ नेपाल आउने पनि नेपाली सेनाले जनाएको छ । उनी तीन दिन नेपाल बस्नेछन् । नेपाली सेना र भारतीय सेनाबीचको परम्पराअनुसार भारतीय सेनाध्यक्ष जनरल नरवणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहबीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।

    साथै भारतीय सेनाध्यक्षले रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ । साथै भ्रमणका क्रममा भारतीय सेनाध्यक्ष नरवणेले काठमाडौंस्थित सैनिक मञ्‍चको वीर स्मारकमा श्रद्धाञ्‍जली अर्पण तथा जंगी अड्डामा सम्मान गारद निरीक्षण र समकक्षी महारथी पूर्णचन्द्र थापासँथ छलफल गर्ने कार्यक्रम रहेको छ ।

    भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको क्षेत्रलाई मिचेर सडक निर्माण गरेपछि दुई देशबीच सीमा विवाद सतहमा आएको थियो । त्यहीबीच नरभानेले नेपालले कसैको इसारामा लिपुलेकको मुद्दा उचालेको भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए । नेपाल बिरुद्ध उनले दिएको अभिव्यक्तिपछि मानार्थ सेनापतिको सम्मान दिने प्रचलन नै रोक्न माग समेत गरिएको थियो ।

    प्रधानसेनापति पूर्णचन्द्र थापाले भने २९ पुस २०७५ मा भ्रारत भ्रमण गरेर मानार्थ सेनापतिको सम्मान ग्रहण गरिसकेका छन् । उनी नेपाल फर्किएपछि २० माघ २०७६ को मन्त्रिपरिषद बैठकले भारतीय सेना प्रमुख नरभाने र इजरायलका सेना प्रमुख अभी जोकोभिचको नेपाल भ्रमण स्वीकृत गरिसकेको छ । त्यही अनुसार नरभानको भ्रमण हुन लागेको हो ।

    मानार्थ सेनापतिको सम्मान सेनाका परमाधिपति राष्ट्रपतिबाट प्रदान गर्ने चलन छ । महामारीका वेला हुन लागेको भ्रमणमा नरभानेले कसकसलाई भेट गर्छन् भन्ने टुंगो लागिसकेको छैन । जंगीअड्डा स्रोत भन्छ, ‘भेटवार्ता र कार्यक्रमबारे भ्रमण मिति तय भएपछि मात्र टुंगो लाग्छ ।’

    सिमा विवादका बेला नेपालबिरुद्ध के भनेका थिए नरभानेले ?

    भारतका रक्षामन्त्री राजनाथ सिंहले २६ वैशाखमा चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन रावत र सेना प्रमुख जनरल मनोज मुकुन्द नरभानेसहितका उच्च सैनिक अधिकारीलाई छेऊमा राखेर नेपाली भूमि अतिक्रमण गरेर बनाइएको कैलाश मानसरोवर जोड्ने सडक भिडियो कन्फरेन्सबाट उद्घाटन गरेका थिए ।

    उक्त कन्फरेन्समा रक्षामन्त्री सिंहले भनेका थिए, ‘यो सडक रणनीतिक, धार्मिक र व्यापारिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण छ ।’ बोर्डर रोड अग्नाइजेसन (बीआरओ) ले बनाएको सडक उद्घाटन गरिएको जानकारीसहित सिंहले ट्वीट गरेपछि नेपालमा यो प्रकरण चर्चामा आएको हो । यसले नेपालमा जनआक्रोश सिर्जना गर्‍यो ।

    नेपाली पक्षले विरोध जनाउन थालेको एक सातापछि भारतीय सेनाका प्रमुख जनरल नरभानेले ‘नेपालले कसैको इसारामा लिपुलेकको मुद्दा उचालेको’ भन्दै विवादास्पद अभिव्यक्ति दिए ।

    नयाँ दिल्लीको सुरक्षा तथा रणनीतिक मामिलाका थिंक ट्यांक मनोहर पर्रिकर रक्षा अध्ययन एवं विश्लेषण संस्थान (आईडीएसए) ले आयोजना गरेको वेबनारमा उनले भनेका थिए, ‘लिपुलेकमा विगतमा कुनै समस्या थिएन, त्यही भएर अहिले यो मुद्दा कसैको इसारामा उठाइएको भन्नेमा विश्वास गर्ने आधार देखिन्छ र त्यसको बढी सम्भावना पनि छ ।’

    नरभानेको अभिव्यक्ति आउनुअघि नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्रालाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कुटनीतिक नोट थमाउँदै भारतीय कदमको विरोध जनाएका थिए । त्यतिबेला त्यसको जवाफ भारतीय विदेश मन्त्रालय वा उपल्लो तहबाटै आउने अपेक्षा गरिएको थियो । तर, एकाएक सैनिक प्रमुख नरभानेको अभिव्यक्ति सार्वजनिक भएपछि कूटनीतिज्ञ र सैनिक अधिकृतहरु ‘आश्चर्य’मा परेका थिए।

    भारतीय सेना प्रमुखको ‘अस्वाभाविक’ अभिव्यक्तिले नेपालमा उनको चर्को बिरोध भयो । तर यस बिषयमा नेपाली सेनाले मुख खोलेन । बरु जंगीअड्डाले भारतीय सेना प्रमुख नरभानेको भनाइलाई ‘जानकारीमा राखेको’ भनेर प्रतिक्रिया दियो । अनावश्यक लाञ्छनासँगै तेस्रो मुलुकलाई पनि जोडेर अभिव्यक्ति आउनु अस्वभाविक भएको सैनिक अधिकृतहरुले टिप्पणी गरेका थिए ।

    को हुन् नरभाने ?

    सन् १९६० मा बम्बईको पुणेमा जन्मिएका मनोज मुकुन्द (एमएम) नरभानेले ३१ डिसेम्बर २०१९ मा भारतीय सेनाको सर्वोच्च पदको कार्यभार सम्हालेका थिए । हाल भारतमा चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) रहेका विपिन रावतको उत्तराधिकारीका रुपमा उनी सेनाध्यक्ष बनेका हुन् ।

    उनका बुबा मुकुन्द भारतीय वायु सेनाका ‘विङ कमाण्डर’ थिए भने उनकी आमा ‘अल इण्डिया रेडियो’की आरजे (रेडियो जक्की) थिइन् । पुणेको जनप्रबोधिनी प्रशालामा विद्यालय तहको अध्ययन गरेका नरभाने भारतको राष्ट्रिय प्रतिरक्षा एकडेमी र भारतीय सैन्य एकडेमी, देहरादुनका पूर्वविद्यार्थी समेत हुन् ।

    उनले मद्रास विश्वविद्यालय, चेन्नईबाट प्रतिरक्षा अध्ययनशास्त्रमा स्नात्तकोत्तर तहको अध्ययन गरेका छन् भने रक्षा र व्यवस्थापन शिक्षामा दवी अहिल्या विश्वविद्यालयबाट एमफिल गरेका छन् । चार दशक लामो सैनिक जीवनमा उत्तरपूर्व र जम्मु–कास्मिर दुवैमा काम गरेको अनुभव नरभानेसँग छ ।

    श्रीलंकमा शान्ति स्थापनार्थ भारतीय सेनाको ‘अपरेशन पवन’मा पनि उनी सहभागी थिए । विगतमा नरभाने भारतको राष्ट्रिय राइफल बटालियनको कमाण्डर रहिसकेका छन् । सेना प्रमुख हुनुअघि पनि उनले भारतीय सेनाको एकीकृत मुख्यालयमा दुई कार्यकाल काम गरेको भारतीय सेनाको वेवसाइटमा उल्लेख छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ