• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    दशैँको पूर्वसन्ध्यामा सरकारले गर्यो यस्तो अपिल, सबैले थाहा पाउनुपर्ने

    708
    SHARES

    काठमाडौं । हिन्दु धर्मालम्बीहरुको तथा नेपालीहरुको महान चाड बडा दशैँको पूर्वसन्ध्यामा सरकारले देशवासीलाई महत्वपूर्ण अपिल गरेका छन । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले स्वास्थ्यको मापदण्ड पूर्णरुपमा पालना गरेर दसैं मनाउन अपिल गरेका छन् ।

    बडादशैँका अवसरमा आज शुभकामना दिँदै मन्त्री ढकालले कोरोना महामारीका कारण यस चाडलाई सीमितरुपमा मनाउनुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको जनाउँदै कोरोना रोगको रोकथाम तथा नियन्त्रणका लागि मास्कको उचित प्रयोग, भौतिक दुरी कायम र पटक–पटक साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्नु नै उचित उपाय भएको स्मरण गराएका छन ।

    “दशैँ लामो समयदेखि हामीले मनाउँदै आएको एकता र पुनःर्मिलनको चाड हो, आफन्तका बीचमा भेटघाट र शुभकामना आदानप्रदान गरेर अत्यन्तै हार्दिकता र मित्रताका साथ मनाइने आशीर्वाद लिने र दिने मानवीयताको चाड हो ।” मन्त्री ढकालले भनेका छन, “यस्ता चाड मनाइरहँदा विगतमा पनि हामीले स्वास्थ्य, मित्रता र सामाजिक शान्तिलाई ध्यान दिने तथा छिमेकीलाई प्रतिकूल नहुने गरी मनाउने गरेका हौँ । यस पटक कोरोना महामारीका कारण अझै बढी ध्यान दिनुपर्ने देखिएको छ ।”

    मन्त्री ढकालले महामारीविरूद्धको लडाइँँमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने कार्यमा जनताबाट प्राप्त साथ सहयोगप्रति आभार व्यक्त गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न स्वस्थ्य नागरिकाको उत्पादनमा ध्यान दिँदै निरोगी नेपालका लागि काम अघि बढाइएको पनि जनाएका छन् ।

    उनले संविधानमै सुनिश्चित स्वास्थ्यको मौलिक हकको पूर्ण कार्यान्वयनका लागि सरकारले काम गरिरहेको र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सम्पूर्ण नागरिकको जीवन रक्षाको लागि सदैव प्रतिबद्ध रहेको स्पष्ट गरेका छन् ।

    मन्त्री ढकालले सबै सरकारी, निजी तथा समुदायबाट सञ्चालित अस्पताललाई कोभिड–१९को परीक्षण तथा उपचार र अक्सिजन, आवश्यक औषधि तथा उपकरणको अभाव हुन नदिन मन्त्रालयले ठोस योजनासहित प्रभावकारी व्यवस्था मिलाएको जानकारी दिए ।

    उनले अस्पताल नभएका ६४९ स्थानीय तहमा ५ बेडको अस्पताल स्थापना गरी सञ्चालनका लागि आवश्यक बजेट व्यवस्था गरी पठाइएको र कुनै पनि अस्पतालको गेटभित्र प्रवेश गरेका बिरामी उपचारबिना फर्कनु नपरोस् भनेर गरीब, विपन्न र अलपत्र व्यक्तिको आकस्मिक उपचार निःशुल्क गर्नेगरी व्यवस्था मिलाइएको पनि उल्लेख गरेका छन् ।

    यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप २८५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ३ सय ११ जनाको पीसीआर परीक्षण गर्दा १७८९ जना पुरुष र १०६७ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ५८ हजार ८९ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई ३३३६ जना डिस्चार्ज भएका छन् । निको हुनेको कुल संख्या १ लाख ११ हजार ६७० पुगेको छ । काठमाडौं जिल्लामा १२२५, मोरङमा २५७, भक्तपुरमा १६३ र ललितपुरमा १४७, चितवनमा १३४, सुनसरीमा १२९, झापामा ११४ र नवलपरासी पूर्व १०६ जना संक्रमित भेटिएका छन् । त्यस्तै दाङमा ८४, मकवानपुरमा ६८, नुवाकोटमा ६०, कैलालीमा ५६, तनहुँमा २९, धादिङमा २७, रुपन्देहीमा २५ संक्रमित थपिएका छन् ।

    मन्त्रालयका अनुसार बागलुङमा २४, बाँकेमा २२ जना, सप्तरीमा १८, धनुषामा १३, उदयपुरमा १२, कञ्चनपुरमा ११, महोत्तरी, सिराहा र रसुवामा १०/१० जना, संखुवासभामा ९, इलाम र अछाममा ८/८ जनामा संक्रमण पुष्टि भएको छ ।

    त्यस्तै धनकुटा, काभ्रे, गोरखा र लमजुङमा ६/६ जना, दैलेखमा ५ जना, सर्लाही, काभ्रेपलाञ्चोक, स्याङ्जा र कपिलवस्तुमा ४/४ जना, भोजपुर, रौतहट, बर्दिया र सल्यानमा ३/३ जनामा संक्रमण पुष्टि भएको छ ।

    दोलखा, सिन्धुली, म्याग्दी, अर्घाखाँची, पाल्पा र रोल्पामा २/२ जना र सोलुखुम्बु, बारा, रामेछाप, पर्वत, गुल्मी, रुकुम पूर्व, रुकुम पश्चिम र दार्चुलामा १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

    नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ८४७ पुगेको छ ।

    कोरोना भाइरस खोप: बढी उमेरका मानिसलाई खोप दिने काम किन कठिन

    खोप बनेको अवस्थामा विश्वनेताहरूसँग त्यो कसरी मानिसहरूसम्म पुर्‍याउने भन्नेबारे विकल्पहरू हुनेछन्। जस्तै बिरामीको समीपमा हुने नर्स, डाक्टर र स्याहारमा खटिने कर्मचारीसहित सबैभन्दा जोखिमयुक्त वर्गमा पर्ने मानिसहरूलाई सबैभन्दा पहिले सुरक्षा दिनुपर्ने हुन्छ।

    तर त्यसो गर्न सजिलो छैन। ज्येष्ठ उमेर समूहका मानिसलाई खोप दिनु सहज कुरा हैन। क्यानडाको यूनिभर्सिटी अफ ग्वेल्फमा खोपविज्ञानका प्राध्यापक सायन सरिफ भन्छन्: “बूढाबूढीका लागि सोचेर बनाइएका खोपहरू हामीसँग निकै कम छन्।”

    “गत शताब्दीमा धेरैजसो खोप बाल्यकालमा लाग्ने रोगलाई लक्षित गरेर तयार पारिएका छन्।” सत्तरी वर्ष लागेपछिका मानिसलाई दिइने दाद भने एउटा अपवाद हो। वयस्क अवस्थामा देखिने मेनिन्जाइटिस वा ह्यूमन प्यापिलोमा भाइरसजस्ता केही रोगका लागि एक-दुईवटा खोपहरू छन्।

    अन्यथा रोगप्रतिरक्षासम्बन्धी विज्ञान बालबालिकाको पक्षमा बढी ढल्किएको छ। “बाल्यकालमा लाग्ने रोगबारे हामीसँग प्रशस्त ज्ञान छ,” सरिफले भने। “तर युवा, अधबैँसे र बूढाबूढीमा लाग्ने रोगबारे हामीसँग धेरै अनुभव छैन।”

    ज्येष्ठ नागरिकमा खोप दिने कामको जटिलता बुझ्न हामीले उनीहरूको प्रतिरक्षा प्रणालीको फरकपन बुझ्नुपर्छ। धेरैजसो सरुवा रोगको असर उमेर ढल्किँदै गरेका मानिसमा तन्नेरीमा भन्दा बढ्ता देखिन्छ। बुढ्यौलीमा जोखिम निम्त्याउने पक्ष धेरै हुन्छन्।

    जस्तै – जीवनभरि विभिन्न सङ्क्रामक रोग झेलेको वा क्यान्सर गराउन सक्ने तत्त्वको बढ्दो मात्राले भविष्यमा नयाँ सङ्क्रमणबाट हुने रोगको जोखिम थप्छ। त्यसैबेला उनीहरूको प्रतिरक्षा प्रणालीमा समेत ह्रास आइरहेको हुन्छ।

    प्रतिरक्षा प्रणाली एकअर्कासँग अन्तरसम्बन्धित कोशिकाहरूको एउटा निकै जटिल सञ्जाल हो। यदि त्यसले कहीँकतै काम गरेको छैन भने त्यसले गम्भीर अवस्थामा स्थिर रहने प्रतिरक्षा प्रणालीलाई असर पुर्‍याउँछ।

    प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने काम

    खोपको उद्देश्य हाम्रो प्रतिरक्षा प्रणालीलाई सबल पारेर रोग लगाउने तत्त्वको प्रभावमा आउनुअगावै प्रभावकारी रोग प्रतिरोधक तत्त्व (एन्टिबडी) विकास गर्नु हो। कसमा कोभिड-१९ को प्रभाव पर्‍यो भनेर जाँच्नलाई गरिएका थुप्रै एन्टिबडी परीक्षणबारे समाचारहरूमा आउने गरेका छन्। तर सबै एन्टिबडीले काम गर्दैनन्।

    कोभिड-१९ गराउने सार्स-कोभ-२ बाट सङ्क्रमित भएका सबैमा समेत एन्टिबडी बन्दैन र कतिपयमा तिनको आयु निकै कम समयको हुनेगर्छ। खोपविज्ञानको चुनौती नै यस्ता सबै कोशबीच स्थिर हुनेगरी काम गर्ने उपाय निकाल्नु हो। यो बुढ्यौलीमा रहेका मानिसको प्रतिरक्षा प्रणालीमा के हुन्छ?

    यूनिभर्सिटी अफ इन्स्सब्रकका बिर्गिट विन्वर्गरले बुढ्यौलीको प्रतिरक्षा प्रणाली र खोपविज्ञानबारे अध्ययन गरेका छन्। “सबै प्रकारका कोशहरूको काममा ह्रास आइरहेको हुन्छ,” उनी भन्छन्।

    “तिनले फरकफरक साईटोकाईन (प्रतिरक्षा कोशबीच सम्बन्ध राख्ने प्रोटीन) उत्पादन गर्छन्। अनि हामीले बुझ्नुपर्ने कुरा के छ भने ती कुनै पनि कोशहरूले आफैँ काम गर्दैनन्।” जीवनका उत्तरार्द्धमा त्यसमा त्यहाँनिर समस्या आउँछ। “त्यसबेला जब नयाँ रोगकारक तत्त्वसँग संसर्गमा आइन्छ, त्यससँग जुझ्ने क्षमता निकै कमजोर भइदिन्छ।”

    उमेरसँगै प्रतिरक्षा प्रणाली कमजोर हुँदै जाने भए पनि त्यसै सबै मानिसहरूलाई समान असर गर्दैन। एकै उमेर समूहमा पनि कोही मानिसहरू अरुभन्दा राम्रा र तन्दुरुस्त देखिन्छन्। त्यस्तो बेला मानिसहरू आफू भाग्यमानी भएको वा शरीरमा उचित रूपमा जीनको संयोजन भएकोमा खुसी हुन्छन्।

    दु:खी हुनुपर्ने कुरा मात्र छैन। किनभने हाम्रो प्रतिरक्षा प्रणालीको कोही भाग उमेरसँगै सुधार समेत हुँदै जान्छ। यूनिभर्सिटी अफ ग्वेल्फका सायन सरिफ भन्छन्: “हाम्रो प्रतिरक्षा प्रणालीमा केही त्यस्ता कोशिकाहरू छन् जो बढ्दो उमेरसँगै झन् बलियो बन्छन्।”

    “यदि हामी थुप्रै रोगकारक तत्त्वको सम्पर्कमा आयौँ भने हामीमा प्रतिरक्षाको एकखाले स्मरण बन्छ र रोगसँग जुझ्न हामीसँग कोशिकाहरूको भण्डार आवश्यक पर्दैन।” तर सार्स-कोभ-२ हामी यसअघि कहिल्यै सामना नगरेको भाइरस भएकाले त्यसको स्मरण हाम्रो कोशिकामा छैन।

    खोपको मानव परीक्षण तीनवटा चरणबाट गरिन्छ। पहिलो चरणमा केही सीमित मानिसहरूमा त्यसको सुरक्षा जाँच गरिन्छ। दोस्रो चरणमा खोपबाट खोजिएजस्तो प्रतिक्रिया पाइने-नपाइनेमा त्यसको गुणदोष केलाइन्छ। अनि तेस्रो चरणमा त्यसले रोगबाट साँच्चिकै जोगाइरहेको छ कि छैन भनेर प्रभावकारिता जाँचिन्छ।

    खोपमा केही सम्झौताहरू हुन्छन्। त्यो कुनै मानिसहरूको समूहमा राम्ररी काम गर्न सक्छ भने अन्य कुनैमा त्यो काम नगर्न समेत सक्छ। अहिले कोभिड-१९ विरुद्धका धेरै खोपको परीक्षण भइरहेको छ। तीमध्ये धेरै स्वीकृत पनि हुनसक्छन्। विन्वर्गर र सरिफका लागि त्यो सही दिशातर्फको काम भइरहेको छ भन्ने हो।

    भर पर्न सकिने थुप्रैखाले खोप हुनु भनेको तपाईँले सही अवस्थामा सही विकल्पको चयन गर्न सक्नु हो। कुनै बूढाबूढीका लागि काम गर्न सक्छ भने कुनै अन्यका लागि। कुनै पनि खोप पूरै उत्तम भन्ने हुँदैन। सरिफ भन्छन्: “शतप्रतिशत प्रभावकारिता दिने कुनै खोप छैन… एउटा पनि छैन।”

    जब सबै खोपहरू स्वीकृत हुन्छन् तिनले रोगबाट जोगाउने देखाउन सक्नुपर्छ, तर सबै खोपले सङ्क्रमण रोक्दैनन्। खोप लगाएका व्यक्तिमा अझै भाइरस रहन सक्छ र उसले आफू आसपासका मानिसमा सङ्क्रमण फैलाउन सक्ने जोखिम रहन्छ। हामीले मानिसहरूमा कसरी र केका आधारमा खोप लगाउने भन्ने कुरा यस्ता विषयसँग जोडेर हेर्नुपर्छ।

    यस्तै विश्वभर कोरोना संक्रमितको संख्या चार करोड २९ लाख नाघेको जोन्स हप्किन्स विश्व विद्यालयले दिएको पछिल्लो अपडेटमा जनाएको छ । उक्त विश्वविद्यालयका अनुसार विश्वभरी चार करोड २९ लाख ४६ हजार ४४६ जना कोभिड १९ सङ्क्रमित भएका छन् । यस सङ्क्रमणको कारण विश्वभरी ११ लाख ५४ हजार ८६२ व्यक्तिको मृत्यु भएको पनि सो विद्यालयले जानकारी दिएको छ ।

    यसैबीच विश्वभरी रहेका कुल सङ्क्रमित मध्ये तीन करोड १६ लाख ७३ हजार भन्दा बढी व्यक्ति कोरोना भाइरस मुक्त भएका बताइएको छ । कोरोना भाइरसको कारण सब भन्दा बढी प्रभावित देश संयुक्त राज्य अमेरिकामा ८८ लाख २७ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित रहेका छन् । कोरोना सङ्क्रमणबाट सबैभन्दा धेरै नागरिकको मृत्यु हुने देशमा पनि अमेरिका पर्दछ ।

    उक्त विश्वविद्यालयका अनुसार कोरोना सङ्क्रमणबाट अमेरिकामा दुई लाख ३०० हजार ६८ जनाको मृत्यु भएको छ । उक्त विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा पछिल्ला दिनहरुमा पनि ठूलो संख्याका सङ्क्रमितहरु थपिने गरेका छन् ।

    कोरोना भाइरस सङ्क्रमणबाट भारत र ब्राजिल दोस्रो र तेस्रो स्थानमा परेको छ । भारतमा ७८ लाख ६४ हजार भन्दा बढी कोरोना भाइरस सङ्क्रमति रहेका छन् भने ब्रांजिलमा करिब ५३ लाख ८१ हजार व्यक्ति कोरोना सङ्क्रमित रहेका विश्वविद्यालयले जनाएको छ । रुस चौथो स्थानमा रहेको यहाँ १४ लाख ९७ हजार १६७ जना सङ्क्रमित रहेका छन् ।

    विश्वको तुलनामा सङ्क्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ । भारतमा ७० लाख ७८ हजार व्यक्तिलाई कोरोना भाइरस निको भएको छ । विश्व स्वास्थ्य संगठनले गत मार्च ११ कोभिड १९ लाई ‘विश्व महामारी’को घोषणा गरेको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया