• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    सुटुक्क रअका प्रमुखसँग भेट गरेका ओलीलाई झट्का

    2.4K
    SHARES

    काठमाडौँ । भारतको खुफिया एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ (रअ)का प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटेको भन्दै नेकपाभित्र विरोध सुरू भएको छ।

    सत्तारुढ नेकपाभित्र विवाद चर्केका बेला भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखले नेपाल आएर गोप्य भेटघाट गरेर गएको कुराले चर्चा पाएको छ । बुधबार आफ्नै बिमानमा बिशेष सुरक्षाब्यबस्थाका साथ काठमाडौँ झरेका ‘रअ’का प्रमुख सामान्त कुमार गोयलले नेकपाका उच्च स्तरका नेता तथा पुर्व प्रधानमन्त्रीहरुलाई भेटेको कुराले चर्चा पाएको थियो ।

    एउटा छिमेकी देशको कर्मचारीलाई प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्नु कूटनीतिक कमजोरी रहेको समेत उनीहरूको भनाइ छ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल निकटका नेताहरूले यसलाई प्रधानमन्त्रीको कूटनीतिक अपरिपक्वता समेत भनेका छन्।

    रअको प्रमुख नेपाल आउने पहिला नस्वीकार्ने अनि अरू-अरूले भेटे भनेर प्रोपोगान्डा गर्ने काम भयो। यति ठूलो नाटक जरूरी थिएन। फलानो आउँदैछ भनेर भनेको भए के बिग्रिन्थ्यो?,’ प्रचण्डनिकट एक नेताले भने,’यो त अब पार्टीमात्रै नभएर देशकै कुरा भएको छ। परराष्ट्र मन्त्रालयलाई नै थाहा छैन भन्ने सुनिएको छ। यो देशमा जे पनि गर्न मिल्ने रहेछ भन्ने गलत मान्यता स्थापित गर्न दिनु हुँदैन।’

    नेकपा विदेश विभाग उपप्रमुख राम कार्कीले प्रधानमन्त्री ओलीले आदर्श कूटनीतिको विरूद्ध काम गरेको बताए। नेपाललाई धेरै वर्षपछि कूटनीतिक सन्तुलन कायम गर्न सक्ने समय आएको भए पनि यो अवसरको सदुपयोग नभएको बताए।

    ‘कर्मचारीलाई कर्मचारीकै स्तरबाट भेट्नुपर्छ। त्यस्ता व्यक्तिलाई प्रधानमन्त्रीले नभेटेको भए एउटा संकेत जान्थ्यो। नत्र ठूल्ठूला देशभक्तिको कुरा गर्नु राजनीतिक बजारको लागि मात्रैजस्तो देखिन्छ,’ उनले भने, ‘चीन र भारत दुबै बलियो भएको अवस्थामा नेपालले कूटनीतिक सन्तुलन मिलाउन सक्छ। तर हामी त्योअनुसार जान सकेका छैनौं। यो हाम्रो कूटनीतिक अपरिपक्वता हो। छिनमा उफ्रेर राष्ट्रवादी कुरा गर्ने एक छिनमा के-के होजस्तो कुरा गर्ने प्रवृत्ति छ।’

    अहिलेको भेटले सन्तुलनको विदेश नीति अख्तियार गरेको संकेत नगएको भन्दै उनले परम्परागत रूपमा आफू अनुकूल लैजान खोज्ने भारतीय नीतिलाई स्वीकार्न नहुने बताए।

    यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले नेपालका शाषकहरुले आशुरी र भष्मासुरी प्रवृत्ति देखाएको भन्दै सत्ता संचालकहरुमाथि कटाक्ष हानेका छन् । फूलपातीको दिन बिहानै बडादसैंको शुभकामना सन्देश जारी गर्दै बिहीबार पूर्वराजा शाहले वर्तमान समयमा नेपाली जनता अभिभावकविहीन ‘टुहुरा’ बनेको पीडाबोध भइरहेको बताएका छन्।

    शाहले भनेका छन्, ‘संकटको घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अभिभावकविहीन टुहुरा बनेको पीडाबोध यतिबेला हुँदैछ।’

    शाहले प्राकृतिक विपत्ति मानव वशको कुरा नभएको हामी सबैले बुझेका छौं भन्दै विपत्तिसँग भिड्दा नागरिक जीवन सहज र सुरक्षित बनाउने व्यवस्थापकीय कौशल जिम्मेवार पक्षबाट प्रस्तुत नभएको बताएका छन्। ‘आम जनताको दैनिक जीवन अत्यन्त कष्टकर बन्दै गएको छ, जनतालाई बचाउन सकेमात्र राज्य बच्ने र राज्य रहेमात्र राजनीति बाँच्ने आत्मबोध सबैमा हुनुपर्छ,’ विज्ञप्तिमा छ।

    शाहले विदेशमा गएर रोजगारीमा लागेकाहरू संकटमा छन् भन्दै देशभित्र उनीहरूको श्रम,सीप र सामर्थ्यको सदुपयोग गर्ने कुनै बन्दोबस्त नभएको बताएका छन्। ‘त्यसैले, देश, समाज र परिवारको मोह ममताले आएकाहरू पनि फेरि कामका लागि विदेशतिरै लर्को लागेको मार्मिक अवस्था देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ।

    पूर्वराजा शाहले राहत, रोजगार र रोगको उपचार खोज्दै भौंतारिका जनसमूहलाई भरपर्दो आड आधारको आवश्यकता महशुस गराउन नसकिएको उल्लेख गरेका छन्। उनले दैनिक जीविकाको अत्यावश्यक वस्तुको मूल्यवृद्धि, अभाव र गुणस्तरीयतामा ह्रासजस्ता विषयले जनजीवन पिरोलिएको बताएका छन्।

    ‘समाजमा अनेक आपराधिक गतिविधि र पिसाच प्रवृत्ति बढ्दो छ, यसले मानसिक तनावको परिस्थिति पनि खडा गरेको छ, आज सबैले बढ्दो आशुरी र भष्मासुरी प्रवृत्तिबाट जनताले उन्मुक्ति चाहिरहेका छन्,’ उनले अहिलेको परिस्थितिमाथि कटाक्ष गरेका छन्।

    शाहले ‘नेपाललाई चिनौं, नेपालीलाई बुझौं, नेपाली भएर बाँचौं अनि नेपाल र नेपालीको निम्ति सोचौं’ भन्दै नेपालकै हितका खातिर र नेपाली शैली अंगालेर उज्यालो बाटोतिर लैजाऔं भनेर आग्रह गर्दै आएको बताएका छन्।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया