• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विचार-ब्लग

    कोरोना कहर र दसैं

    546
    SHARES

    यतिबेला कोरोना महामारीले विश्व आक्रान्त छ । यसले शक्तिसम्पन्न राष्ट्र अमेरिका, बेलायतलगायतलाई पनि हायलकायल बनाएको छ । कोरोना महामारीले नेपाललाई पनि आक्रान्त पारेको छ । यसले नेपाली समाजको अनेकन् क्षेत्रलाई गम्भीर रूपमा प्रभावित गरेको छ । यसले नेपाली समाजमा अस्तित्वशील दसैँ–तिहारजस्ता चाडपर्वलाई पनि गम्भीर रूपमा प्रभाव पार्ने निश्चित छ । यसको प्रारम्भिक सङ्केत पनि प्रकट हुन थालिसकेका छन् । यतिबेला नेपालीको घरआँगनमा दसैँ–तिहार आउन लागिसकेको छ । नेपाली समाजमा यस वर्षका दसैँ–तिहारलगायतका चाडपर्वको माहोल सुरु भइसकेको छ ।

    नेपालमा सरकार नाम गरेको एउटा अजीव छ, उसले जो जो, जहाँ जहाँ रहेका छन्, त्यहीँ बसेर दसैँ–तिहार मनाउन उर्दी जारी गरिसकेको छ । सरकार नामको त्यो अजीव अरू केही गर्दैन, उसको काम भनेको उसको आफ्नो कुर्सी जोगाउने मात्र हो, जनताले आफ्नो स्वास्थ्य सुरक्षा सिर्फ आफैँले गर्नुपर्ने अवस्था छ । यस्तो बेलामा राजधानी वा विभिन्न सहरी स्थानमा काम विशेषले रहेका मानिसहरू पनि सकेसम्म आफ्नो जिल्ला र गाउँ–घर फर्किने क्रम पनि सुरु भएको छ । कोराना कहरका बिचमा पनि नागरिकहरू अरू वर्षहरूजस्तै दसैँ–तिहार मनाउने तरखरमा छन् । नागरिकहरूको यस्तो धार्मिक–सांस्कृतिक मनोविज्ञान उदेकलाग्दो छ ।

    नेपाली समाजलाई पुरातन सांस्कृतिक मनोविज्ञानले निकै लामो समयदेखि भयानक घर गर्दै आएको छ । यसले समाजको अनेकन् क्षेत्रको उन्नयनका निमित्त अवरोधको काम गर्दै आएको छ । नागरिकहरूले जुन सांस्कृतिक चाडपर्व मनाइरहेका छन्, त्यसले उनीहरूको सर्वतोमुखी विकासमा पु¥याएको बाधाबारे त्यति गम्भीर भएको पाइँदैन । सूचना–सञ्चारको आजको युगमा नागरिकहरू नयाँ–नयाँ परिवेश र नयाँ–नयाँ चिन्तनको खोजी गरिरहेका भए पनि उनीहरूको जीवन–व्यवहार उही पुरातन ढर्रामा चलिरहेको छ । यसले नेपाली समाजलाई वैज्ञानिक र समृद्ध बनाउन कुरामा गम्भीर आशङ्का पैदा गरेको छ । यसले नेपाली समाजमा जरा गाडेर बसेको धार्मिक–सांस्कृतिक पक्षबारे गम्भीर बहसको आवश्यकतालाई इङ्गित गरेको छ । हुन त सांस्कृतिक क्षेत्रका कैंयन् पक्ष सामान्य छलफलमा टुङ्गिने विषय होइन, यो आफैँमा दीर्घकालीन आन्दोलनको विषय हो । सांस्कृतिक आन्दोलनले चीनमा महान् सर्वहारा सांस्कृतिक क्रान्तिसम्मको यात्रा गरिसकेको छ ।

    चिनियाँ सर्वहारा सांस्कृतिक आन्दोलन हाम्रो सांस्कृतिक आदर्श हो । नेपालमा पनि आ–आफ्नो सापेक्षतामा यसले विभिन्न स्वरूप र विभिन्नस्तरको आन्दोलन हुँदै आएको छ । नेपालको सांस्कृतिक आन्दोलनमा सबैभन्दा बढी टाउको दुखाइको विषय बनेको छ— धर्म र चाडपर्व । शासकीय स्वार्थ र पुँजीवादी नाफाको उद्देश्यले धर्म र चाडपर्वलाई जबर्जस्ती घालमेल बनाइएको छ । हामीलाई थाहा छ, इतिहासको लामो परम्परासँगै प्रचलनमा रहँदै आएका विभिन्न चाडपर्व, विभिन्न धर्म, संस्कार र परम्परासित जोडिएर आएका हुन्छन् । जुन देशमा जुन वर्ग र जुन विचारको हैकम चल्दछ; धर्म र चाडपर्वले पनि त्यही वर्गको सांस्कृतिक आधारशिलाको काम गरिरहेको हुन्छ । दसैँ–तिहारजस्ता चाडपर्वको कुरा पनि यही हो ।

    नेपालमा दसैँ, तिहार, तीज, जनैपूर्णिमा, ल्होसार, छठजस्ता चाड–पर्व एवम् समाजमा चलिरहेका विभिन्न धार्मिक अनुष्ठान र परम्परालाई हेर्ने आ–आफ्नै दृष्टिकोण छन् । कम्युनिस्टहरूले त्यसलाई एक किसिमले व्याख्या गरिरहेका हुन्छ भने गैरकम्युनिस्टहरूले अर्को किसिमले व्याख्या गरिरहेका हुन्छन् । यो विश्वदृष्टिकोणको कुरा हो । कम्युनिस्टहरू भौतिकवादी विश्वदृष्टिकोणमा विश्वास गर्दछन् भने गैरकम्युनिस्टहरू आदर्शवादी अर्थात् अध्यात्मवादी विश्वदृष्टिकोणमा विश्वास गर्दछन् । यो वर्गीय र वर्गपक्षधरताको कुरा पनि हो । चाडपर्वहरू जनताका सांस्कृतिक जीवनसँग अभिन्न रूपले जोडिएका विषय हुन् ।

    यसमा सांस्कृतिक निर्माण, सांस्कृतिक रूपान्तरण, सांस्कृतिक पुनर्भाष्यकरण, सांस्कृतिक निषेधीकरणजस्ता विषय हुन्छन् । जुनसुकै रूपका भए पनि संस्कृति जनसमुदायसँग जोडिएको हुन्छ । एकाध मान्छेका सहमति वा असहमतिले यसमा तात्विक अन्तर ल्याउँदैन । एकाध मान्छेको पहलमा मात्र नयाँ संस्कृति बनिहाल्ने हुँदैन । जनसंस्कृति शून्यबाट सिर्जना हुँदैन । संस्कृतिको पनि कार्य–कारण हुन्छ । संस्कृतिको गुण र दोषलाई विश्वदृष्टिकोणका आधारमा पहिल्याउन सकिन्छ । हामीले देश र जनताका लागि सकारात्मक एवम् उपयोगी संस्कृतिलाई मात्र आत्मसात् गर्नुपर्दछ । चाडपर्वमा रहेका मानवीय र सकारात्मक कुरालाई मात्र ग्रहण गर्नुपर्दछ । दसैँ–तिहारलगायत चाडपर्वमा इष्टमित्र, साथीभाइ, जहान–परिवार भेटघाट गर्नु राम्रो कुरा हो तर धार्मिक अन्धता र कुरीतिलाई श्रीपेच बनाएर उफ्रीपाफ्री गर्नु नितान्त नराम्रा कुरा हुन् ।

    धर्म भ्रम हो, ईश्वर कल्पना हो । मानव सभ्यता आजसम्म आइपुग्दा पनि धर्म र ईश्वरलाई कोही कसैले पनि प्रमाणित गर्न सकेका छैनन् । धर्म र ईश्वर नितान्त अवास्तविक, अप्रामाणिक र सर्वथा लोकको अहितकारी विषय हुन् । जनता नै इतिहासका निर्माता हुन्, दसैँ, तिहारजस्ता चाडपर्व–संस्कृति पनि इतिहास हुन् । अचम्मको कुरा यो छ कि धर्म, भगवान् र अलौकिक शक्तिको अस्तित्वलाई ठाडै अस्वीकार गर्नेहरू पनि सत्तामा पुगेपछि जनताभन्दा अरू नै शक्तिमा भरोसा गर्ने गरेका छन् । सत्तामा गएपछि उनीहरूका प्रगतिशील एजेन्डा अत्यन्त कमजोर हुने गरेको छ । बुर्जुवाहरूले लागि पद, शक्ति र प्रभावमा रहिरहन अलौकिक शक्तिलाई मुख्य ठान्नु कुनै अनौठो कुरा भएन, तर नेपालका ‘माक्र्सवादी’हरूले सरकार प्राप्त गरेपछि जनतालाई चटक्कै भुलेर कथित भगवान्को शरणमा जानु र राज्यकोषबाट धार्मिक अनुष्ठान गर्नु सैद्धान्तिक विचलन मात्र होइन, भयानक अख्तियार दुरुपयोग पनि हो । धर्मनिरपेक्ष मुलुकमा कुनै अमूक धर्मको प्रवद्र्धन गर्ने अधिकार कसैलाई पनि हुँदैन ।

    नेपाली समाज धर्मभीरुकै कारण समाज पछि परेको छ । नेपाली समाजमा चेतनाहरू बन्ध्याकरणमा परेका छन्, विज्ञान कैदी बन्न विवश छ । दुःखको बेलामा नेपालका ‘कम्युनिस्ट’हरू खाँटी सिद्धान्तवादी देखिन्छन् तर एक चरणको सफलतापश्चात् उनीहरूको आदर्श खिइने गरेको छ । उनीहरू एकपल्ट सत्ताको शिखरमा पुगेपछि त्यहाँबाट ओर्लन चाहँदैनन् । त्यहीँ टिकिरहन उनीहरू विभिन्न उपायको खोजी गर्छन् । एउटाले पूजा गर्दा बलियो भइन्छ भनिदिन्छ । अर्कोले औँठी लगाउँदा भाग्य चम्किन्छ भनिदिन्छ । अन्ततः उनीहरू यस्तै–यस्तैको पछि लाग्नाले गम्भीर विचलनको सिकार हुन पुग्छन् । सदैव भयभीत, त्रासपूर्ण मानसिकतामा रहेकाहरूले धर्मको सहारा लिने गरेका छन् । यथार्थतः मानिस नै समाजको निर्माता भएकोले समाजको विकास तथा विनास पनि मानिसद्वारा नै हुन्छ । यो कुरा दसैँ–तिहारजस्ता सांस्कृतिक पर्वको सवालमा पनि लागु हुन्छ ।

    सैद्धान्तिक रूपमा माक्र्सवादीहरू कुनै दैवीशक्तिमा विश्वास नगर्दा नगर्दै पनि दलाल पुँजीवादी संसदीय प्रणालीलाई आत्मसात् गर्न पुग्दा उनीहरूमा विचित्र किसिमको विचलन देखा परेको छ । भोटको राजनीतिले उनीहरूलाई धर्मप्रति उदार मात्र बनाएन, स्खलनको डरलाग्दो गर्तमा समेत हालिदिएको छ । पूजापाठले सत्ता, शक्ति र सफलता प्राप्त हुने भए नेपालमा यही लोकतान्त्रिक गणतन्त्र पनि प्राप्त हुँदैनथ्यो । ज्ञानेन्द्र शाहले सत्ता टिकाउन नेपाल–भारतका प्रायः सबै मन्दिरमा पूजापाठ मात्र गरेनन्, खुर्सानीको समेत होम गरेका थिए । झलनाथको दियो–कलश, मनमोहनको कालो बोको, मोहनचन्द्रको गेरुवस्त्र र कोटीहोम, प्रचण्डको भैँसीपूजा विशेष चर्चामा रहे । यद्यपि, जनयुद्धले नेपाली समाजको परम्परागत सांस्कृतिक–सामाजिक चिन्तनधाराको जगलाई हल्लाइदिएकै हो ।

    जनयुद्धले जनसांस्कृतिक आधार निर्माण गर्दै लगेको थियो । जनयुद्धकालमा अलिअलि निर्देशात्मक भए पनि त्यसले क्रमशः रूपान्तरणको मार्ग अवलम्बन गर्दै थियो, यद्यपि त्यो क्रम पछिल्ला दिनमा केही अलमलिएको जस्तो देखिएको छ । यसलाई फेरि नयाँ गति दिन आवश्यक छ । फेरि, सत्ता यस्तो चीज हो, जसले सुकर्म–कुकर्म दुवैको अवसर दिन्छ । कतिपय सत्तामा पुगेपछि हौसिएर विचलित भएका छन् । नेपाली समाजमा कतिपयले हिन्दुधर्मलाई सराप्दै क्रिस्चियन बनेको पनि पाइन्छन् । क्रिस्चियन बन्नु भनेको क्रान्तिकारी हुनुजस्तो भ्रम फिँजाइएको पनि छ । आखिर धर्मभीरु नै भएपछि हिन्दु बनोस् कि, क्रिस्चियन बनोस् कि मुस्लिम बनोस्, यसको कुनै अर्थ छैन । नेपाली संस्कृति पनि बहुरङ्गी बन्दै गएको यतिबेला आफ्नो टाउकोमा आफैँले आगो लगाउने संस्कृतिको निर्माण नगरीकन सोचेजस्तो सैद्धान्तिक, राजनीति, दार्शनिक र सांस्कृतिक मूल्य स्थापित गर्न सकिन्न ।

    जनयुद्धकालीन भीषण कालखण्डमा दसैँको बेला पार्टीले एकतर्फी रूपमा युद्धविरामको घोषणा गर्दथ्यो । त्यतिखेर माओवादीहरू जनताका घरदैलोमा गएर आफ्ना योजना राख्थे । दसैँ त राम–रावण युद्धको विजयको रूपमा मनाउँदै आएको रूपमा होइन, जनताले प्राप्त गरेको विजयको रूपमा पो मनाउने हो भन्थे । जनमुक्ति सेनाले दसैँमा टीका लगाउँदैनथे । उनी नेपाली जनताले विजय प्राप्त गरेको दिन टीका लगाउने कुरा गर्दथे । महान् जनयुद्ध प्रारम्भ भएको फागुन एकलाई दसैँ मानिन्थ्यो । तर, आज सांस्कृतिक रूपान्तरण उल्टो दिशातिर गइरहेको छ ।

    परम्परागत चाडपर्वमा भुलिरहने नेपालमा कम्युनिस्टहरूको चिन्तन दिक्कलाग्दो छ । नेपालका कम्युनिस्टहरूमा सिद्धान्त र व्यवहारको बिचमा ठूलो अन्तर छ । अब्बल भनिएका कम्युनिस्टहरूमा पनि सामन्तवादी चिन्तन–व्यवहार यथेष्ट देख्न सकिन्छ । श्रमजीवी जनताको मुक्तिविनाका चाडपर्वको कुनै अर्थ हुँदैन । दसैँ–तिहारजस्ता चाडपर्वको नाममा कम्युनिस्टहरू अर्थात् भौतिकवादीहरूले समेत धार्मिक प्रवद्र्धन हुनेगरी सेल्फी खिँच्नु र त्यसका व्यापक प्रचार–प्रसार गर्नु, ऋणै गरेर भए पनि तामझाम गर्नु, कोरोना केही होइन भन्दै लफरलफर हिँड्नु, न्युनतम स्वास्थ्य सुरक्षा पनि नअपनाउनु, ठुलठुला खसी काट्नु, ह्वीस्की र चुस्कीमा रम्नु, निधारभरि अक्षता र कानभरि जमराको मुठो लगाउँदै अस्वाभाविक तवरले हिँड्नु बिल्कुल गलत कुरा हुन् ।

    नेपाली समाजमा दसैँ–तिहारजस्ता चाडपर्व अत्यन्त खर्चिला बन्दै गएका छन् । यसलाई बजारीकरणले खर्लप्पै छोपेको छ । नेपाली चाडपर्व उपभोक्तावादमा फस्दै गएको छ । बहुत् खर्चिला हुँदै गएपछि नेपाली चाडपर्वहरू हुने–खानेको मात्र बन्दै गएको छ । यसले समाजलाई नहुनेहरूलाई कङ्गालीकरणतर्फ उन्मुख गराएको छ । यसले नेपाली समाजमा असमानता र अन्तरविरोधको बढाउँदै लगेको छ । खास–खास समयमा सामूहिक संस्कृतिको रूपमा रूपमा बस्ने, मिठो–मसिनो खाने, छलफल गर्ने, विभिन्न योजना बनाउने सही कुरा हो । हामीले पुराना संस्कारलाई प्रगतिशीलीकरण संस्कार र संस्कृतिमा रूपान्तरण गरेर चाडपर्वलाई नयाँ ढङ्गबाट मनाउनुपर्दछ । संस्कृतिलाई चेतनागत पक्षसित जोडेर हेर्ने र सोहीअनुरूप जीवनपद्धति बनाउनुपर्दछ । गतिशील यथार्थको रूप विकसित नयाँ यथार्थ अग्रगामी युगचेतना हो । नयाँ यथार्थ मालेमावादी सौन्दर्यचेतना पनि हो ।

    नेपालमा धर्म एवम् परम्परागत चाडपर्वहरू त्यति सजिलै विस्मृतिमा जाने देखिँदैन । नेपाली समाजका अधिकांश चाडपर्व विभेदकारी छन् । ती विभेदकारी चाडपर्वले जनतालाई उत्साहित बनाउँदैन । जीवन–व्यवहारमा लागु नै नहुने पनि कहीँ जनसंस्कृति हुन्छ र ! अहिले दसैँलगायतका नेपाली चाडपर्वलाई बहुराष्ट्रिय कम्पनीले आफ्नो व्यापारको साधन बनाइरहेको छ । धर्म–संस्कृति मनोविज्ञान, जीवन–व्यवहार, अर्थतन्त्र र राज्यसत्तासित अभिन्न रूपले जोडिएको विषय हो ।

    तथ्यहरूले पुष्टि गरेको छ कि ईश्वर काल्पनिकी हो । हामीले आफ्ना काल्पनिक भ्रान्तिहरू मेट्नुपर्दछ । धर्म–चाडपर्वका नाममा समाजमा के–के भइरहेका छन् भन्ने कुरा दैनिकजसो पत्रपत्रिकाले लेखिरहेका हुन्छन् । कतिपयः समाचार त पढ्नै नसक्ने खालका पनि हुन्छन्, सुन्दा पनि आङै जिरिङ्ग गर्ने खालका पनि हुन्छन् । हालै मात्र भारतमा एउटा जघन्य आपराधिक घटना भयो । भारतको कर्नाटक राज्यको चामराजनगर जिल्लाको महादेश्वरा हिल सलुर मठका मूल पुजारी र उनका तीन सहयोगीलाई प्रसादमा विष मिलाएको अभियोगमा पक्राउ परे ।

    मन्दिरको शिलान्यासको समयमा बाँडिएको प्रसाद खाएपछि पन्ध्र जनाको मृत्यु भएको थियो । महन्त र उनका सहयोगीले प्रसादमा पाँच बोतल कीटनासक विषादी मिलाएका थिए । बाउन्न वर्षका महन्त पट्टदा इम्मादी महादेश्वरा स्वामी भनिने देवन्ना बुद्धि र उनका तीन सहयोगी पनि पक्राउ परे । यो मठको ट्रस्टले मठमा विशाल प्रवेशद्वार बनाउने निर्णय गरेको थियो तर महन्तले यो द्वार तामिलनाडुका आर्किटेक्टबाट बनाउन चाहन्थे । महन्तले यसका लागि डेढ करोड रूपैयाँ खर्च लाग्ने बताएका थिए । महन्तको सो प्रस्ताव अस्वीकृत भयो । नयाँ बन्न लागेको मन्दिरको शिलान्यास थियो । आफ्नो अपमानको बदला लिन महन्तले नै शिलान्यास कार्यक्रममा बाँडिने प्रसादमा विष मिलाएका थिए । कोरोना महामारीको यतिबेला विश्वभर अनेकौँ धामिक तथा सांस्कृतिक विकृति सार्वजनिक भइरहेका छन् ।

    नेपालमा प्रचलित दसैँ–तिहार, छडजस्ता चाडपर्वले विभिन्न जनसमुदायको हार्दिक भावनात्मक व्याख्या हुँदै आए पनि मूलतः तिनले एउटा खास विचार सम्प्रेषण गरिरहेका हुन्छन् । ती विचारले मुख्यतः शासक वर्गको हितार्थ काम गरिरहेका हुन्छन् । नेपाली समाजमा प्रचलनमा रहेका अधिकांश चाडपर्वले पुरानो संस्कृतिको पृष्ठपोषण गरिरहेका छन् । नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएको छ तर यथार्थतः देशमा हिन्दुधर्मसित गाँसिएका चाडबाडलाई नै बर्चस्वशाली बनाइएका छन् । धर्म, अन्धविश्वास, रूढीवाद, अवैज्ञानिकता र जनहितविरुद्ध रहेका संस्कृतिले मानवजातिको सार्वभौम समानताको सम्मान गर्नै सक्तैन । मानवजातिको सार्वभौम समानताको सम्मान गर्न पुरातन संस्कृतिलाई रूपान्तरण गर्दै नूतन अर्थात् जनसांस्कृतिक मूल्यमा उठाउनुपर्दछ ।

    कोरोना महामारीले सिर्जना गरेको महामारीमय कहर एकातिर छँदै छ, त्यसमाथि पनि दसैं–तिहार, छठजस्ता चाडपर्वले नेपाली समाजलाई आहत बनाउनु नितान्त गलत कुरा हो । नेपाली समाजले अब नयाँ शिराबाट सोच्नैपर्दछ । आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई उखान यसै बनेको होइन । यो उत्पीडित तथा श्रमजीवी जनसमुदायको विद्रोहको आवाज पनि हो । जब दसैँ, तिहारजस्ता पर्व आउँछन्, तब बजारमा आतङ्क सुरु हुन्छ । यही बेला मिठो खाने, राम्रो लगाउने कुरामा प्रतिस्पर्धा हुन्छ । सक्नेले गरे पनि नसक्ने पनि ऋण गरीगरी उही देखासिकी प्रतिस्पर्धा गरिरहेका हुन्छन् । राम्रो लगाउन दसैँ–तिहार नै कुनुपर्छ र ! मिठो खान, मासु खान दसैँ नै कुनुपर्छ र ! मासु त हामीले अरू बेला पनि खाएकै हुन्छौँ, तर पनि हामी यही कुरामा दौडिने गरिरहेका हुन्छौँ । सांस्कृतिक दृष्टिकोणले यो सर्वथा बेठिक कुरा हो । सत्तासीन वर्गले जनतालाई रैती सम्झने र सोहीअनुसारको सांस्कृतिक मनोविज्ञान सिर्जना गरिरहेका छन् । समाजमा प्रचलित दसैैँ–तिहारलाई आज र अहिल्यै पूर्णतः निषेध गर्न नसके पनि त्यसलाई जनशैलीमा ढाल्दै जानुपर्दछ ।

    हामीलाई थाहा छ, सांस्कृतिक आन्दोलन दीर्घकालिक र जटिल सङ्घर्षको मोर्चा हो । यो आत्मसङ्घर्ष, अन्तरसङ्घर्ष र वर्गसङ्घर्ष हुँदै अघि बढ्छ । यो आन्दोलनमा प्रहारका निसाना शासक वर्गको विचार, भावना र संस्कृति हुनुपर्दछ भने उत्पीडित तथा श्रमजीवी वर्गका विचार, भावना र संस्कृतिको पुँजीकरण गर्ने हुनुपर्दछ । कस्तो चाडपर्व मान्ने र कसरी मान्ने, किन मान्ने, किन नमान्नेलगायत विषयमा घनीभूत छलफल चलाइनुपर्दछ । बजारमा भनिँदै आएको ‘सबै उस्तै हुन्’ भन्ने कुरालाई हामीले ‘सबै उस्तै होइनन् र छँदा पनि छैनन्’ भन्ने कुरालाई स्थापित गर्नुपर्दछ । सांस्कृतिक आन्दोलन र धर्म, चाडपर्वको विमर्शका सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव कमरेड विप्लवले भन्नुभएको छ, “धर्मवादको मुख्य पक्षपोषक सामन्तवादी सत्ता, पण्डित–पुरोहित, राजा–रजौटा र सामन्तहरू हुन् । यो दृष्टिकोणअनुसार जस्तो सत्ता छ, जो सत्तामा मालिक छ, जो गरिब र श्रमिक छन्, जसले मोजमस्ती पाएका छन्; यी सबै ईश्वर–भगवान्का सिर्जना हुन् । यी सबैलाई यसरी नै चल्न दिनुपर्छ । यसलाई बदल्न खोज्नु भनेको भगवान्, प्रभु, अल्लाहको विरुद्ध जानु हो ।

    सुरुमा पुँजीवादले सामन्तवादविरुद्ध विद्रोह गर्दा धर्मबाट राज्यलाई अलग गरेको थियो तर आज जब वैज्ञानिक समाजवादले पुँजीवादलाई परास्त गर्न थाल्यो, तब पुँजीवादले आफूलाई पछि फर्काउँदै धार्मिक दृष्टिकोणसँग मिलाउन पुग्यो । यतिसम्म कि सामन्तीकाललाई उछिन्दै धर्म प्रचार र रक्षाका लागि खरबौं रकम राज्यले उपलव्ध गराइरहेको छ । डलरको बलमा सर्वसाधारण नागरिकलाई धर्म स्वीकार्न र परिवर्तन गर्न लगाइरहेको छ । योजनाबद्ध रूपले श्रमिक जनतालाई वर्गसङ्घर्षबाट अलग गर्न क्रिस्चियन र मुस्लिम, मुस्लिम र हिन्दु, हिन्दु र बौद्ध धर्मका सङ्घर्षहरू सिर्जना गर्ने कार्य भइरहेको छ । मान्छेहरूलाई काल्पनिक बिम्बका लागि बलिदान गर्न लगाइँदै छ । जो मानव–दुनियाँका लागि निकै दुःखदायी रहेको छ”, (वैज्ञानिक समाजवाद, विप्लव, पृ. ९६÷९७) ।

    दसैँका सन्दर्भमा नेपाली समाजमा एउटा प्रश्न जब्बर छ कि के दसैँ नमनाउँदैमा वा दसैँको टीका नलगाउँदैमा क्रान्तिकारी वा भौतिकवादी भइन्छ ? टीका नलगाउँदैमा क्रान्तिकारी भइने भए क्रिस्चियन, मुस्लिमहरूले त टीका लगाउँदैनन् नि त ! के त्यसो भए उनीहरू क्रान्तिकारी भएरै दसैँ नमनाएका हुन् त ? उनीहरूले भौतिकवादी भएरै टीका नलगाएका हुन् त ? कुरा यस्तो होइन । मलाई लाग्छ, यो समकालीन सांस्कृतिक आन्दोलनमा अहम् प्रश्न हो । धेरैले सोध्ने प्रश्न यो पनि छ कि दसैँमा टीका लगाउने किन नलगाउने ? दसैँ मनाउने कि नमनाउने ? वा मनाए पनि कसरी मनाउने ? यी प्रश्न स्वाभाविक छन् । हामीले यसको चित्तबुुझ्दो उत्तर दिनैपर्दछ । यही सन्दर्भमा केही सुझाव प्रस्तुत गर्नु उपयुक्त ठान्दछु :

    १. समाजमा अस्तित्वशील दसैँ–तिहारलगायत समग्र चाडपर्व, संस्कार, संस्कृतिलाई पूर्णतः निषेध गर्नुपर्ने, नवीनीकरण गर्नुपर्ने र नयाँ संस्कृतिमा आधारित चाडपर्वको निर्माण गर्ने गरी तीन भागमा वर्गीकरण गर्नुपर्दछ । जनयुद्ध दिवस, सहिद सप्ताह, सांस्कृतिक प्रतिरोध दिवस, सांस्कृतिक बलिदान दिवस, पार्टी स्थापना दिवस, आठ मार्च, मे दिवसलगायतलाई वास्तविक चाडका रूपमा मनाउनुपर्दछ ।

    २. नेपाली समाजमा शासकीय दमनात्मक हतियारका रूपमा रहेका रुढिवाद र धर्ममा आधारित चाडपर्वहरूलाई क्रमशः त्याग्दै जाने र गौरवमय सन्दर्भहरूलाई जनताको सांस्कृतिक पर्वका रूपमा स्थापित गर्दै जाने विषयमा सैद्धान्तिकी र व्यावहारिकी सहमत हुनुपर्दछ । धार्मिक–आर्थिक–सांस्कृतिक प्रकोपजन्य दसैँलगायतका चाडपर्वको जमिनी यथार्थ जनसमुदायमा स्पष्ट पारिनुपर्दछ ।

    ३. दसैँ–तिहारलगायत धार्मिक अनुष्ठानका साथ मनाइने चाडपर्वमा निर्लिप्तता कम गर्दै लैजानुपर्दछ । धार्मिक प्रपञ्चमा आधारित दसैँ–तिहारजस्ता चाडपर्वलाई धर्मबाट अलग्याउनुपर्दछ । दसैँ किसानी जनताको विशुद्ध सांस्कृतिक पर्व थियो, यसलाई सोहीअनुरूप सांस्कृतिक पर्वकै रूपमा पुनस्र्थापित गरिनुपर्दछ ।

    ४. दसैँको टीकालाई देवीको प्रसादको रूपमा ग्रहण गरिने परम्पराको अन्त्य गरिदिनुपर्दछ । जनताका लागि कुनै पनि पर्व मनाउनैपर्ने बाध्यकारी बनाइनुहुँदैन । दसैँको टीकाको सन्दर्भमा जनयुद्ध दिवसमा सबैले सबैलाई टीका लगाएजस्तै गरी अपनाउन सकिन्छ । यसलाई सामूहिक संस्कृतिको रूपमा विकास गरिनुपर्दछ ।

    ५. खानपिन, किनमेललगायत सबै कुरा यही दसैँमा लगेर केन्द्रित गर्ने र बहराष्ट्रिय कम्पनीको नाफाको साधन बन्दै गएको दसैँलाई मितव्ययी, सरल र सहज सांस्कृतिक प्रचलनलाई जीवन–पद्धतिका रूपमा विकास गर्दै जानुपर्दछ ।

    ६. धर्मनिरपेक्ष मुलुक भनिए पनि दसैँलाई राज्यस्तरबाट अरूभन्दा श्रेष्ठ, हेरिनसक्नु र छोइनसक्नुको तामझम, अनावश्यक बिदा, राज्यको अथाह धनराशी खर्च गर्ने परम्पराको अन्त हुनुपर्दछ ।

    ७. दसैँ–तिहारजस्ता परम्परागत चाडपर्वलाई लौरो लगाएर हुँदैन, वैकल्पिक सांस्कृतिक धाराका साथ जनसमुदालाई सँगै लिएर उनीहरूको सांस्कृतिक चेतनामा क्रमशः रूपान्तरण गर्दै जानुपर्दछ । दसैँलगायतका विभिन्न बहानामा शासकले हडपेको जनताको चाडपर्व र संस्कृतिलाई खोसेर अब जनताले आफ्नो कब्जामा लिनुपर्दछ । जनपक्षीय एवम् प्रगतिशील चरित्रका चाडपर्वलाई वैज्ञानिक समाजवादी सांस्कृतिक धारामा समाहित गर्दै लैजानुपर्दछ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ