• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    यसपटक राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले दसैंको टीका नलगाइदिने

    460
    SHARES

    काठमाडौं । यसपालि कोरोना भाइरसको महामारीका कारण पूर्वराजा ज्ञानेन्द्र शाह, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् । पूर्वराजाले शनिबार औपचारिकरुपमै टीका नलगाइदिने घोषणा गरिसकेका छन् भने राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयले त्यस्तो औपचारिक घोषणा गर्न बाँकी छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसका कारण सर्वसाधारणलाई टीका नलगाउने तयारी गरिरहेको शीतलनिवासले जनाएको छ । राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले कोरोना भाइरसका कारण राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाउने बारे अन्योल रहेको बताए ।

    ‘वर्तमान अवस्थालाई हेर्दा टीका लगाउनु चुनौतीपूर्ण देखिएको छ ।’ राष्ट्रपतिका स्वकीय सचिव अधिकारीले भने ‘टीकाको केही दिन औपचारिक रुपमा सूचना जारी गरी यसको जानकारी दिने तयारीमा छौं, तर टीका लगाउने सम्भावना कम छ ।’

    प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने तयारी गरेका छन् । कोरोना भाइरसका कारण सामाजिक दुरी कायम गर्नुपर्ने भएकोले यो वर्ष सर्वसाधारणलाई टीका लगाउने तयारी रहेको बालुवाटार स्रोतले जनाएको छ ।

    पूर्वराजा सहयोगी फणिराज पाठकका अनुसार यस वर्ष कोरोना भाइरसका कारण पूर्वराजा ज्ञानेन्द्रले शालीन र सादगी रुपमा दसैं मनाउने तयारी गरेका छन् । जस अनुसार विजयनदशमीको दिन सर्वसाधारणलाई टीका नलगाउने र अष्टमीको दिन शक्तिपीठमा पनि नजाने निर्णय गरेका छन् ।

    पाठकले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मौसुफबाट यस वर्ष महाअष्टमीका दिन विभिन्न शक्तिपीठहरुमा दर्शन गरिबक्सने कार्यक्रम र विजया दशमीका दिनमा टीका बक्सने कार्यक्रम नहुने व्यहोरा जानकारी गराइन्छ ।’

    पाठकका अनुसार यसवर्ष कोरोना भाइरसका कारण पूर्वराजा ज्ञानेन्द्रले शालीन र सादगी रुपमा दसैं मनाउने तयारी गरेका छन् । जस अनुसार विजयदशमीको दिन सर्वसाधारणलाई टीका नलगाउने र अष्टमीको दिन शक्तिपीठमा पनि नजाने निर्णय गरेका छन् ।

    नेपालीहरुको महान चाड बडादशैं शुरु भएको छ । दशैंको पहिलो दिन आज घरघरमा घटस्थापना गरिँदै छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ ।

    पूजा कोठा वा दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजारम्भ हुन्छ । नवरात्रको पहिलो दिन आज बिहानै नित्य कर्म समाप्त गरी नजीकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्पक राखेर त्यसमाथि यव(जौ)रोपिन्छ ।

    यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।

    जमरा राख्ने कार्यमा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले बताए । कुल परम्परानुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधिका रुपमा समेत प्रयोग गरिन्छ ।

    विधिपूर्वक घट अर्थात् घडा राखी त्यसमाथि शक्तिस्वरुपा दुर्गाको पूजाराधना गरिने आजको दिन स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा देवीको प्रसाद ग्रहण गरिन्छ ।

    घटस्थापनाको साइत आज बिहान ११:४६ बजे रहेको समितिले जनाएको छ । आज दिनभर चित्रा नक्षत्र परेकाले शास्त्रीय वचनानुसार मध्याह्नकालमा अभिजित् मुहूर्तको साइत घटस्थापनाका लागि दिइएको अध्यक्ष गौतमले बताए ।

    सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यतानुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको पनि उनले जानकारी दिए ।

    दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजाराधना गरिन्छ । महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा पूजाराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।

    दुर्गाले आसुरी प्रवृत्तिको प्रतीक चण्ड, मुण्ड, शुम्भ, निशुम्भ, रक्तबीजलगायत राक्षसलाई वध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजाआजा र आराधना गर्ने गरिन्छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ