• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    नेपाली भूमि मिचेको समाचार बाहिरिएपछि चीनले दियो फेरि यस्तो प्रष्टीकरण

    2.1K
    SHARES

    काठमाडौं । चीनले ले हुम्लामा नेपाली भूमि नमिचिएको बताउँदै हालै निर्माण गरिएका भवनहरु चिनियाँ भूमिभित्रै रहेको दाबी गरेको छ। हालै निर्माण भएको नयाँ गाउँ चीनको अलिको बुराङ भन्ने स्थानमा पर्ने  चिनियाँ सरकारी अधिकारीहरुले बताएका छन् ।

    चिनियाँ सरकारको मुखपत्र दि ग्लोबल टाइम्ससँग बुराङका विदेशी मामिला निर्देशक बकीले मे महिनामा सो भवनहरु निर्माण गर्नुभन्दा पहिला सेना र सर्वेका अधिकारीहरुले सो भवन निर्माण चिनियाँ भूभागभित्र नै बनोस् भनी विस्तृत सर्बे र म्यापिङ गरेको बताएका छन् ।

    उनले भनेका छन्, ‘सो भवन पूर्णरुपमा चीनको भूभागभित्र पर्छ र सबैभन्दा नजिकको भवन चीन–नेपाल सीमाभन्दा एक किलोमिटर टाढा रहेको छ ।’ उनले नयाँ गाउँ निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेकोसमेत जानकारी दिएका छन् ।

    नेपालमा चीनले सीमा मिचेको विषय उठेपछि चिनियाँ अधिकारीहरुले दोस्रोपटक फिल्ड सर्वे र मापनको काम गरेका थिए । सो टोलीले भवन चीनको बुराङ गाउँमा नै पर्ने निष्कर्ष निकालेको थियो । चिनियाँ सरकारी अधिकारीहरुले सो गाउँ व्यापार बढाउन बनाइरहेको र निर्माण गर्ने समयमा नेपाली अधिकारीहरुसँग कुनै पनि विवाद नभएको उल्लेख गरेका छन् ।

    चिनियाँ अधिकारीले पिल्लर नं ११ र १२ एकदमै उच्च भागमा रहेको र सर्वेको ज्ञान नभएका व्यक्तिले अध्ययन गर्न कठिन हुनेसमेत उल्लेख गरेका छन् । चिनियाँ अधिकारीले नेपाली सर्वे टिमले केही गल्ती गरेको हुनसक्ने सो पत्रिकालाई बताएका छन् ।

    यसअघि नेपालको परराष्ट्र मन्त्रालय र चीनका लागि नेपाली राजदूत डा. महेन्द्रबहादुर पाण्डेले पनि चीनले नेपालको भूभाग नमिचेको दाबी गरेका छन् ।

    दुई देशीय सिमानामा आफूले निर्माण गरेका भवनहरुका सम्बन्धमा नेपालमा प्रश्न उठेपछि चीन सरकारले सो क्षेत्रमा नापी विभागका प्राविधिकहरु पठाएर पुनः सर्भे गरेको छ ।

    चिनियाँ अधिकारीहरुका अनुसार त्यस स्थानमा भवन निर्माण अगाडि नै विस्तृतरुपमा सर्वे र नक्साङ्कन गरिएको थियो । तर, भवन बनाएको भूभाग नेपाल पर्ने भनी प्रश्न उठेपछि दोस्रोपटक सर्भे गरिएको हो ।

    चीनले सर्भे सम्पन्न भएपछि पिल्लर नं ११ र १२ लाई लक्षित गरेर एक नक्सा नै बनाएर अंग्रेजी भाषाको मुखपत्र ग्लोवल टाइम्स मार्फत सार्वजनिक गरिसकेको छ । आफूले निर्माण गरेको भवन नेपाल-चीन सीमाको दुई किलोमिटर आफ्नो भुभागमा रहेको दाबी गरेको छ ।

    सो क्षेत्रका एक उच्च अधिकारीले आफूले गरेको सर्भेबारे सो पत्रिकालाई विस्तृतमा अन्तवार्ता दिएका छन् । अर्थात, चीन सरकारले अध्ययन गरेर सार्वजनिकरुपमा आफ्नो धारणा सार्वजनिक गरिसकेको छ ।

    नेपालभित्र पनि त्यहाँ विज्ञ टोली पठाएर यथार्थ जानकारी गराउन सर्वत्र माग भइरहेको छ । तर, त्यसतर्फ सरकारको कुनै ध्यान छैन । भूमि व्यवस्था, सहकारी र गरिवी निवारण मन्त्रालय, नापी विभागलगायतका निकायहरुले विज्ञ पठाउने सम्बन्धमा अहिलेसम्म कुनै प्रगति नभएको बताएका छन् ।

    भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले टोली पठाउने विषयमा आफूलाई केही थाहा नभएको बताइन् । उनले भनिन,’अहिले के भइरहेको छ भन्ने सम्बन्धमा परराष्ट्र मन्त्रालयलाई सोध्दा नै उचित होला ।’ प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले हुम्लामा एक टोली पठाएर स्थलगत अध्ययन गरेको छ ।

    सीमा मिचिएको चर्चा चलेपछि हुम्लाका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले लिमी गाउँको अवलोकन गरेको थियो । सो अवलोकनको प्रतिवेदन गृह मन्त्रालयमा बुझाइएको थियो ।

    गृह मन्त्रालयले सो प्रतिवेदन परराष्ट्र मन्त्रालयलाई दिइएको बताएको छ । तर, परराष्ट्र मन्त्रालयले सो प्रतिवेदनलाई गुपचुप राखेको छ । सो प्रतिवेदनका आधारमा सरकारले सीमाका सम्बन्धमा के भएको हो, बताएको छैन ।

    सो टोलीले प्रतिवेदन बुझाउनुअगाडि नै सरकारले हुम्लामा चीनले सीमा नमिचेको प्रतिक्रिया दिएको थियो । त्यतिबेला परराष्ट्र मन्त्रालयले हुम्लाबाट सो टोली र्फकेपछि विस्तृत जानकारी प्राप्त हुने बताएको थियो । सीमा विवादजस्तो संवेदनशील विषयमा यही हो भनेर ठोकुवा गर्ने कार्य निकै कठिन हुन्छ ।

    त्यसमाथि पनि अहिले जति अध्ययनहरु भएका छन्, त्यसमा प्राविधिकहरु संलग्न छैनन् र उनीहरुले पहिलेको नक्साको आधारमा अध्ययन गरेका छैनन् । जबसम्म प्राविधिकहरुले अध्ययन गर्दैनन्, तबसम्म केही भन्न सकिने अवस्था हुँदैन । त्यसैले सरकारको दायित्व भनेको चीनसँग समन्वय गरेर एक प्राविधिक टिम पठाउनु हो ।

    विज्ञ भन्छन् – शान्तरुपमा संयुक्त अनुगमन गरौं

    विज्ञहरुले यो विषय निकै संवेदनशील भएकाले यसलाई सार्वजनिक रुपमा बढी उछालेर भन्दा पनि शान्त कूटनीतिका माध्यमले संयुक्त अनुगमनपछि निक्र्यौल गर्नुपर्ने बताएका छन् ।

    पूर्वसचिव द्वारिकानाथ ढुंगेल यो विषय सतहमा आएपछि परराष्ट्र, भूमिसुधार र गृहमन्त्रालयको टोली केन्द्रबाटै पठाएर अध्ययन गर्नुपर्नेमा त्यसमा ढिलाइ भएको बताउँछन् ।

    ढुंगेलले भने, ‘पहिला त्यहाँ के भएको हो वस्तुस्थिति पत्ता लगाएर त्यसका आधारमा चीनलाई कूटनीतिक नोट पठाउनुपर्ने थियो । अहिले चीनले आफूले त्यहाँ सर्भे गरेको कुरा बाहिर आएको छ । यस मामिलामा चिनियाँहरु हामीभन्दा पाको देखिए र हामी अप्ठेरो अवस्थामा परिसकेका छौं र हामी कमजोर देखिएका छौं ।’

    उनले अब यो विषयलाई धेरै उछालेर भन्दा पनि सीमाको प्रोटोकल अनुसार दुवै मुलुकले सीमानाको संयुक्तरुपमा अनुगमन गरेर निक्र्याैल निकाल्नुपर्ने बताए ।

    ‘हामी दुई छिमेकी मुलुकहरु हौं, हाम्रोवीचमा सीमाको प्रोटोकल र अन्य दस्तावेजहरु रहेका छन्, संयुक्तरुपमा अनुगमन गरांै भनेर चीनलाई आग्रह गरेर समाधान गर्नुपर्छ ।’

    तर, सरकारले भने हुम्लामा देखिएको सीमा विवादका सम्बन्धमा सन् २०१६ मा नै विस्तृतरुपमा अध्ययन भएको र अर्काे अध्ययनको आवश्यकता नदेखिएको बताउँदै आएको छ ।

    चीनले सीमा मिचेको हो अथवा होइन, यकिन छैन । तर, प्रश्न उठेपछि विज्ञ समूह बनाएर त्यहाँ पठाउनु सरकारको दायित्व हो । विवाद उत्पन्न यस अगाडि नै यस अगाडि नै काठमाडौंस्थित चिनियाँ दूतावासले नेपाललाई केही लागेमा पुनः जाँच गर्न सकिने बताइसकेको छ ।

    नापी विभागका एक अधिकारी अब नेपाल र चीनको विचमा संयुक्त रुपमा नै जानुपर्ने अवस्था सिर्जना भएको बताउँछन् । उनले भने ‘चिनियाँ पक्षले आफ्नोतर्फबाट अवलोकन गरेको कुरा आयो, तर कन्भर्म गर्न संयुक्तरुपमा नै जानुपर्छ ।’

    नेपाल र चीनको वीचमा सन् २००५ यता सीमाको संयुक्त अनुगमन भएको छैन । त्यसैले हुम्लामा मात्र होइन, नयाँ ठाउँमा पनि नियमित रुपमा अनुगमन गर्ने समय आइसकेको छ ।

    सरकार आफ्नो भू-भागलाई पनि नेपालकै हो भन्‍न हिच्किचायो : नेपाली कांग्रेस

    यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले मुलुकको सार्वभौमिकताको रक्षा गर्न नसकेको आरोप लगाएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नेपालको भू-भागलाई पनि आफ्नो हो भन्न नसकेको बताएका हुन् ।

    हुम्लामा चीनले नेपाली भूमि मिचेको भन्दै शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिंहले भने, ‘नेपालको भौगोलिक अखण्डताको विषयलाई लिएर सरकार आफ्नो भू-भागलाई पनि नेपालकै हो भनेर भन्न हिच्किचाएको छ ।’

    सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सरकारी टोलीले स्थलगत निरीक्षण प्रतिवेदन नबुझाउँदै चीनले भूमि नमिचेको भन्ने अभिव्यक्ति दिएकोप्रति नेता सिंहले आपत्ति जनाए । ‘हुम्लामा सरकारी टीम स्थलगत अवस्था बुझ्नका लागि गएको छ । तर प्रतिवेदन आउनुअगाडि नै सरकारका प्रवक्ताले केही भएको छैन भनर अपरिपक्व कुरा गरेका थिए,’ उनले भने ।

    नेपालको भू-भाग वर्तमान सरकारले संरक्षण र सुरक्षा गर्न सक्ने हो कि होइन भन्ने कुरा जनतामा पर्न गएको सिंहको भनाइ थियो ।

    हुम्लामा चीनले नेपाली भूमि मिचेको प्रतिपक्षी कांग्रेसले बताउँदै आएको छ । चीन र नेपाल सरकारले भने दुई देशबीच कुनै पनि सीमा समस्या नरहेको बताउँदै आएका छन् । कर्णाली प्रदेशमा प्रतिपक्षी दल कांग्रेसका नेता जीवनबहादुर शाहीले भने चीनले नेपाली भूमिमा स्थायी संरचना बनाएको दाबी गरेका छन् । कांग्रेसले शाहीको प्रतिवेदनको आधारमा नै सरकारमाथि दबाब बनाइरहेको हो ।

    त्यस्तै, नेता सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी सरकारको प्रत्याभूति दिन नसकेको बताएका छन् । जनताले दिएको अत्यधिक जनमतका बाबजुद प्रधानमन्त्रीले यो अवधिमा ११ पटक मन्त्रिपरिषद् पुनर्गठनमा मात्रै बिताएको नेता सिंहको दाबी थियो । ‘जनताले अत्यधिक म्यान्डेट दिए पनि ३१ महिनामा ११ पटक मन्त्रिपरिषद् पुनर्गठन गर्नुभन्दा केही पनि काम देखाउन सकेको देखिएन । कुर्सीमात्र जोगाउने काममा सरकार लागेको छ,’ उनले भने ।

    ओम्नी, सेक्युरिटी प्रिन्टिङ प्रेस, यति लगायतका प्रकरणमा सरकार प्रमुख ओलीको भ्रष्टाचारप्रतिको धारणा प्रस्ट पारेको नेता सिंहले बताए । ‘सुशासन दिने ठाउँमा कुशासन दिने, भ्रष्टाचारमुक्त काम गर्ने ठाउँमा महामारीमा औषधि र स्वास्थ्य सामग्री खरिदमा घोटाला गरेको देख्दा नै सरकार कति असंवेदनशील रहेको छ भन्ने देखिन्छ,’ उनले भने ।

    बलात्कार, हत्या र हिंसाका घटना बढ्दै गरेकाले पनि सरकार कानुनको शासन कायम गर्न चुकेको नेता सिंहको भनाइ थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ