• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    काठमाडाैं उपत्यकामा कहिलेदेखि सुरु हुँदैछ निषेधाज्ञा, दशैँ अघि या पछि ?

    1.3K
    SHARES

    काठमाडाैं । काठमाडाैं उपत्यकामा कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या व्यापक रूपमा बढिरहेको छ। पछिल्लो तथ्याङ्क अनुसार उपत्यकाका तीन जिल्लामा सङ्क्रमितहरूको सङ्ख्या ४० हजार नाघेको छ भने मृत्यु हुनेहरूको सङ्ख्या भने १९२ छ।

    नेपालीको प्रमुख चाड दशैँ मुखैमा रहेको र सङ्क्रमितहरूको सङ्ख्या व्यापक रूपमा बढिरहेको अवस्थामा धेरैमा अबको सरकारी कदम के हुन्छ भन्ने विषयमा व्यापक कौतुहलता रहेको पाइन्छ।

    विशेषतः चाडबाडका बेला एक ठाउँबाट अर्को ठाउँ जाने र आफन्तहरूसँग भेटघाट अन्य समयमा भन्दा बढी गरिने हुँदा अबको एक हप्तामा सुरु हुने पर्वअघि के हुन्छ भन्ने विषयमा चासो बढेको हो। तर बढ्दो सङ्क्रमण दर अनि दशैँको आगमन नजिकिएको अवस्थामा के हुन्छ त? यसको स्पष्ट जवाफ सरकार जिम्मेवार निकायहरूसँग छैन।

    अधिकारीहरूले काठमाडाैंका हकमा चुनौती रहेको र आइसोलेशन वार्डहरू भरिँदै गएको अवस्थामा विशेष व्यवस्था गर्नुपर्ने तर त्यसको समाधान भने लकडाउन नै हो भन्ने नरहेको बताउने गरेका छन्। अब राष्ट्रव्यापी रूपमा लकडाउन नहुने पनि बताउने गरिएको छ।

    उपत्यका का तीन जिल्लाका अधिकारीहरू हाल पर्ख र हेरको अवस्थामा देखिन्छन्। साप्ताहिक रूपमा दुई देखि तीन दिनसम्म काठमाण्डू, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक भइरहेको भए पनि निषेधाज्ञाका विषयमा भने छलफल केन्द्रित नभएको उनीहरू बताउँछन्।

    “हामीले पछिल्लो अवस्थाको समीक्षा गरिरहेका छौँ। विज्ञहरूसँग पनि परामर्श गरिरहेका छौँ,” जिल्ला प्रशासन कार्यालय काठमाण्डूका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने।

    “अत्यावश्यक सेवा मात्रै सञ्चालनमा राखेर अरू सेवा स्थगन गर्ने हो कि भन्ने सोचमा छौँ। लकडाउन नै गर्ने नगर्ने चाहिँ कुरा भएको छैन। क्षेत्रगत रूपमा लकडाउन पनि गर्न सकिन्छ। त्यो भनेको कुनै वडा वा टोलको अवस्था हेरेर प्रतिबन्धात्मक व्यवस्था कायम गर्ने हो।”

    जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले पनि सरोकारवालाहरूसँग परामर्श भइरहेको र अबको केही दिनमा यस विषयमा स्पष्ट पार्न सकिने अवस्था हुने जानकारी दिए।

    चाडबाडका बेला सुरक्षा लगायतका अन्य विभिन्न विषयबारे प्रबन्ध गर्नुपर्ने हुँदा आफूहरू निरन्तर सम्पर्कमा रहेको जिल्ला प्रशासन कार्यालय भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन्। “यस्तै अवस्था रहे हालको योजना समीक्षा गर्नुपर्ने हुन्छ। हामीले अवस्थाबारे जानकारी सम्बन्धित निकायहरूलाई गराइरहेका छौँ,” उनले भनिन्।

    लकडाउन जस्तो संवेदनशील विषयमा निर्णय गर्नका लागि माथिल्ला निकायको निर्देशन आवश्यक हुने र हालसम्म त्यस विषयमा कुनै पनि किसिमको सङ्केत प्राप्त नभएको तीनै जिल्लाका प्रमुख अधिकारीहरूका प्रमुखहरूको भाव देखिन्छ।

    सङ्क्रमणको दर बढ्ने क्रम तीव्र रहेको अवस्थामा सर्वसाधारणहरू आफै सचेत हुनुपर्ने उनीहरू बताउँछन्। सरकारले जारी गरेका मापदण्ड पालना गरेर अघि बढ्नुपर्ने अवस्था झन् बढ्दै गएका बेला सर्वसाधारणहरूकै भूमिका प्रमुख हुने पाण्डे बताउँछिन्।

    तर के लकडाउन नै हालको समस्याको समाधान हो त?

    नेपालमा सङ्क्रमितहरूको सङ्ख्या एक लाख नाघिसकेको अवस्थामा बीबीसीसँगको कुराकानीका क्रममा जनस्वास्थ्यविद् डा. शरद वन्त भन्छन्, ” जनघनत्व बढी भएका स्थानमा सङ्क्रमण बढेको छ र त्यस्ता ठाउँमा सङ्क्रमण समुदायमा स्थापित भइसकेको पाइन्छ। हामीसँग रोक्न सक्ने विधिको प्रभावकारी कार्यान्वयन भयो भने यही अवस्थामा सङ्क्रमण कम गराउन सक्छौँ।” “लकडाउन मात्रैले सङ्क्रमण रोकिने भए अहिले यसरी फैलिने नै थिएन। यसको सबैभन्दा बढी जिम्मेवार नागरिकहरूमा छ।”

    के भन्छ स्वास्थ्य मन्त्रालय?

    स्वास्थ्य मन्त्रालयले पछिल्लो अवस्थाको मध्यनजर गर्दै उपत्यकाका तीन जिल्लामा लकडाउन गर्नुपर्ने ‘ब्रिफिङ गरेको’ भन्ने किसिमका विवरणहरू सार्वजनिक भए पनि प्रवक्ता जागेश्वर गौतमले भने त्यसको खण्डन गरेका छन्। अस्पतालहरूमा शय्या व्यवस्थापन गर्न सकिने अवस्था भएसम्म लकडाउन गर्नु नपर्ने आफूहरूको धारणा रहेको अधिकारीहरू बताउँछन्।

    त्यसको अर्थ कोभिड-१९ का बिरामीहरूले हाल अस्पतालमा सहज रूपमा बेड पाउन सकिने अवस्था छ त? गौतम भन्छन्, “अब हामी आइसोलेशन सेन्टरलाई पनि अस्पताल बेडका रूपमा परिणत गर्ने छौँ। अक्सीजन दिन सकिने पूर्वाधार भएका आइसोलेशन सेन्टरलाई त्यही अनुसार प्रयोगमा ल्याउने छौ।” चाडबाडको मुखमा कस्तो व्यवस्था हुनुपर्छ भन्ने विषयमा मन्त्रालयले यो हप्ता भित्रै निर्क्योल गर्ने उनले जानकारी दिए। बीबीसी

    कोरोना भाइरस नेपालः अनुशासनमा नबस्नु ‘सङ्क्रमणको आगोमा घ्यू थपे जस्तो’, के महामारी भयावह स्थितिमा पुगिसकेको हो?

    जनस्वास्थ्यविद्‌ तथा सङ्क्रामक रोग विशेषज्ञले नेपालमा कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका थप प्रभावकारी कदम नचालिए स्थिति “झन् डरलाग्दो” अवस्थामा पुग्न सक्ने चेतावनी दिएका छन्। केही समययता दैनिक पीसीआर परीक्षण गर्ने गरिएका व्यक्तिमध्ये १८ देखि २० प्रतिशतको हाराहारीमा सङ्क्रमण देखिनु जनस्वास्थ्यका लागि “सुखद सङ्केत नभएको” उनीहरू बताउँछन्।

    गत माघ ९ गते चीनबाट फर्किएका एक व्यक्तिमा पहिलो पटक नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो। त्यसको २६० दिनपछि अर्थात् झन्डै साढे आठ महिनामा सङ्क्रमितको कुल सङ्ख्या एक लाख नाघेको छ।

    भदौ २५ गते सङ्क्रमितको कुल सङ्ख्या ५०,४६५ थियो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले एक महिनाभित्र नै सङ्क्रमितको सङ्ख्या दोबर हुने क्रम देखाउँछ। नेपाल अतिप्रभावित देशमध्ये शीर्ष ५० भित्र परेको जोन्स हप्किन्स यूनिभर्सिटीले सङ्कलन गरेको तथ्याङ्कले देखाउँछ। कुल सङ्ख्यामा नेपालले चीनलाई यसअघि नै उछिनिसकेको छ।

    बिहीवार सङ्क्रमितको सङ्ख्यामा अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि भयो। थपिएका ४,३६३ सङ्क्रमितमध्ये साढे दुई हजारभन्दा बढी काठमाडाैं उपत्यकाका थिए। वाग्मती प्रदेशमा सक्रिय सङ्क्रमितको कुल सङ्ख्या अन्यत्रको भन्दा बढी छ। तीमध्ये अधिकांश काठमाडाैं उपत्यकाका हुन्।

    सरकारले अब के गर्नुपर्छ?
    सङ्क्रमण रोकथाम र नियन्त्रणका उपाय एकसाथ अझ प्रभावकारी ढङ्गले अगाडि बढाउनुको विकल्प नभएकोमा विज्ञहरू एकमत छन्। जनस्वास्थ्यविद्‌ डा. वन्तका अनुसार अब सङ्क्रमणको विस्तार रोक्नु र सङ्क्रमितको व्यवस्थापन महत्त्वपूर्ण हुन्छ।

    “एकातिर धेरैभन्दा धेरै कन्ट्याक्ट ट्रेसिङ गरी परीक्षण गर्नुपर्छ भने अर्कोतिर सङ्क्रमितहरूको उचित व्यवस्थापन गर्नुपर्छ। त्यो भनेको उनीहरूको स्वास्थ्यमा जटिलता नआओस् र उनीहरूले आवश्यक उपचार पाऊन्।” नेपालमा कन्ट्याक्ट ट्रेसिङ र पीसीआर परीक्षण दुवै पर्याप्त नभएको डा. सुवेदीको निष्कर्ष छ।

    “कतिपय देशमा एकजना सङ्क्रमित बराबर २५ जनासम्मको कन्ट्याक्ट ट्रेसिङ गर्ने गरिएकोमा हामीकहाँ त्यो सङ्ख्या जम्मा दुई रहेको छ। पछिल्लो समय निजी प्रयोगशालामा मान्छेहरू आफैँले परीक्षण गराउन थालेर पनि सङ्क्रमितहरू बढी देखिन थालेका हुन्।” “पछिल्लो वृद्धिबाट के देखिन्छ भने हामी जति बढी परीक्षण गर्छौँ त्यति बढी सङ्क्रमित थपिन्छन्,” उनले थपे।

    के नेपालमा कोरोनाभाइरस महामारी भयावह स्थितिमा पुगिसकेको हो त? जनस्वास्थ्यविद्‌ डा. वन्त र सङ्क्रामक रोग विशेषज्ञ डा. सुवेदी दुवै जना अहिले चिन्ता गर्नुपर्ने अवस्था आइसकेको बताउँछन्। केही दिनअघि स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नै एकदमै गाह्रो अवस्था भए मात्रै अस्पताल आउन अनुरोध गरेका थिए।

    उनको यो भनाइले पनि स्थिति गम्भीर हुँदै गएको सङ्केत गरेको विज्ञहरूको निष्कर्ष छ। यो अवस्थामा नागरिकहरू आफू पनि उत्तिकै सजग र जिम्मेवार हुनुपर्ने उनीहरू बताउँछन्। “सरकार आफैँ आई दूरी नापेर यहाँ उभिनूस् भनेर भन्न सक्दैन, सरकार आफैँ आएर मास्क लगाइदिँदैन। यी कुरा हामी आफैँले गर्नुपर्‍यो,” वन्तको सुझाव छ।

    सर्जिकल मास्क र कपडाको भए फरक खालका दुईथरी कपडा प्रयोग गरिएको दुईपत्रे मास्क लगाउँदा उपयुक्त हुने डा. सुवेदी बताउँछन्। “भल्ब भएको मास्क प्रयोग गर्नुभएन। यदि कसैले प्रयोग गर्नुहुन्छ भने त्यो सँगसँगै अर्को मास्क पनि प्रयोग गर्नुपर्ने हुन्छ,” उनले थपे।

    त्यसबाहेक सामाजिक दूरी कायम गर्ने, बेलाबेला साबुनपानीले हात धुने अथवा स्यानिटाइजर प्रयोग गर्ने लगायत जनस्वास्थ्यसम्बन्धी मापदण्डहरूको कडाइका साथ पालना गर्नुपर्नेमा जनस्वास्थ्यविद्‌हरूको जोड छ। बीबीसी

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ