• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    जीवनशैली स्वास्थ्य

    कोरोना संक्रमण भए खोकी र ज्वरो भन्दा पहिले देखा पर्न सक्छन् यी लक्षण

    2.1K
    SHARES

    काठमाडौँ । सुरुको अबस्थामा श्वासप्रश्वासमा असर गर्ने खालको सबै लक्षणहरू देखा पर्ने भएकोले कोभिड १९ लाई सुरुवातमा निमोनियाजस्तो रोगको रूपमा हेरिएको थियो । तर, कोभिडको विषयमा विभिन्न अध्ययनहरू हुँदै जाँदा यसले टाउकोदेखि पैतालासम्म सम्पूर्ण शरीरलाई असर गर्न सक्ने देखिएको हो ।

    अध्यनानुसर विभिन्न उमेर समूह, जाति र स्वास्थ्य अवस्थाका मानिसहरूमा भाइरस पूर्णरूपमा विचित्र तरिकाले प्रकट भइरहेको प्रष्ट देखिन्छ । कोरोना भाइरसको संक्रमण घाँटीमा खसखस, ज्वरो, खोकी र थकानबाट सुरु हुन सक्छ । तर, सबै मानिसहरूमा यस्तो हुन्छ भन्ने हुँदैन ।

    अधिक व्यक्तिहरूले संक्रमण पुष्टि हुनअगाडी ज्वरो र खोकीभन्दा पनि टाउको दुख्ने, गन्ध वा स्वाद हराउनेसहितका लक्षण देखिदै आएका रिपोर्टहरु आउँ थालेका छन्। यी लक्षणहरूले कोभिड श्वासप्रश्वासको रोग मात्र नभई यसले बिरामीहरूमा सम्पूर्ण स्नायु प्रणालीमा आक्रमण गर्ने देखाएको छ ।

    न्युरोलोजीको अन्नाल्समा प्रकाशित एक अध्ययनअनुसार सुख्खा खोकी, घाँटी खसखस वा ज्वरोबाहेक टाउको दुख्ने, रिँगटा लाग्ने, स्ट्रोक र सतर्कतामा कमीसहित न्यूरोलजिकल लक्षणहरू देखिएको बिरामीहरूको संख्या बढी छ । यसका साथै बिरामीहरूले गन्ध र स्वादको क्षति, ध्यान केन्द्रित गर्नमा कठिनाइ र मुर्छा पर्नुलगायतका अन्य न्यूरोलजिकल लक्षणहरू देखा परेको अध्ययनका अन्वेषकहरूले बताएका छन् ।

    कोभिडको बताइएका लक्षणहरू देखा पर्नुभन्दा पहिले देखिने न्यूरोलजिकल लक्षणहरूको बारेमा बुझ्न अन्वेषकहरूले उत्तर पश्चिमी मेडिसिनका १९ कोरोना भाइरस बिरामीहरूको विश्लेषण गरेका थिए । नर्थवेस्टर्न युनिवर्सिटी फेनबर्ग स्कूल अफ मेडिसिनका न्यूरोलोजी प्राध्यापक तथा अध्ययनका प्रमुख लेखक इगोर कोरलनिकका अनुसार ज्वरो, खोकी वा श्वासप्रश्वास समस्या भन्दा पनि कोभिड संक्रमण सुरुमा न्यूरोलजिकल लक्षणहरूको देखा पर्न सक्छन् ।

    कोरोना भाइरस: किन केही मानिसहरू लामो समयसम्म सङ्क्रमणबाट मुक्त भइरहेका छैनन्?

    धेरैका लागि कोभिड- १९ हल्का लक्षणहरू भएको सामान्य रोग भए पनि केहीका लागि यो थकाइ, कडा दुखाइ र सास फेर्न गाह्रो हुने लक्षणसहित महिनौँ लम्बिने रोग बनेको छ। “दीर्घ कोभिड” भनेर चिनिने यस्तो अवस्थाले मानिसको जीवनमा प्रभाव पारिरहेको छ र अलिकति हिँडेपछि थकान हुने कुरा अब सामान्य बनिसकेको छ।

    हालसम्म महामारीका बेला जीवन बचाउने कुरामा मात्र ध्यान केन्द्रित रहेको छ तर अब कोभिड-१९ का दीर्घकालीन प्रभावहरूको पहिचान हुन थालेको छ। त्यति मात्र होइन- किन केही मानिसहरू दीर्घकालीन कोभिडबाट पीडित छन् अथवा के कुनै बेला ती सबै भाइरसमुक्त हुन्छन्? भन्ने आधारभूत प्रश्नहरू अनिश्चितताले घेरिएका छन्।

    दीर्घ-कोभिड के हो?

    यसको कुनै चिकित्सकीय परिभाषा छैन र लक्षणहरूको सूची छैन। दीर्घ-कोभिड भएका दुई व्यक्तिले नै फरकखाले अनुभव गर्नसक्छन्। यद्यपि आम लक्षण भनेको थकान हो। अन्य लक्षणहरूमा सास फेर्न गाह्रो हुने, सुक्खा खोकी लाग्ने, जोर्नी र मांसपेशी दुख्ने, सुन्न र देख्न समस्या हुने, टाउको दुख्ने, सुँघने र स्वाद क्षमतामा कमी आउने, मुटु, फोक्सो, मिर्गौला र पेटमा समस्या आउनेलगायत छन्।

    त्यस्तै मानसिक स्वास्थ्य समस्याहरूमा डिप्रेसन, चिन्ता र स्पष्ट रूपमा सोच्न नसक्नेजस्ता रहेका छन्। यसले मानिसको जीवनस्तरलाई पूर्णरूपमा नष्ट गर्नसक्छ। दीर्घ-कोभिडबाट पीडित जेड ग्रे क्रिस्टी भन्छिन्, “मेरो थकावट यस्तो थियो कि जुन मैले पहिले कहिल्यै पनि अनुभव गरेकी थिइनँ।”

    दीर्घ-कोभिडका कारण मानिसहरूले सघन उपचारमा रहेर निको हुन समय मात्र लगाइरहेका छैनन्। सामान्यखाले लक्षण भएका मानिसहरूले समेत लामो समयसम्म देखिने र कडा खाले स्वास्थ्य समस्याहरूको पनि सामना गरिरहेका छन्।

    युनिभर्सिटी अफ एक्सेटरका प्राध्यापक डेभिड स्ट्रेन भन्छन्, “हामीलाई लामो समयसम्म रहने कोभिड छ भन्नेमा कुनै सन्देह छैन।” उनले दीर्घ-कोभिडका बिरामीहरूलाई आफ्नो क्रोनिक फटिग सिन्ड्रोम क्लिनिकमा हेरिसकेको बीबीसीलाई बताए।

    कति मानिसहरूले यस्तो कोभिडको सामना गरिरहेका छन्?

    जर्नल अफ अमेरिकन मेडिकल एसोसिएसनमा प्रकाशित एउटा अनुसन्धानपत्र अनुसार अध्येताहरूले रोमको सबैभन्दा ठूलो अस्पतालका १४३ जना कोभिडका बिरामीहरूको पछिल्लो अवस्थाबारे जानकारी लिएका थिए।

    त्यसमध्ये ८७ प्रतिशतमा कम्तीमा करिब दुई महिनासम्म एकखाले लक्षण पाइएको थियो भने आधाभन्दा बढीले त्यसबेलासम्म थकानको महसुस गरिरहेका थिए। यद्यपि त्यस्तोखाले अध्ययनहरू अस्पतालमा भर्ना भएर उपचार गराएका थोरै मात्र बिरामीहरूलाई समेटेर गरिएका छन्।

    यूकेमा ४० लाख मानिसहरूले प्रयोग गर्ने ‘कोभिड सिम्प्टम ट्र्याकर एप’ले ३० दिनपछि पनि २१ प्रतिशत मानिसहरूमा लक्षणहरू देखिएको पाएको छ। हालसम्म प्रकाशित नभएको उसको विवरणले ५० जनामा १ जना अर्थात् दुई प्रतिशत मानिसहरूमा ९० दिनसम्म पनि दीर्घ-कोभिडको लक्षण देखाएको छ।

    के कडाखालको कोभिड भएमा मात्र दीर्घ-कोभिड हुन्छ?

    यस्तो हुने देखिँदैन। डब्लिनमा गरिएको एउटा अध्ययन अनुसार आधा मानिसहरूमा कोरोनाभाइरस सङ्क्रमण भएको १० सातासम्म थकान कायम थियो। अनि एक तिहाइ मानिसहरू काममा फर्किन असफल भएका थिए। चिकित्सकहरूले कडाखाले कोभिड र थकानबीच कुनै सम्बन्ध पाउन सकेनन्। यद्यपि कडा खाले थकान मात्र दीर्घ-कोभिडको लक्षण हो।

    मानिसहरूमा कोभिड कसरी ठीक भइरहेको छ भनेर अध्ययन गर्ने युनिभर्सिटी अफ ल्यास्टरस्थित पीएओएसपी-कोभिड कार्यक्रमका प्रमुख अनुसन्धानकर्ता क्रिस ब्राइट्लिङ्ग के विश्वास गर्छन् भने निमोनिया विकास भएका मानिसहरूमा फोक्सोमा हुने क्षतिका कारण धेरै समस्या देखापर्न सक्छन्।

    भाइरसले दीर्घ-कोभिड कसरी उत्पन्न गर्छ?

    यसबारे धेरैखाले विचारहरू छन् तर एउटा निश्चित जवाफ छैन। कोरोनाभाइरस शरीरका अधिकांश भागबाट निख्रिन सक्छ तर केही साना निश्चित अङ्गहरूमा रहिरहन सक्छ।

    किङ्ग्स कलेज लण्डनका प्राध्यापक टिम स्पेक्टर भन्छन्, “यदि लामो समयसम्म रहने झाडापखाला छ भने पेटमा भाइरस पाइन्छ, यदि सुँघने शक्ति कमजोर भइरह्यो भने नसामा भाइरस हुनसक्छ त्यसैले के हुन्छ भन्ने आधारमा भाइरस कहाँ छ भन्ने थाहा हुनसक्छ।”

    कोरोनाभाइरसले शरीरका विभिन्न किसिमका कोषहरूलाई एकैसाथ सङ्क्रमण गर्छ र त्यसको प्रतिरोध गर्नलाई प्रतिरक्षा प्रणाली एकैसाथ उच्च तवरले सक्रिय हुन्छ। त्यसले पनि शरीरभरि असर पुर्‍याउन सक्छ।

    अर्को विचार अनुसार कोभिड भएपछि शरीरको प्रतिरक्षा प्रणाली पहिलेकै जस्तो अवस्थामा फर्किदैन जसका कारण स्वास्थ्य समस्याहरू देखिन्छन्। मानिसका अङ्गहरूले कसरी काम गर्छन् भन्ने आधारमा सङ्क्रमण बदलिन पनि सक्छ।

    फोक्सोमा रहेका भाइरस यदि क्षतविक्षत भए भने त्यसले पनि लामो समयसम्म समस्या निम्त्याउन सक्छ। फरकखाले कोरोनाभाइरसकै कारण लाग्ने सार्स र मर्स रोगमा यस्तो देखिएको छ। कोभिडले मानिसको ‘मेटाबोलिज्म’लाई पनि परिवर्तन गर्नसक्छ।

    कोभिड लागेपछि विकास भएको चिनीरोगका कारण बढेको चिनीको मात्र नियन्त्रण गर्न मानिसहरूले सङ्घर्ष गरेका घटनाहरू पनि छन्। त्यस्तै सार्स लागेपछि १२ वर्षसम्म बोसो बनाउने प्रक्रियामा परिवर्तन आएका उदाहरण पनि छन्। मस्तिष्कको संरचनामा परिवर्तन भएका प्रारम्भिक सङ्केतहरू पनि देखिएका छन् र त्यसबारे अझै अनुसन्धान जारी छ।

    कोभिड-१९ ले रगतमा अझ अनौठा कुराहरू गर्छ। जस्तो कि अस्वभाविक घेराहरू बनाउने र शरीरभरि रक्तसञ्चार गर्ने नलीहरूलाई क्षति पुर्‍याउने। प्राध्यापक स्ट्रेनले बीबीसीलाई भने, “तन्तुहरूमा अक्सिजन र पोषण पुर्‍याउने वयस्क नभइसकेका रक्तवाहकसम्बन्धी एउटा सिद्धान्तमा काम गरिरहेको छु।” तर लामो समयसम्म रहने कोभिडको कारण के हो भन्ने पत्ता नलागुन्जेल उपचार कसरी गर्ने भन्न पनि कठिन हुने उनी बताउँछन्।

    के यो अस्वभाविक हो?

    भाइरसको सङ्क्रमणपछि थकाइ वा खोकी लाग्ने कुरा अस्वभाविक होइन। हामीले पनि कैयौँ पटक यस्ता सङ्क्रमणपछि त्यसबाट निको हुन लामो समय लागेको भोगेका हुनसक्छौँ। ग्रन्थीज्वरोपश्चत् करिब १० प्रतिशत मानिसहरूमा एक महिनासम्म थकान महसुस हुन्छ।

    अझ सन् १९१८ को जस्तो रुघाखोकीपश्चात् मानिसहरूमा पार्किन्सन भएका व्यक्तिमा देखिने जस्ता लक्षणहरू देखापरेको कुराहरू पनि आएका छन्। कोभिडका कारण अझ बढी त्यस्ता दुरगामी लक्षणहरू देखा परेको र धेरै मानिसमा त्यस्तो देखिएको हुनसक्ने प्राध्यापक ब्राइट्लिङ्ग बताउँछन्।

    के मानिसहरू पूर्ण रूपमा निको हुन्छन्?

    समयसँगै दीर्घ-कोभिड लागेका मानिसहरूको सङ्ख्यामा कमी आएको देखिन्छ। यद्यपि गत वर्ष मात्र यो भाइरस देखा परेको र यसै वर्षको सुरुमा विश्वव्यापी भएकाले यसबारे लामो समयको विवरण उपलब्ध छैन।

    प्राध्यापक ब्राइट्लिङ्गले सङ्क्रमण भएका २५ वर्षका मानिसहरूको अवस्थाबारे जानकारी लिन आफूहरूलाई भनिएको बताए। उनले आफूलाई उनीहरूमा बढिमा एक वर्षसम्म दीर्घ-कोभिड हुनसक्ने र त्यसभन्दा पर नजाला भन्ने लागेको तर आफू गलत पनि हुनसक्ने बताए।

    यद्यपि हाल सङ्क्रमणमुक्त भएकाहरूले पनि जीवनभरि जोखिमको सामना गर्नुपर्ने हो कि भन्ने चिन्ताहरू देखापरेका छन्। जसलाई अत्यधिक थकान महसुस हुन्छ उनीहरूलाई पुन: त्यस्तो हुने र भविष्यको सङ्क्रमण प्रबल हुनसक्छ।

    भविष्यमा थप समस्याहरू पनि निम्तिन सक्ने सम्भावना हुन्छ। विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसका कारण शरीरमा पर्ने असर व्यापक भएकोले निकै कम उमेरमै मुटुसम्बन्धी समस्याहरू हुनसक्ने भन्दै चेतावनी दिएको छ।

    कोरोना भाइरस नेपालः अनुशासनमा नबस्नु ‘सङ्क्रमणको आगोमा घ्यू थपे जस्तो’, के महामारी भयावह स्थितिमा पुगिसकेको हो?

    जनस्वास्थ्यविद्‌ तथा सङ्क्रामक रोग विशेषज्ञले नेपालमा कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका थप प्रभावकारी कदम नचालिए स्थिति “झन् डरलाग्दो” अवस्थामा पुग्न सक्ने चेतावनी दिएका छन्।

    केही समययता दैनिक पीसीआर परीक्षण गर्ने गरिएका व्यक्तिमध्ये १८ देखि २० प्रतिशतको हाराहारीमा सङ्क्रमण देखिनु जनस्वास्थ्यका लागि “सुखद सङ्केत नभएको” उनीहरू बताउँछन्। गत माघ ९ गते चीनबाट फर्किएका एक व्यक्तिमा पहिलो पटक नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।

    त्यसको २६० दिनपछि अर्थात् झन्डै साढे आठ महिनामा सङ्क्रमितको कुल सङ्ख्या एक लाख नाघेको छ। भदौ २५ गते सङ्क्रमितको कुल सङ्ख्या ५०,४६५ थियो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले एक महिनाभित्र नै सङ्क्रमितको सङ्ख्या दोबर हुने क्रम देखाउँछ।

    नेपाल अतिप्रभावित देशमध्ये शीर्ष ५० भित्र परेको जोन्स हप्किन्स यूनिभर्सिटीले सङ्कलन गरेको तथ्याङ्कले देखाउँछ। कुल सङ्ख्यामा नेपालले चीनलाई यसअघि नै उछिनिसकेको छ।

    बिहीवार सङ्क्रमितको सङ्ख्यामा अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि भयो। थपिएका ४,३६३ सङ्क्रमितमध्ये साढे दुई हजारभन्दा बढी काठमाण्डू उपत्यकाका थिए। वाग्मती प्रदेशमा सक्रिय सङ्क्रमितको कुल सङ्ख्या अन्यत्रको भन्दा बढी छ। तीमध्ये अधिकांश काठमाण्डू उपत्यकाका हुन्।

    यो स्थिति कसरी आयो?
    शुक्रवार अपराह्णसम्म विभिन्न जिल्लामा २७,०५३ जनामा सक्रिय सङ्क्रमण छ। तीमध्ये १६,०३९ जना अर्थात् ५९ प्रतिशत काठमाण्डू उपत्यकामा छन्।

    केही दिनयता उल्लेख्य सङ्ख्यामा सङ्क्रमितहरू बढिरहँदा कतिपय विज्ञहरू रोकथाम र नियन्त्रणका सरकारी कदमलाई हेर्दा अहिलेको स्थिति “अनपेक्षित नभएको” बताउँछन्।

    सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले बीबीसी न्यूज नेपालीसित भने, “पानी धेरै उम्लिएर भाँडाबाट पोखिएको जस्तै अहिलेको अवस्था हो, यो स्वाभाविक नै थियो।”

    असार महिनाको बीचतिर सङ्क्रमणको दर घटेको नभई सरकारले पीसीआर परीक्षण नै कम गरेका कारण त्यति बेला सङ्क्रमितहरूको सङ्ख्या कम देखिएको उनको तर्क छ। विगतमा भएको कमजोरीका कारण अहिलेको अवस्था आएकोमा जनस्वास्थ्यविद्‌ डा. शरदराज वन्त पनि सहमत देखिन्छन्।

    “सङ्क्रमणको गति रोक्ने हामीसँग पर्याप्त अवसर थियो। लकडाउनकै बेला हामीले व्यापक रूपमा परीक्षण, सङ्क्रमितको उचित व्यवस्थापन र कन्ट्याक्ट ट्रेसिङ गरेको भए अहिलेको जस्तो अवस्था पक्कै आउने थिएन,” बीबीसी न्यूज नेपालीसित कुराकानी गर्दै उनले भने।

    तर त्यसपछि पर्याप्त तयारीबिनै लकडाउन हटाउँदा पनि सङ्क्रमण तीव्र गतिमा फैलिन पुगेको डा. वन्तको ठम्याइ छ। उनका अनुसार लकडाउन हट्नासाथ जोखिमबाट मुक्त भयौँ भन्ने हिसाबले सर्वसाधारण नागरिकले पनि जनस्वास्थ्यसम्बन्धी मापदण्डहरूको खासै पालना नगरेको देखियो।

    अनुशासनमा नबस्नु सङ्क्रमणको ‘आगोमा घ्यू थपे’ जस्तो भएको उनको भनाइ छ। डा. सुवेदीको यस विषयमा समान धारणा छ। “मानिसहरूले अनावश्यक भिडभाड गर्ने गरेको, मास्क नलगाउने र सामाजिक दूरी कायम नगरेको अझै पनि देखिन्छ,” उनले भने।

    सरकारले अब के गर्नुपर्छ?
    सङ्क्रमण रोकथाम र नियन्त्रणका उपाय एकसाथ अझ प्रभावकारी ढङ्गले अगाडि बढाउनुको विकल्प नभएकोमा विज्ञहरू एकमत छन्। जनस्वास्थ्यविद्‌ डा. वन्तका अनुसार अब सङ्क्रमणको विस्तार रोक्नु र सङ्क्रमितको व्यवस्थापन महत्त्वपूर्ण हुन्छ।

    “एकातिर धेरैभन्दा धेरै कन्ट्याक्ट ट्रेसिङ गरी परीक्षण गर्नुपर्छ भने अर्कोतिर सङ्क्रमितहरूको उचित व्यवस्थापन गर्नुपर्छ। त्यो भनेको उनीहरूको स्वास्थ्यमा जटिलता नआओस् र उनीहरूले आवश्यक उपचार पाऊन्।” नेपालमा कन्ट्याक्ट ट्रेसिङ र पीसीआर परीक्षण दुवै पर्याप्त नभएको डा. सुवेदीको निष्कर्ष छ।

    “कतिपय देशमा एकजना सङ्क्रमित बराबर २५ जनासम्मको कन्ट्याक्ट ट्रेसिङ गर्ने गरिएकोमा हामीकहाँ त्यो सङ्ख्या जम्मा दुई रहेको छ। पछिल्लो समय निजी प्रयोगशालामा मान्छेहरू आफैँले परीक्षण गराउन थालेर पनि सङ्क्रमितहरू बढी देखिन थालेका हुन्।” “पछिल्लो वृद्धिबाट के देखिन्छ भने हामी जति बढी परीक्षण गर्छौँ त्यति बढी सङ्क्रमित थपिन्छन्,” उनले थपे। बीबीसी

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ