• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    फेरी लागु हुने भयो यस्तो नयाँ नियम, कहिलेदेखि हुन्छ सुरु ?

    793
    SHARES

    काठमाडौँ । प्रहरी प्रधान कार्यालयले कोभिड–१९ लाई केन्द्रविन्दुमा राखेर चाडबाड विशेष सुरक्षा योजना बनाई लागू गर्न उपत्यका, प्रदेश र मातहतका जिल्ला प्रहरीलाई निर्देशन दिएको छ ।

    प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दिएको निर्देशनअनुसार अहिले ७७ जिल्लाका प्रहरी कार्यालय विशेष सुरक्षा योजना निर्माणमा जुटेका छन् । प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतका अनुसार कतिपय जिल्लाले सुरक्षा योजना तयार पारिसकेको र कतिपय जिल्लाले अन्तिम तयारीमा जुटेको जानकारी दिए । केही दिन भित्रैमा औपचारिक रुपमा चाडबाड केन्द्रित सुरक्षा योजना लागु हुने उनले जानकारी दिए ।

    “प्रहरीको सुरक्षा योजना सधैँ नै हुन्छ, तर चाडबाडका बेला अझै गस्ती बढाउने, सुरक्षा चौकी थप्ने र नाकामा विशेष ध्यान दिनुपर्ने आवश्यकता रहन्छ”, उनले भने, “यसपालि कोभिड–१९ को सङ्क्रमणसमेत रहेकाले त्यसलाई ख्याल गरेर सुरक्षा रणनीति बनाउनुपर्ने छ, मातहतका प्रहरी कार्यालय त्यसैमा जुटिरहेको छ ।”

    केही अघि प्रहरी महानिरीक्षक क्षेत्रीबाट प्रदेश प्रमुख तथा महानगरीय प्रहरी कर्यालय प्रमुखलाई भर्चुअल बैठकमार्फत आवश्यक रणनीति बनाउन निर्देशन भइसकेको र सोहीअनुसार जिल्लालाई समेत वस्तुस्थितिअनुसार योजना बनाउन निर्देशन गइसकेको उनले जानकारी दिए ।

    यसपालि ७७ जिल्लामा कोभिड–१९बाट आफू पनि बच्ने र नागरिकलाई समेत बचाउने गरी रणनीति तयार पार्न लागिएको जनाइएको छ । प्रहरीका अनुसार यसपालि सुरक्षा योजनाअनुसार सम्भावित जोखिम क्षेत्रलाई निगरानीमा राखिने छ ।

    सादा पोशाकमा प्रहरी परिचालन गरी हरेक क्षेत्रमा परिचालन गरिने छ । मोबाइल गस्ती बढाइने तथा सुरक्षा चौकी थप गरेर शान्ति सुरक्षालाई चुस्त पारिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । कोभिड–१९ सङ्क्रमण रोक्ने योजनासमेत बन्नेछ ।

    उपत्यकामा संयुक्त सुरक्षा योजना लागू गर्ने तयारी

    काठमाडौँ उपत्यकाको तीन जिल्लाले सुरक्षा योजना बनाए पनि त्यसलाई एकीकृत गरेर संयुक्त सुरक्षा योजना बनाउने तयारी गरिएको छ । उपत्यका प्रहरीको नेतृत्व गर्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार तीनै जिल्लाका प्रमुखलाई योजना बनाएर पेश गर्न निर्देशन दिइसकिएको छ ।

    महानगरीय प्रहरी परिसर काठमाडौँले भने सुरक्षा योजना पेश गरिसकेको छ । अन्य जिल्लाबाट समेत आउने क्रममा छ । महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले तीनै जिल्लालाई सुरक्षा योजना बनाए पेश गर्न भनिएको जानकारी दिए ।

    “छलफल गरेर एक/दुई दिनमै योजना लागू गर्ने तयारी छ,’ पोखरेलले भने, “चाडपर्वमा कुनै पनि अप्रिय घटना हुन नदिन प्रहरी परिचालन गर्ने, शान्ति सुरक्षा मजबुद गराउने, कोभिड–१९ को सङ्क्रमण फैलन नदिने गरी योजना बन्ने छ ।”

    उनले प्रहरीको व्यवहार र इमान्दारितामा नचुक्ने गरी रणनीति तयार गर्न निर्देशन दिइएको जानकारी दिए । लोभलाभमा नपरी काम गर्न र प्रहरीको व्यवहारबाट नागरिकको आत्मसम्मानमा चोट नपुगोस् भन्ने ढङ्गले अघि बढ्न उपत्यकाका प्रहरी सचेत गराइएको छ ।

    मुख्यगरी नेपाल प्रहरी यसपालि चाडका बेला अप्रिय घटना रोक्न, लोभलाभमुक्त सेवा प्रवाह गर्न, व्यवहारमा नचुक्न र कोभिडबाट सुरक्षित भई अरुलाई पनि सुरक्षित राख्नमा नै केन्द्रित हुने पोखरेलले बताए । उनले यसपालि दशैँको समयमा प्रहरी कर्मचारी घरमा जानसक्ने अवस्था नरहेकाले तल्लो दर्जाका प्रहरी कर्मचारीका लागि खानपानमा समेत विशेष व्यवस्था गर्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिइएको बताए ।

    महानगरीय प्रहरी परिसर काठमाडौँले सुरक्षा योजना तयार पारिसकेको छ । जिल्लामा लागू गरिए पनि संयुक्त सुरक्षा योजना लागू गर्न बाँकी रहेको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए ।

    उनका अनुसार यसपालि विगतको सुरक्षा योजनामा थप गर्दै कुकुरसमेत परिचालन गर्न थालिएको छ । आवश्यकतानुसार ड्रोनको समेत प्रयोग गर्न लागिएको छ । सवारीका यात्रु ओर्लने/उक्लने क्षेत्रमा नियमित जाँच थालिएको छ ।

    आवश्यकतानुसार सादा पोशाकमा प्रहरी परिचालन हुनेछ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले समेत चाडबाड केन्द्रित सुरक्षालाई ध्यानमा दिँदै निगरानी बढाएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए । सोही अभियानअन्तर्गत बढी भाडा लिने गरी टिकट काट्ने यातायात काउन्टरका कर्मचारीलाई नियन्त्रणमा लिएर कारवाही थालिएको छ ।

    यसैबीच यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन साङ्केतिकरूपमा मात्र आयोजना गरिने भएको छ । नेपाली सेनाले सैनिक मञ्च टु्ँडिखेलामा भव्य समारोहको आयोजना गरी फूलपाती बढाइँ हरेक वर्ष हर्षोल्लासका साथ मनाउँदै आएको छ ।

    कोभिड–१९ को सङ्क्रमणबाट सिर्जित परिस्थितिका कारण हर्षोल्लासका साथ नभई धर्म, संस्कृति र परम्परालाई जीवन्तता दिन प्रतीकात्मकरूपमा मात्र बढाइँ गरिने सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए । यस वर्ष फूलपाती अगामी कात्तिक ७ गते शुक्रबार परेको छ ।

    उनले भने, “स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी हाम्रा मौलिक चाडबाडलाई निरन्तरता दिने उद्देश्यले पहिलाको तुलनामा साङ्केतिकरूपमा मात्र बढाइँ कार्यक्रम सञ्चालन गरिने योजना गरेका छौँ । अघिल्ला वर्षका बढाइँमा पूर्व,पश्चिम र दक्षिणपाटाबाट ८४/८४ जनाको गुल्मले बढाइँ गथ्र्यो भने यस पटक सामाजिक दूरी कायम गरी २५/२५ जनामा सीमिति गरिएको छ ।” बढाइँ कार्यक्रममा प्रमुख अतिथिका रुपमा राष्ट्रपति सहभागी हुनेछिन् ।

    विगतको जस्तो धेरै कार्यक्रम नगरी छोटो बढाइँ र टुकडीले सैनिक व्याण्ड प्रदर्शनी गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ । विगतमा सेनाबाहेक एक हजार २०० को सङ्ख्यामा विभिन्न क्षेत्रका महानुभावलाई आमन्त्रण गर्ने गरिएकामा यस पटक सेनासहित पाहुनाको सङ्ख्या १०० जनामा सीमित तुल्याइने छ ।

    अघिल्ला वर्षमा सेनानीसम्मलाई सपरिवार बढाइँ कार्यक्रममा सहभागिताका लागि उर्दी हुने गरेकामा स्वास्थ्य मापदण्डका कारण यस वर्ष सहायकरथी दर्जासम्मलाई एक्लै आउने व्यवस्था गर्न लागिएको सैनिक प्रवक्ता पौडेलले बताए । उपस्थित हुने स्थानमा पञ्जा र स्यानिटाइजरको प्रयोग अनिवार्य गरिएको छ ।

    रूपन्देहीका दुईसहित थप ६ कोरोना संक्रमितको मृत्यु

    रूपन्देहीका दुईसहित थप ६ कोरोना संक्रमितको मृत्यु भएको छ । रूपन्देहीका दुई, बाँके, दाङ, चितवन र ललितपुरमा एक/एक जनाको मृत्यु भएको हो । बुटवल–१० का ७९ वर्षीय पुरुषको शनिबार बिहान ७:१५ बजे मृत्यु भएको अस्पतालका कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।

    रुपन्देहीकै शुद्धोधन गाउँपालिका–६ का ५७ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा शुक्रबार दिउँसो मृत्यु भएको छ । असोज १९ गते कोरोना पुष्टि भएपछि उनको कोरोना विशेष अस्पतालमा उपचार थालिएकोमा शुक्रबार दिउँसो मृत्यु भएको हो ।

    कोहलपुर नगरपालिका-९ पिपराका ३८ वर्षीय पुरूषको पनि शुक्रबार राति ११ बजे भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

    यही असोज १३ गते कोहलपुर मेडिकल कलेजमा भर्ना भएका संक्रमित ती पुरूषलाई भेन्टिलेटरको आवश्यकता परेपछि शुक्रबार राति १० भेरी अस्पतालमा रिफर गरिएको थियो । भेरी अस्पताल पुर्‍याइएको १ घण्टाभित्रै उनको मृत्यु भएको श्रेष्ठले बताए ।

    यस्तै दाङको घोराही उपमहानगरपालिका- ३ का १५ वर्षीय किशोरको पनि उपचारका क्रममा मृत्यु भएको छ । दाङको घोराहीबाट उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका १५ वर्षीय किशोरको उपचारका क्रममा शुक्रबार राति करिब नौ बजेतिर मृत्यु भएको उनले जानकारी दिए ।

    योसहित बाँकेमा कोरोना सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या २४ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारको क्रममा बाँकेमा आई मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । होम आइसोलेसनमा रहेका चितवनका एक वृद्धको पनि मृत्यु भएको छ ।

    मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२० माइली चोकका ६७ वर्षीय पुरुष रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार उनको शुक्रबार राति ९ बजे मृत्यु भएको हो ।

    क्यान्सरका बिरामी उनको नियमित स्वास्थ्य परीक्षणका क्रममा असोज २१ गते स्वाब परीक्षणका लागि दिइएकोमा २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ललितपुरमा पनि एक कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । ललितपुरकै गोदावरी-९, छम्पीका ४६ वर्षीय पुरूषको मेडिसिटी अस्पतालमा शुक्रबार राति ८ बजे मृत्यु भएको हो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ