• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights विशेष

    सरकारले डा. केसीको ज्यान लिन खाेजेको भन्दै समर्थकहरूले गरे यस्तो अपिल, देशभर आन्दोलन चर्काउने तयारी

    505
    SHARES

    काठमाडौं । सरकारले अनशनरत डाक्टर गोबिन्द केसीको ज्यान लिने नियत राखेको आरोप लागेको छ । केसी पक्षधरहरुले सरकारले वार्ता प्रक्रियालाई अनिश्चितकालसम्म लम्ब्याएर केसीको ज्यान लिने नियत राखेको आरोप लगाएका छन्। सरकारी नियतका बिरुद्ध केसी पक्षले देशभर आन्दोलनका कार्यक्रम जारी राख्न आम नागरिकलाई आब्हानसमेत गरेको छ ।

    सुक्रबार भएको सरकार र डा. केसी पक्षबीचको वार्तामा सरकारी पक्षले कुनै सहमति गर्ने नियत नराखेको भन्दै केसी पक्षधरले आन्दोलन जारी घोषणा गरेको हो । वार्तामा सहभागी केसी पक्षधरले सरकार प्रक्रियागत कुरामा पछि हटेकाले सहमति नभएको आरोप लगाएको छ ।

    वार्तामा बस्नुअघि अनौपचारिक छलफलबाट बनेको समझदारीको मस्यौदामा सरकारी टोलीले हेरफेर गरेको कारण सुक्रवारको वार्ता सफल नभएको केसी पक्षका वार्ता टोली संयोजक डा. जीवन क्षेत्रीले आरोप लगाएका छन् ।

    डा. क्षेत्रीले शनिवार एक प्रेस बिज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी गराएका छन् । उनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘असोज २३ गते दिनभर सरकारी पक्षले आलटाल गरेर वार्तामा ढिलाइ गर्यो । साँझ ढिलो गरी भएको वार्तामा सरकारी पक्ष २२ गते बनेको मस्यौदामा गम्भीर हेरफेरसहितको नयाँ मस्यौदा लिएर प्रस्तुत भयो । यसबाट राजनीतिक नेतृत्वको गैरजिम्मेवारी र संवेदनहीनता मात्र नभई बेइमानी र वार्ता प्रक्रियालाई अनिश्चितकालसम्म लम्ब्याएर डा केसीको ज्यानै लिने नियतसमेत उदांगो भयो ।’

    डा. क्षेत्रीका अनुसार सरकारी वार्ता टोलीले चिकित्सा शिक्षा आयोग, विभिन्न प्रतिष्ठानहरु, मन्त्रालयहरुलगायतका पदाधिकारीहरुसित छलफल र परामर्श गरी आवश्यक गृहकार्य गरेको थियो । दुवै पक्षको गृहकार्य र छलफलपछि असोज २२ गते साँझ डा. केसीले राखेका मागहरुका सम्बन्धमा बुँदागत समझदारीको मस्यौदा बनेको थियो । तर असोज २३ गते उक्त समझदारीबाट पछि हट्दै सरकारी वार्ता टोलीले प्रक्रियागत कुरामा मात्र नभई सारभूत विषयमा फरक कुरा समेट्न प्रयास गरेको थियो ।

    १९ औं सत्याग्रहको आज २७ दिन पुग्दा डा. केसीको स्वास्थ्य असाध्यै नाजुक भइसकेको डा. क्षेत्रीले जानकारी दिएका छन् । डा. क्षेत्रीले तत्काल असोज २२ गतेका समझदारीलाई औपचारिकता दिँदै त्यसको कार्यान्वयन सुनिश्चितताका लागि मन्त्रिपरिषदबाट पारित गर्न सरकारसँग माग गरेका छन् ।

    त्यसका लागि दबाब दिन देशभर प्रदर्शनका कार्यक्रम सुचारु गर्न तथा काठमाडौंमा आज मध्यान्ह १२ बजे प्रदर्शनका लागि माइतीघर मण्डलामा उपस्थित हुन डा. क्षेत्रीले सबै नागरिकलाई अपिल गरेका छन् । ‘सत्याग्रहीको ज्यानै लिने सरकारको हिंस्रक चरित्रविरुद्ध निरन्तर संघर्ष गर्दै नेपालमा लोकतन्त्रको मर्म बचाउन राजनीतिक दलहरुलाई समेत अपिल गर्दर्छौं,’ केसीको तर्फबाट वार्ता टोली संयोजक डा. क्षेत्रीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

    सरकार मेडिकल माफियाहरुको योजनामा चलेको र त्यसै अनुसार स्वास्थ क्षेत्रमा गतिबिधि भइरहेको लगायतका बिषय उठाएर पटक पटक अनशन बसेका डाक्टर गोबिन्द केसी पछिल्लो पटक पनि अनशन बसेका छन् । कोरोना महामारीकाबीच पनि कठोर सत्याग्रहमा रहेका केसीको पक्षमा देशभर आम नागरिकले विभिन्न आन्दोलनका कार्यक्रम गरेपछि सरकार केसीसँग वार्ता गर्न तयार भएको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ