• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    जीवनशैली

    मानिसको छालामा कति घण्टासम्म जीवित रहन्छ कोरोना भाइरस ? यसो भन्छन विज्ञ

    882
    SHARES

    काठमाडौँ । एक अध्ययन अनुसार कोरोना भाइरस मानिसको छालामा ९ घण्टासम्म जीवित रहने गरेको पाइएको छ । इन्फ्लूएन्जा एको तुलनामा कोरोना भाइरस ४ गुणा धेरै समयसम्म जीवित रहन सक्ने वैज्ञानिकले बताएका छन् ।

    जापानको क्योटो प्रीफेक्चरल यूनिभर्सिटी अफ मेडिसिनले आफ्नो रिसर्चमा कोरोना भाइरस मानिसको छालामा ९ घण्टासम्म रहने पाइएको दाबी गरिएको छ । भाइरस यति धेरै समयसम्म कसरी छालामा जीवित रहन सक्छ ? यसको कारण भने अहिलेसम्म थाहा भएको छैन ।

    रिसर्चले छालामा भाइरस धेरै समयसम्म रहनाले खतरा बढ्ने बताएको छ । त्यसैले साबुनले हातलाई २० सेकेण्डसम्म धुनुपर्छ । रिसर्चका लागि फरेस्टिक अप्टोसीको माध्यमबाट मानिसको छालाको नमूना लिइएको थियो ।

    स्किनको कोशिकाहरुहरुलाई कोरोना भाइरस र इन्फ्लूएन्जासँग मिक्स गरिएको थियो । रिसर्चमा स्किनमा फ्लूको भाइरस १.८ घण्टासम्म जीवित रहने पत्ता लागेको हो । त्यस्तै कोरोना भाइरस भने ९ घण्टासम्म जीवित रहन्छ ।

    यस्तै कुन–कुन प्रकारका जडीबुटी सेवन गर्दा कोरोना संक्रमितको शरीरमा प्रतिरोधात्मक क्षमता विस्तार हुन्छ भन्ने विषयमा नेपाली वैज्ञानिकहरूले मुसामाथि अध्ययन गर्ने भएका छन् । मानिसको रोग प्रतिरोधात्मक क्षमता बढाउन विभिन्न जडीबुटीका १ सय ३६ वटा यौगिक पत्ता लागेका छन् । तीमध्ये ९३ वटा यौगिक कोरोना प्रजातिका अन्य भाइरस संक्रमण हुँदा प्रयोग भएको पाइएको छ ।

    यी यौगिकमा पनि कुन कुन कोरोना प्रतिरोधी क्षमता बढाउने हुन् भन्ने पत्ता लगाउन त्रिभुवन विश्वविद्यालयको रसायनशास्त्रका केन्द्रीय विभागका अनुसन्धानकर्मी जुटेका हुन् । मुसामा कोभिड–१९ का (आरएनए वा प्रोटिन) संक्रमण गराएर प्रतिरोधात्मक क्षमता बढाउने रसायन प्रयोग गर्दै त्यसले रोगसँग कसरी लड्छ भन्ने अध्ययन गरिनेछ ।

    अनुसन्धानमा विभाग प्रमुख प्रा.डा. रामचन्द्र बस्न्यात नेतृत्वको अनुसन्धानकर्ताको समूहमा डा. खगराज शर्मा, डा. विष्णुप्रसाद मरासिनी, डा. मदनकुमार पौडेल, विनोद रायमाझी, सरोज बस्नेत र करन खडायतलगायत सहभागी छन् । डा. अच्युत अधिकारी प्राविधिक र प्रा.डा. निरञ्जन पराजुली वैज्ञानिक सल्लाहकार रहेको यो अनुसन्धान एक वर्ष अवधिको छ ।

    ‘१ सय ३६ वटा यौगिकहरूको अनुसन्धान गरेर कोरोना लाग्दा कुन यौगिक (पाइने जडीबुटी) प्रयोग गर्न सकिन्छ भन्ने पत्ता लगाउनका लागि छुट्टै परीक्षण आवश्यक भयो,’ डा.पराजुलीले भने, ‘कोभिड गराइएको मुसामा प्रयोग गरेपछि त्यो पक्कै पत्ता लाग्छ ।’ गोविन्द पोखरेलले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।

    आयुर्वेद तथा अन्य वैद्यहरूले रोग प्रतिरोधात्मक क्षमता बढाउने भन्दै प्रयोग गर्न दिने परम्परागत जडीबुटीको कुन रसायनका हितकारी भन्ने पनि यो अनुसन्धानले प्रस्ट्याउने उनले बताए । ‘गुर्जोको झोलमा सयौं मोलिकुलसहरू छन् । तर गुर्जोमा पाइने कुन मोलिकुलसले कोरोनाका बिरामीलाई रोग प्रतिरोधात्मक क्षमता विस्तार गराउन मद्दत पुर्‍याउँछ भन्ने रिपोर्ट हाम्रो अनुसन्धानले बाहिर ल्याउनेछ,’ उनले भने । विश्वविद्यालय अनुदान आयोगले यो अनुसन्धानका लागि १ करोड रुपैयाँ बजेट उपलब्ध गराएको छ ।

    नेसनल कलेजका बायो टेक्नोलोजी विभाग प्रमुख मरासिनी जडीबुटीको प्रयोगले कोरोना संक्रिमतहरूको रोग प्रतिरोधात्मक क्षमता बढाउने बताइए पनि त्यसको ठोस प्रमाण आइनसकेको बताउँछन् । कोरोनाको परिवारमा पाइने मर्स, सार्स भाइरसविरुद्ध जडीबुटी प्रयोग भए पनि कुन कति प्रभावकारी छन् भन्ने कुरा अनुसन्धानले पुष्टि गर्ने उनको भनाइ छ ।

    अनुसन्धानका क्रममा कम्प्युटरमै भाइरसको मोडल बनाएर जडीबुटीका यौगिकहरूका बनावटसँग म्याच गराइन्छ । यसका लागि विशेष प्रकारको सफ्टवेयर प्रयोग हुनेछ । वैज्ञानिकको समूहले भाइरस (कोरोना) लाई कसरी शरीरभित्र छिर्न नदिने, शरीरमा पसेको भाइरसलाई कसरी वृद्धि गर्न नदिने र रोग प्रतिरोधात्मक क्षमताको विस्तारसम्बन्धी अनुसन्धान गर्दै छ ।

    दुइटा अनुसन्धानका लागि कम्प्युटर विधि अपनाएर नतिजा निकाले पनि प्रतिरोधात्मक क्षमताको अनुसन्धानका लागि भने मुसामा परीक्षण गरिनेछ । ‘हामी ३ वटा विधिबाट अनुसन्धान गर्दै छौं,’ उनले भने, ‘भाइरसलाई शरीरभित्र पस्न नदिने र वृद्धिदर रोक्नका लागि उपलब्ध यौगिकहरूलाई म्याच गराइनेछ । तीमध्ये कसले धेरै एन्टिबडी उत्पादन गर्छन्, हामी त्यही प्रयोग गर्न सझुाव दिन्छौं ।’

    कम्प्युटर विधिबाट पत्ता लागेका प्रतिरोधात्मक क्षमता विस्तार गर्न सक्ने यौगिकहरूलाई मुसामा प्रयोग गरिने छ । त्यसको दुई दिनपछि कोरोना भाइरसका आरएनए वा प्रोटिन (भाइरसका भागहरू) मुसामा लगाइन्छ । त्यसपछि मुसाले कति मात्रामा एन्टिबडीको उत्पादन गर्‍यो भन्ने थाहा हुन्छ । जुन यौगिक प्रयोग गर्दा धेरै एन्टिबडी उत्पादन भएको पाइन्छ, त्यही यौगिक पाइने जडीबुटी प्रयोग गर्न सुझाव दिइने डा. पराजुलीले बताए ।

    ‘कोभिड–१९ लाग्दा रोग प्रतिरोधात्मक क्षमता बढाउने भन्दै प्रयोग भइरहेका जडीबुटीमा पाइने यौगिक कतिको प्रभावकारी छन् भनेर पत्ता लगाउनु अहिलेको आवश्यकता हो,’ उनले भने, ‘मुसामा गर्न लागिएको परीक्षणले हितकारी जानकारी बाहिर ल्याउनेछ ।’

    अनुसन्धानमा मुसा नै किन ?

    मानिसमा प्रयोग हुने औषधिको भ्याक्सिन तथा खोप निर्माण पूर्व विभिन्न क्लिनिकल ट्रायलका क्रममा संसारभर वैज्ञानिकहरू प्रायः मुसामा प्रयोग गर्छन् । हरेक स्तनधारी जीवमा रोगविरुद्ध प्रतिरोधात्मक क्षमता हुन्छ । मुसा स्तनधानी जीव हुनुका साथै शरीरका विभिन्न प्रणालीहरू मानिससँग मिल्दोजुल्दो भएकाले अनुसन्धानमा प्रयोग गरिएको डा. मरासिनीले बताए । ‘जीवनचक्र छोटो र आकार सानो हुने भएकाले यसलाई सजिलैसँग ल्याबमा राख्न मिल्छ,’ उनले भने । यो अनुसन्धानमा स्विस एल्बिनोलगायतका मुसाको प्रयोग गरिने उनले बताए ।

    मुसामा प्रतिरोधी क्षमता अनुसन्धान सम्बन्धीको परीक्षण एक महिनामा सकिने भनिए पनि कम्प्युटेसनल मोडलिङमा धेरै समय लाग्ने अनुमान छ । अनुसन्धानकर्ताहरूले रसायनशास्त्र विभागको लेभल २ वा ३ को बायो सेफ्टी ल्याबमा मुसाको परीक्षण गर्नेछन् । विभागमा भएको लेभल १ ल्याबलाई स्तरोन्नति गरेर लेभल २ वा ३ को बनाइनेछ । कम्प्युटर मोडलिङबाट कोरोनाका लागि प्रयोग हुन सक्ने सम्भावित जडीबुटीजन्य रसायनको पहिचान भएपछि त्यो मुसामा हालिन्छ ।

    ‘हामीले १ सय ३६ वटा यौगिक लिएर अनुसन्धान गर्दै छौं । कम्प्युटर मोडलिङबाट आउने उत्कृष्ट १० देखि २० सम्मका यौगिकहरू हामी प्रयोग गर्छौं,’ डा. पराजुलीले भने, ‘मानौं ए नाम गरेको यौगिक हालेपछि उक्त मुसाले कति मात्रामा एन्टिबडी उत्पादन गर्छर् भन्ने थाहा हुन्छ । जुन यौगिकका प्रयोग गर्दा धेरै मात्रामा उत्पादन गर्छ त्यही सम्भावित निष्कर्ष हुन्छ ।’

    रुघाखोकी र कोरोना संक्रमण कसरी चिन्ने ?

    मौसम परिवर्तन हुनेवित्तिकै सामान्यतया मानव स्वास्थ्यमा त्यसको प्रभाव पर्छ। एउटा मौसममा अभ्यस्त भएको शरीरलाई अर्को मौसमसँग अभ्यस्त हुन केही समय लाग्छ। यस्तो बेलामा शरीरको इम्युनिटी डिस्व्यालेन्स हुन्छ।

    जसले गर्दा मानव स्वास्थ्यमा रुघाखोकी लगायत मौसमी संक्रमणको जोखिम बढ्छ। मौसम परिवर्तनसँगै मानिसलाई रुघाखोकीले सताइरहेको हुन्छ । सामान्य अवस्थामा लागेको रुघाखोकी कतै कोरोना भाइरस संक्रमणको लक्षण त होइन ? जनमानसमा द्विविधा हुन सक्छ । यसै बिषयमा जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे यस्तो सुझाव दिन्छन्

    अहिले मौसम परिवर्तनको समय हो । यो समयमा अधिकांशलाई रुघाखोकी लागिरहेको हुनसक्छ । कोरोना भाइरसको संक्रमण समुदायमा फैलिएको वर्तमान अवस्थामा रुघाखोकी लाग्दा पनि कोरोना संक्रमण भयो कि भनेर त्रसित हुनेहरु पनि धेरै हुनसक्छन् । तर कसरी थाहा पाउने ? यी लक्षणबारे जानकारी लिनुहोस्-

    मौसमी रुघा खोकीका लक्षण
    नाक बन्द हुने, नाकबाट पानी आउने, हाँच्छ्यु आउने, शरीर दुख्ने, हल्का ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, सामान्य उपचार तथा आरामले फाइदा गर्ने, छोटो समयमा निको हुने ।

    कोरोना संक्रमणका लक्षण
    सुख्खा खोकी लाग्ने, उच्च ज्वरो आउने, एकदम थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, स्वाद वा / र गन्ध थाहा नहुने, घाँटी खसखस गर्ने / बोलि, परिवर्तन हुने, निको हुन १० दिन लाग्न सक्ने, खाना नरुच्ने,अक्सिजन / आइसीयुको उपचार आवश्यक पर्न सक्ने ।

    यी दुवै रोग एक व्यक्तिबाट अर्कोमा सर्ने भएको हुँदा छुट्टै कोठामा बस्ने, आफूले प्रयोग गरेका सामान अरुलाई प्रयोग गर्न नदिने । तापक्रम, अक्सिजन हेरिरहने । आवश्यक परे पीसीआर परीक्षण गर्ने ।

    किन केही मानिसहरू लामो समयसम्म सङ्क्रमणबाट मुक्त भइरहेका छैनन् ?
    धेरैका लागि कोभिड- १९ हल्का लक्षणहरू भएको सामान्य रोग भए पनि केहीका लागि यो थकाइ, कडा दुखाइ र सास फेर्न गाह्रो हुने लक्षणसहित महिनौँ लम्बिने रोग बनेको छ।

    “दीर्घ कोभिड” भनेर चिनिने यस्तो अवस्थाले मानिसको जीवनमा प्रभाव पारिरहेको छ र अलिकति हिँडेपछि थकान हुने कुरा अब सामान्य बनिसकेको छ।

    हालसम्म महामारीका बेला जीवन बचाउने कुरामा मात्र ध्यान केन्द्रित रहेको छ तर अब कोभिड-१९ का दीर्घकालीन प्रभावहरूको पहिचान हुन थालेको छ। त्यति मात्र होइन- किन केही मानिसहरू दीर्घकालीन कोभिडबाट पीडित छन् अथवा के कुनै बेला ती सबै भाइरसमुक्त हुन्छन्? भन्ने आधारभूत प्रश्नहरू अनिश्चितताले घेरिएका छन्।

    दीर्घ-कोभिड के हो?
    यसको कुनै चिकित्सकीय परिभाषा छैन र लक्षणहरूको सूची छैन। दीर्घ-कोभिड भएका दुई व्यक्तिले नै फरकखाले अनुभव गर्नसक्छन्। यद्यपि आम लक्षण भनेको थकान हो।

    अन्य लक्षणहरूमा सास फेर्न गाह्रो हुने, सुक्खा खोकी लाग्ने, जोर्नी र मांसपेशी दुख्ने, सुन्न र देख्न समस्या हुने, टाउको दुख्ने, सुँघने र स्वाद क्षमतामा कमी आउने, मुटु, फोक्सो, मिर्गौला र पेटमा समस्या आउनेलगायत छन्।

    त्यस्तै मानसिक स्वास्थ्य समस्याहरूमा डिप्रेसन, चिन्ता र स्पष्ट रूपमा सोच्न नसक्नेजस्ता रहेका छन्। यसले मानिसको जीवनस्तरलाई पूर्णरूपमा नष्ट गर्नसक्छ।

    दीर्घ-कोभिडबाट पीडित जेड ग्रे क्रिस्टी भन्छिन्, “मेरो थकावट यस्तो थियो कि जुन मैले पहिले कहिल्यै पनि अनुभव गरेकी थिइनँ।” दीर्घ-कोभिडका कारण मानिसहरूले सघन उपचारमा रहेर निको हुन समय मात्र लगाइरहेका छैनन्। सामान्यखाले लक्षण भएका मानिसहरूले समेत लामो समयसम्म देखिने र कडा खाले स्वास्थ्य समस्याहरूको पनि सामना गरिरहेका छन्।

    युनिभर्सिटी अफ एक्सेटरका प्राध्यापक डेभिड स्ट्रेन भन्छन्, “हामीलाई लामो समयसम्म रहने कोभिड छ भन्नेमा कुनै सन्देह छैन।”उनले दीर्घ-कोभिडका बिरामीहरूलाई आफ्नो क्रोनिक फटिग सिन्ड्रोम क्लिनिकमा हेरिसकेको बीबीसीलाई बताए।

    कति मानिसहरूले यस्तो कोभिडको सामना गरिरहेका छन्?
    जर्नल अफ अमेरिकन मेडिकल एसोसिएसनमा प्रकाशित एउटा अनुसन्धानपत्र अनुसार अध्येताहरूले रोमको सबैभन्दा ठूलो अस्पतालका १४३ जना कोभिडका बिरामीहरूको पछिल्लो अवस्थाबारे जानकारी लिएका थिए।त्यसमध्ये ८७ प्रतिशतमा कम्तीमा करिब दुई महिनासम्म एकखाले लक्षण पाइएको थियो भने आधाभन्दा बढीले त्यसबेलासम्म थकानको महसुस गरिरहेका थिए।

    यद्यपि त्यस्तोखाले अध्ययनहरू अस्पतालमा भर्ना भएर उपचार गराएका थोरै मात्र बिरामीहरूलाई समेटेर गरिएका छन्।

    पीसीआर परीक्षणमा कोरोनाभाइरस देखिँदैमा सङ्क्रमण पुष्टि हुन्छ कि हुँदैन
    यूकेमा ४० लाख मानिसहरूले प्रयोग गर्ने ‘कोभिड सिम्प्टम ट्र्याकर एप’ले ३० दिनपछि पनि २१ प्रतिशत मानिसहरूमा लक्षणहरू देखिएको पाएको छ। हालसम्म प्रकाशित नभएको उसको विवरणले ५० जनामा १ जना अर्थात् दुई प्रतिशत मानिसहरूमा ९० दिनसम्म पनि दीर्घ-कोभिडको लक्षण देखाएको छ।

    के कडाखालको कोभिड भएमा मात्र दीर्घ-कोभिड हुन्छ?
    यस्तो हुने देखिँदैन। डब्लिनमा गरिएको एउटा अध्ययन अनुसार आधा मानिसहरूमा कोरोनाभाइरस सङ्क्रमण भएको १० सातासम्म थकान कायम थियो। अनि एक तिहाइ मानिसहरू काममा फर्किन असफल भएका थिए। चिकित्सकहरूले कडाखाले कोभिड र थकानबीच कुनै सम्बन्ध पाउन सकेनन्।

    यद्यपि कडा खाले थकान मात्र दीर्घ-कोभिडको लक्षण हो।
    मानिसहरूमा कोभिड कसरी ठीक भइरहेको छ भनेर अध्ययन गर्ने युनिभर्सिटी अफ ल्यास्टरस्थित पीएओएसपी-कोभिड कार्यक्रमका प्रमुख अनुसन्धानकर्ता क्रिस ब्राइट्लिङ्ग के विश्वास गर्छन् भने निमोनिया विकास भएका मानिसहरूमा फोक्सोमा हुने क्षतिका कारण धेरै समस्या देखापर्न सक्छन्।

    भाइरसले दीर्घ-कोभिड कसरी उत्पन्न गर्छ?
    यसबारे धेरैखाले विचारहरू छन् तर एउटा निश्चित जवाफ छैन। कोरोनाभाइरस शरीरका अधिकांश भागबाट निख्रिन सक्छ तर केही साना निश्चित अङ्गहरूमा रहिरहन सक्छ।

    किङ्ग्स कलेज लण्डनका प्राध्यापक टिम स्पेक्टर भन्छन्, “यदि लामो समयसम्म रहने झाडापखाला छ भने पेटमा भाइरस पाइन्छ, यदि सुँघने शक्ति कमजोर भइरह्यो भने नसामा भाइरस हुनसक्छ त्यसैले के हुन्छ भन्ने आधारमा भाइरस कहाँ छ भन्ने थाहा हुनसक्छ।”

    कोरोनाभाइरसले शरीरका विभिन्न किसिमका कोषहरूलाई एकैसाथ सङ्क्रमण गर्छ र त्यसको प्रतिरोध गर्नलाई प्रतिरक्षा प्रणाली एकैसाथ उच्च तवरले सक्रिय हुन्छ। त्यसले पनि शरीरभरि असर पुर्‍याउन सक्छ।

    कोरोनाभाइरसमा देखिएको परिवर्तनले पार्ने प्रभावबारे वैज्ञानिकहरू रनभुल्ल
    अर्को विचार अनुसार कोभिड भएपछि शरीरको प्रतिरक्षा प्रणाली पहिलेकै जस्तो अवस्थामा फर्किदैन जसका कारण स्वास्थ्य समस्याहरू देखिन्छन्।

    मानिसका अङ्गहरूले कसरी काम गर्छन् भन्ने आधारमा सङ्क्रमण बदलिन पनि सक्छ। फोक्सोमा रहेका भाइरस यदि क्षतविक्षत भए भने त्यसले पनि लामो समयसम्म समस्या निम्त्याउन सक्छ। फरकखाले कोरोनाभाइरसकै कारण लाग्ने सार्स र मर्स रोगमा यस्तो देखिएको छ। कोभिडले मानिसको ‘मेटाबोलिज्म’लाई पनि परिवर्तन गर्नसक्छ।

    कोभिड लागेपछि विकास भएको चिनीरोगका कारण बढेको चिनीको मात्र नियन्त्रण गर्न मानिसहरूले सङ्घर्ष गरेका घटनाहरू पनि छन्। त्यस्तै सार्स लागेपछि १२ वर्षसम्म बोसो बनाउने प्रक्रियामा परिवर्तन आएका उदाहरण पनि छन्।

    मस्तिष्कको संरचनामा परिवर्तन भएका प्रारम्भिक सङ्केतहरू पनि देखिएका छन् र त्यसबारे अझै अनुसन्धान जारी छ। कोभिड-१९ ले रगतमा अझ अनौठा कुराहरू गर्छ। जस्तो कि अस्वभाविक घेराहरू बनाउने र शरीरभरि रक्तसञ्चार गर्ने नलीहरूलाई क्षति पुर्‍याउने।

    प्राध्यापक स्ट्रेनले बीबीसीलाई भने, “तन्तुहरूमा अक्सिजन र पोषण पुर्‍याउने वयस्क नभइसकेका रक्तवाहकसम्बन्धी एउटा सिद्धान्तमा काम गरिरहेको छु।” तर लामो समयसम्म रहने कोभिडको कारण के हो भन्ने पत्ता नलागुन्जेल उपचार कसरी गर्ने भन्न पनि कठिन हुने उनी बताउँछन्।

    के यो अस्वभाविक हो?
    भाइरसको सङ्क्रमणपछि थकाइ वा खोकी लाग्ने कुरा अस्वभाविक होइन। हामीले पनि कैयौँ पटक यस्ता सङ्क्रमणपछि त्यसबाट निको हुन लामो समय लागेको भोगेका हुनसक्छौँ।

    ग्रन्थीज्वरोपश्चत् करिब १० प्रतिशत मानिसहरूमा एक महिनासम्म थकान महसुस हुन्छ। अझ सन् १९१८ को जस्तो रुघाखोकीपश्चात् मानिसहरूमा पार्किन्सन भएका व्यक्तिमा देखिने जस्ता लक्षणहरू देखापरेको कुराहरू पनि आएका छन्। कोभिडका कारण अझ बढी त्यस्ता दुरगामी लक्षणहरू देखा परेको र धेरै मानिसमा त्यस्तो देखिएको हुनसक्ने प्राध्यापक ब्राइट्लिङ्ग बताउँछन्।

    के मानिसहरू पूर्ण रूपमा निको हुन्छन्?
    समयसँगै दीर्घ-कोभिड लागेका मानिसहरूको सङ्ख्यामा कमी आएको देखिन्छ। यद्यपि गत वर्ष मात्र यो भाइरस देखा परेको र यसै वर्षको सुरुमा विश्वव्यापी भएकाले यसबारे लामो समयको विवरण उपलब्ध छैन। प्राध्यापक ब्राइट्लिङ्गले सङ्क्रमण भएका २५ वर्षका मानिसहरूको अवस्थाबारे जानकारी लिन आफूहरूलाई भनिएको बताए।

    उनले आफूलाई उनीहरूमा बढिमा एक वर्षसम्म दीर्घ-कोभिड हुनसक्ने र त्यसभन्दा पर नजाला भन्ने लागेको तर आफू गलत पनि हुनसक्ने बताए। यद्यपि हाल सङ्क्रमणमुक्त भएकाहरूले पनि जीवनभरि जोखिमको सामना गर्नुपर्ने हो कि भन्ने चिन्ताहरू देखापरेका छन्।

    जसलाई अत्यधिक थकान महसुस हुन्छ उनीहरूलाई पुन: त्यस्तो हुने र भविष्यको सङ्क्रमण प्रबल हुनसक्छ। भविष्यमा थप समस्याहरू पनि निम्तिन सक्ने सम्भावना हुन्छ। विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसका कारण शरीरमा पर्ने असर व्यापक भएकोले निकै कम उमेरमै मुटुसम्बन्धी समस्याहरू हुनसक्ने भन्दै चेतावनी दिएको छ। बीबीसीबाट ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ