• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    माग पूरा नभएसम्म सत्याग्रह जारी रहन्छ – डा. गोविन्द केसी

    545
    SHARES

    काठमाडौँ । चिकित्सा शिक्षा र स्वास्थ्य सुधारका अभियन्ता डा. गोविन्द केसीले आफ्ना माग पूरा नभएसम्म सत्याग्रह जारी रहने बताएका छन् । सरकारले वार्तका लागि पहल गरेका बेला २५ दिनदेखि अनशनरत डा. केसीले यस्तो बताएका हुन ।

    उनले  जनदबाबबाट बाध्य भएर सम्झौता गर्ने र पुनः उल्लंघन गर्ने चक्र चलिरहँदा केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा सबैभन्दा बढी सत्याग्रह गर्नुपरेको बताए । डा. केसीले ओलीकै पालामा पाँच पटक सत्याग्रह गरेका छन् ।

    सरकारबाट वार्ता टोली गठन गरिएको सन्दर्भमा उनले भने, ‘वार्ता टोली बने पनि अन्तिम निर्णय लिने ओलीजी नै हो । वार्ता टोलीभन्दा पनि ओलीजीले जे गर्नुहुन्छ, त्यही हुन्छ । माग पूरा नभएसम्म मेरो सत्याग्रह जारी रहन्छ ।’

    यसअघि पनि जनदबाब थेग्न नसकेरै सरकारले सम्झौता गरेको स्मरण गर्दै उनले अब भने समस्या समाधान नै हुनुपर्नेमा जोड दिए । ‘वार्ता सफल होस्, तीन करोड जनताको मागमा फेरि धोका नहोस्,’ उनले भने, ‘ओलीजीले जनभावना बुझेर केही माफिया/बिचौलियाको कुरा नमान्नुहोस्, यही मेरो कामना छ ।’

    सरकारले डा. केसीसँग वार्ता गर्न बुधबार तीन सदस्यीय टोली गठन गरेको छ । त्यसलगत्तै डा. केसी पक्षबाट पनि चार सदस्यीय वार्ता टोली बनेको छ । सरकारी टोलीमा शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्मा छन् ।

    डा. केसीका तर्फबाट ‘सोलिडारिटी फर डा. केसी अलायन्स’ का डा. जीवन क्षत्रीको संयोजकत्वमा वार्ता टोली गठन गरिएको छ । टोलीमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा. अञ्जनीकुमार झा, नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन् ।

    १९ औं सत्याग्रहमा रहेका डा. केसीलाई हाल बोल्न अप्ठ्यारो भइरहेको छ । स्वास्थ्य स्थिति थप जटिल बन्दै गएकाले उपचारमा संलग्न चिकित्सकहरूले आईसीयूमा भर्ना हुन आग्रह गरे पनि उनले स्वीकार गरेका छैनन् । हाल उनलाई अक्सिजन दिइराखिएको छ ।

    माग सम्बोधनमार्फत डा. केसीको जीवनरक्षाका लागि दबाब सिर्जना गर्न चिकित्सकहरूले बिहीबारदेखि आकस्मिक र कोभिड १९ बाहेकका सेवा बहिष्कार गरेका छन् । सरकारले ७२ घण्टे अल्टिमेटमलाई वास्ता नगरेपछि चिकित्सक संघले स्वास्थ्य सेवा बहिष्कारको कार्यक्रम सार्वजनिक गरेको हो । सरकारले वार्ता टोली बनाए पनि विरोध कार्यक्रम जारी रहने संघका अध्यक्ष डा. कार्कीले बताए ।

    चिकित्सक संघले विज्ञप्ति जारी गर्दै बिहीबार बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा आकस्मिक र कोभिड उपचारबाहेक अन्य स्वास्थ्य सेवा बहिष्कार गर्ने जनाएको छ । सेवा बहिष्कारको समय चिकित्सक संघका शाखा कार्यालय, देशभरका स्वास्थ्य संस्था र अस्पतालको प्रांगणमा जनस्वास्थ्यको मापदण्ड अपनाएर सामाजिक दूरी कायम गर्दै धर्नासमेत गर्ने जनाएको छ ।

    बिहीबारदेखि नै देशभरका संघका शाखा कार्यालय, देशभरका स्वास्थ्य संस्था, अस्पताल वा उपयुक्त स्थानमा कालोपट्टी बाँधेर रिले अनशन गर्ने निर्णय संघले गरेको हो । संघले शुक्रबार एक दिनका लागि देशभरिको स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक र कोभिड सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा बहिष्कार गर्ने निर्णय गरेको छ ।

    तर सम्पूर्ण स्वास्थ्य सेवा बहिष्कार गर्ने शुक्रबारको कार्यक्रम वार्ताको दिशा, सरकारको नियत र प्रतिक्रिया हेरेर पछिका लागि स्थगन गर्न सकिनेसमेत डा. कार्कीले बताए । चिकित्सक संघले सरकारले चाहेको अवस्थामा जुनसुकै बेला वार्ताका निम्ति सहजीकरणको भूमिका निर्वाह गर्नसमेत तयार रहेको जनाएको छ । डा. कार्कीले आफ्नो विरोधका कार्यक्रमबाट उत्पन्न हुन सक्ने गम्भीर परिस्थितिको जिम्मेवार सरकार हुने बताए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ