हुम्ला । कोरोना महामारीका कारण देश यतिबेला आक्रान्त छ । तर केपी ओली सरकार भने जनताको स्वास्थ्यतिर ध्यान दिनेभन्दा पनि बिद्रोही नेकपा नेता कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने धाउन्नेतिर बढी देखिन्छ । सरकार यतिबेला एकातिर बिद्रोही नेकपालाई वार्तामा आउन आव्हान गरिरहेको छ भने अर्कोतिर निरन्तररुपमा नेता कार्यकर्तामाथिको दमन, धरपकड र गिरफ्तारी बढाइरहेकाे छ ।
बिहिबार बिहानै पनि बिद्रोही नेपाल कम्युनिस्ट पार्टीका हुम्ला जिल्ला सेक्रेटरी कुम्भ बुढालाई प्रहरीले गिरफ्तार गरेको छ । बिहिबार बिहानै राति ३ बजे जिल्लाकाे ताँजाकोट गाउँपालिका वडानम्बर ५ को डुङ्गुरीबाट प्रहरीले उनलाई गिरफ्तार गरेको नेकपा हुम्लाले संचारकेन्द्रलाई जानकारी दिएको छ ।
आफ्नै घरमा सुतिरहेका बुढालाई प्रहरीले अमानवीय रुपमा बिहानै ३ बजे गिरफ्तार गरेको भन्दै नेकपा हुम्लाले आपत्ति जनाएको छ । बुढाका भाई मिलनले प्रहरीले राति घर घेरा हालेर स्थानीयलाई आतंकित पार्दै अमानवीय रुपमा गिरफ्तार गरेको बताए ।
कोरोना भाइरस संक्रमण महामारीसँगै पार्टीका कार्यक्रम स्थगित गरेर घरमै बसिरहेका बेला गिरफ्तार गरिनु सरकारले अशान्ति निम्त्याउन चाहेको नेकपाले जनाएको छ । बुढाको तत्काल रिहा गर्न समेत नेकपा हुम्लाले माग गरेको छ ।
यसैबीच यता जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी प्रमुख डिएसपी सूर्यप्रकाश सुवेदीले बुढालाई गिरफ्तार गरिएको पुष्टि गरे । संचारकेन्द्रसँगको टेलिफोन कुराकानीका क्रममा उनले भने-‘विप्लवका एक जना पक्राउ परेका छन् । उनलाई टोलीले लिएर आउदैछ, अहिले बाटोमै हुनुहुन्छ ।’
जिप्रका ल्याइनसकेका कारण यसबिषयमा तत्काल थप जानकारी दिन नसकिने भन्दै डिएसपी सुवेदी पन्छिए । उनले भने -‘थप जानकारी यहाँ ल्याएपछि मात्रै दिन सकिन्छ, पछि कुरा गरौला ।’
प्रतिक्रिया