• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    चिकित्सक संघद्वारा डा. केसीको जीवन रक्षाको माग गर्दै आन्दोलनको घोषणा

    3.1K
    SHARES

    काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ । वार्ता टोली गठन गर्न दिएको ७२ घण्टे अल्टिमेटम सकिएलगतै संघले दबाबमुलक आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

    भोलि २२ गते बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड-१९का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने र जनस्वास्थ्यका मापदण्ड तथा सामाजिक दूरी कायम गरेर धर्ना दिने कार्यक्रम रहेको संघद्वारा जारी बिज्ञप्तिमा जनाइएको छ ।

    त्यसैगरी पर्सि २३ गते देशभर आकस्मिक र कोभिड-१९का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने र अर्को सूचना नआएसम्म कालोपट्टी बाँधेर काम गर्ने संघले बताएको छ । साथै यो अवधिमा पनि वार्ता टोली गठन गरी डा. केसीको सत्याग्रह अन्त्य नगरिए थप कडा आन्दोलन गर्ने संघले चेतावनी दिएको छ ।

    छ बुँदे माग राख्दै डा. केसी अनसन बसेको २४ दिन भएको छ, तर सरकारले वार्ता गरेको छैन । अनसन बसेको २३औं दिन शिक्षा सचिवको टोलीले उनलाई भेटेर औपचारिक वार्ता टोली नबनेको भन्दै अनसन अन्त्य गर्न आग्रह गरेको थियो । यसैगरी मंगलबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले अनसन अन्त्य गर्न आग्रह गरेको थियो ।

    यस्तै सरकारले २४ दिनदेखि अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न वार्ता समिति बनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा गठित वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य रहेका शिक्षा मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

    चिकित्सा शिक्षा सुधारसँग सम्बन्धित विभिन्न माग राख्दै अनशनरत केसीसँग वार्ता गर्न वार्ता टोली गठन गर्न चिकित्सक संघले दिएको ७२ घण्टे अल्टिमेटम बुधबार नै सकिएको थियो ।

    सरकारले वार्ता टोली गठन गरी अनशन तोडाउन पहल नगरेको भन्दै चिकित्सक सं‌घले भोलि असोज २२ गते बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड-१९का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने र जनस्वास्थ्यका मापदण्ड तथा सामाजिक दुरी कायम गरेर धर्ना दिने निर्णय गरेको थियो । चिकित्सक सं‌घको आन्दोलन घोषणा भएको केहीबेरमै सरकारले वार्ता टोली गठन गरेको जानकारी दिएको हो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ