• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    corona update अन्तराष्ट्रिय समाचार

    प्रत्येक १० जनामध्ये एक जनामा कोरोना संक्रमण भइसकेको हुन सक्छ- डब्ल्युएचओ

    7.8K
    SHARES

    काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले विश्वका प्रति १० व्यक्तिमध्ये एक जनामा कोरोना भाइरसको संक्रमण भइसकेको हुन सक्ने जनाएको छ। महामारी नियन्त्रणका लागि विश्वव्यापी रुपमा भइरहेका प्रयासहरुबारे छलफल गर्न स्वीट्जरल्याण्डको जेनेभामा बसेको डब्ल्युएचओका नेताहरुको विशेष बैठकमा यस्तो अनुमान गरिएको हो ।

    विश्वमा हरेक १० मा एकजना कोरोना भाइरसबाट संक्रमित भएको हुन सक्ने डब्ल्युएचओले जनाएको बीबीसीले उल्लेख गरेको छ । विश्वभर तीन करोड ५६ लाख मानिस संक्रमित भएको पुष्टि भए पनि यो संख्या ८० करोड नजिक रहेको डब्ल्युएचओको अनुमान छ । विज्ञहरुले यसअघिदेखि नै लगातार वास्तविक संक्रमितको संख्या पुष्टि भएको भन्दा धेरै रहेको बताउँदै आएका छन् ।

    कोरोना भाइरस: किन केही मानिसहरू लामो समयसम्म सङ्क्रमणबाट मुक्त भइरहेका छैनन्?

    धेरैका लागि कोभिड- १९ हल्का लक्षणहरू भएको सामान्य रोग भए पनि केहीका लागि यो थकाइ, कडा दुखाइ र सास फेर्न गाह्रो हुने लक्षणसहित महिनौँ लम्बिने रोग बनेको छ। “दीर्घ कोभिड” भनेर चिनिने यस्तो अवस्थाले मानिसको जीवनमा प्रभाव पारिरहेको छ र अलिकति हिँडेपछि थकान हुने कुरा अब सामान्य बनिसकेको छ।

    हालसम्म महामारीका बेला जीवन बचाउने कुरामा मात्र ध्यान केन्द्रित रहेको छ तर अब कोभिड-१९ का दीर्घकालीन प्रभावहरूको पहिचान हुन थालेको छ। त्यति मात्र होइन- किन केही मानिसहरू दीर्घकालीन कोभिडबाट पीडित छन् अथवा के कुनै बेला ती सबै भाइरसमुक्त हुन्छन्? भन्ने आधारभूत प्रश्नहरू अनिश्चितताले घेरिएका छन्।

    दीर्घ-कोभिड के हो?

    यसको कुनै चिकित्सकीय परिभाषा छैन र लक्षणहरूको सूची छैन। दीर्घ-कोभिड भएका दुई व्यक्तिले नै फरकखाले अनुभव गर्नसक्छन्। यद्यपि आम लक्षण भनेको थकान हो। अन्य लक्षणहरूमा सास फेर्न गाह्रो हुने, सुक्खा खोकी लाग्ने, जोर्नी र मांसपेशी दुख्ने, सुन्न र देख्न समस्या हुने, टाउको दुख्ने, सुँघने र स्वाद क्षमतामा कमी आउने, मुटु, फोक्सो, मिर्गौला र पेटमा समस्या आउनेलगायत छन्।

    त्यस्तै मानसिक स्वास्थ्य समस्याहरूमा डिप्रेसन, चिन्ता र स्पष्ट रूपमा सोच्न नसक्नेजस्ता रहेका छन्। यसले मानिसको जीवनस्तरलाई पूर्णरूपमा नष्ट गर्नसक्छ। दीर्घ-कोभिडबाट पीडित जेड ग्रे क्रिस्टी भन्छिन्, “मेरो थकावट यस्तो थियो कि जुन मैले पहिले कहिल्यै पनि अनुभव गरेकी थिइनँ।”

    दीर्घ-कोभिडका कारण मानिसहरूले सघन उपचारमा रहेर निको हुन समय मात्र लगाइरहेका छैनन्। सामान्यखाले लक्षण भएका मानिसहरूले समेत लामो समयसम्म देखिने र कडा खाले स्वास्थ्य समस्याहरूको पनि सामना गरिरहेका छन्।

    युनिभर्सिटी अफ एक्सेटरका प्राध्यापक डेभिड स्ट्रेन भन्छन्, “हामीलाई लामो समयसम्म रहने कोभिड छ भन्नेमा कुनै सन्देह छैन।” उनले दीर्घ-कोभिडका बिरामीहरूलाई आफ्नो क्रोनिक फटिग सिन्ड्रोम क्लिनिकमा हेरिसकेको बीबीसीलाई बताए।

    कति मानिसहरूले यस्तो कोभिडको सामना गरिरहेका छन्?

    जर्नल अफ अमेरिकन मेडिकल एसोसिएसनमा प्रकाशित एउटा अनुसन्धानपत्र अनुसार अध्येताहरूले रोमको सबैभन्दा ठूलो अस्पतालका १४३ जना कोभिडका बिरामीहरूको पछिल्लो अवस्थाबारे जानकारी लिएका थिए। त्यसमध्ये ८७ प्रतिशतमा कम्तीमा करिब दुई महिनासम्म एकखाले लक्षण पाइएको थियो भने आधाभन्दा बढीले त्यसबेलासम्म थकानको महसुस गरिरहेका थिए।

    यद्यपि त्यस्तोखाले अध्ययनहरू अस्पतालमा भर्ना भएर उपचार गराएका थोरै मात्र बिरामीहरूलाई समेटेर गरिएका छन्। यूकेमा ४० लाख मानिसहरूले प्रयोग गर्ने ‘कोभिड सिम्प्टम ट्र्याकर एप’ले ३० दिनपछि पनि २१ प्रतिशत मानिसहरूमा लक्षणहरू देखिएको पाएको छ। हालसम्म प्रकाशित नभएको उसको विवरणले ५० जनामा १ जना अर्थात् दुई प्रतिशत मानिसहरूमा ९० दिनसम्म पनि दीर्घ-कोभिडको लक्षण देखाएको छ।

    के कडाखालको कोभिड भएमा मात्र दीर्घ-कोभिड हुन्छ?

    यस्तो हुने देखिँदैन। डब्लिनमा गरिएको एउटा अध्ययन अनुसार आधा मानिसहरूमा कोरोनाभाइरस सङ्क्रमण भएको १० सातासम्म थकान कायम थियो। अनि एक तिहाइ मानिसहरू काममा फर्किन असफल भएका थिए। चिकित्सकहरूले कडाखाले कोभिड र थकानबीच कुनै सम्बन्ध पाउन सकेनन्। यद्यपि कडा खाले थकान मात्र दीर्घ-कोभिडको लक्षण हो।

    मानिसहरूमा कोभिड कसरी ठीक भइरहेको छ भनेर अध्ययन गर्ने युनिभर्सिटी अफ ल्यास्टरस्थित पीएओएसपी-कोभिड कार्यक्रमका प्रमुख अनुसन्धानकर्ता क्रिस ब्राइट्लिङ्ग के विश्वास गर्छन् भने निमोनिया विकास भएका मानिसहरूमा फोक्सोमा हुने क्षतिका कारण धेरै समस्या देखापर्न सक्छन्।

    भाइरसले दीर्घ-कोभिड कसरी उत्पन्न गर्छ?

    यसबारे धेरैखाले विचारहरू छन् तर एउटा निश्चित जवाफ छैन। कोरोनाभाइरस शरीरका अधिकांश भागबाट निख्रिन सक्छ तर केही साना निश्चित अङ्गहरूमा रहिरहन सक्छ।

    किङ्ग्स कलेज लण्डनका प्राध्यापक टिम स्पेक्टर भन्छन्, “यदि लामो समयसम्म रहने झाडापखाला छ भने पेटमा भाइरस पाइन्छ, यदि सुँघने शक्ति कमजोर भइरह्यो भने नसामा भाइरस हुनसक्छ त्यसैले के हुन्छ भन्ने आधारमा भाइरस कहाँ छ भन्ने थाहा हुनसक्छ।”

    कोरोनाभाइरसले शरीरका विभिन्न किसिमका कोषहरूलाई एकैसाथ सङ्क्रमण गर्छ र त्यसको प्रतिरोध गर्नलाई प्रतिरक्षा प्रणाली एकैसाथ उच्च तवरले सक्रिय हुन्छ। त्यसले पनि शरीरभरि असर पुर्‍याउन सक्छ। अर्को विचार अनुसार कोभिड भएपछि शरीरको प्रतिरक्षा प्रणाली पहिलेकै जस्तो अवस्थामा फर्किदैन जसका कारण स्वास्थ्य समस्याहरू देखिन्छन्।

    मानिसका अङ्गहरूले कसरी काम गर्छन् भन्ने आधारमा सङ्क्रमण बदलिन पनि सक्छ। फोक्सोमा रहेका भाइरस यदि क्षतविक्षत भए भने त्यसले पनि लामो समयसम्म समस्या निम्त्याउन सक्छ। फरकखाले कोरोनाभाइरसकै कारण लाग्ने सार्स र मर्स रोगमा यस्तो देखिएको छ। कोभिडले मानिसको ‘मेटाबोलिज्म’लाई पनि परिवर्तन गर्नसक्छ।

    कोभिड लागेपछि विकास भएको चिनीरोगका कारण बढेको चिनीको मात्र नियन्त्रण गर्न मानिसहरूले सङ्घर्ष गरेका घटनाहरू पनि छन्। त्यस्तै सार्स लागेपछि १२ वर्षसम्म बोसो बनाउने प्रक्रियामा परिवर्तन आएका उदाहरण पनि छन्। मस्तिष्कको संरचनामा परिवर्तन भएका प्रारम्भिक सङ्केतहरू पनि देखिएका छन् र त्यसबारे अझै अनुसन्धान जारी छ।

    कोभिड-१९ ले रगतमा अझ अनौठा कुराहरू गर्छ। जस्तो कि अस्वभाविक घेराहरू बनाउने र शरीरभरि रक्तसञ्चार गर्ने नलीहरूलाई क्षति पुर्‍याउने। प्राध्यापक स्ट्रेनले बीबीसीलाई भने, “तन्तुहरूमा अक्सिजन र पोषण पुर्‍याउने वयस्क नभइसकेका रक्तवाहकसम्बन्धी एउटा सिद्धान्तमा काम गरिरहेको छु।” तर लामो समयसम्म रहने कोभिडको कारण के हो भन्ने पत्ता नलागुन्जेल उपचार कसरी गर्ने भन्न पनि कठिन हुने उनी बताउँछन्।

    के यो अस्वभाविक हो?

    भाइरसको सङ्क्रमणपछि थकाइ वा खोकी लाग्ने कुरा अस्वभाविक होइन। हामीले पनि कैयौँ पटक यस्ता सङ्क्रमणपछि त्यसबाट निको हुन लामो समय लागेको भोगेका हुनसक्छौँ। ग्रन्थीज्वरोपश्चत् करिब १० प्रतिशत मानिसहरूमा एक महिनासम्म थकान महसुस हुन्छ।

    अझ सन् १९१८ को जस्तो रुघाखोकीपश्चात् मानिसहरूमा पार्किन्सन भएका व्यक्तिमा देखिने जस्ता लक्षणहरू देखापरेको कुराहरू पनि आएका छन्। कोभिडका कारण अझ बढी त्यस्ता दुरगामी लक्षणहरू देखा परेको र धेरै मानिसमा त्यस्तो देखिएको हुनसक्ने प्राध्यापक ब्राइट्लिङ्ग बताउँछन्।

    के मानिसहरू पूर्ण रूपमा निको हुन्छन्?

    समयसँगै दीर्घ-कोभिड लागेका मानिसहरूको सङ्ख्यामा कमी आएको देखिन्छ। यद्यपि गत वर्ष मात्र यो भाइरस देखा परेको र यसै वर्षको सुरुमा विश्वव्यापी भएकाले यसबारे लामो समयको विवरण उपलब्ध छैन। प्राध्यापक ब्राइट्लिङ्गले सङ्क्रमण भएका २५ वर्षका मानिसहरूको अवस्थाबारे जानकारी लिन आफूहरूलाई भनिएको बताए।

    उनले आफूलाई उनीहरूमा बढिमा एक वर्षसम्म दीर्घ-कोभिड हुनसक्ने र त्यसभन्दा पर नजाला भन्ने लागेको तर आफू गलत पनि हुनसक्ने बताए। यद्यपि हाल सङ्क्रमणमुक्त भएकाहरूले पनि जीवनभरि जोखिमको सामना गर्नुपर्ने हो कि भन्ने चिन्ताहरू देखापरेका छन्।

    जसलाई अत्यधिक थकान महसुस हुन्छ उनीहरूलाई पुन: त्यस्तो हुने र भविष्यको सङ्क्रमण प्रबल हुनसक्छ। भविष्यमा थप समस्याहरू पनि निम्तिन सक्ने सम्भावना हुन्छ। विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसका कारण शरीरमा पर्ने असर व्यापक भएकोले निकै कम उमेरमै मुटुसम्बन्धी समस्याहरू हुनसक्ने भन्दै चेतावनी दिएको छ।

    कोरोनाभाइरस के हो?

    आनुवंशिक संरचनामा आरएनए (RNA) भएका भाइरस अर्थात् विषाणुको एउटा समूहलाई वैज्ञानिकहरूले कोरोनाभाइरस (Coronavirus) नामकरण गरेका थिए।भाइरसको बाह्य रूप किरीट अर्थात् श्रीपेचजस्तै भएकाले अङ्ग्रेजीमा उक्त नाम दिइएको थियो। त्यसलाई नेपालीमा ‘किरीटाकार विषाणु’ वा ‘किरीट विषाणु’ पनि भन्न सकिन्छ। तर कोरोनाभाइरस नै प्रचलित र सजिलै बुझिने नाम हो।

    सन् २०१९ को डिसेम्बरमा चीनमा मानिसमा सङ्क्रमण गर्न थालेको भाइरस सो समूहमा राख्न मिल्ने नयाँ भाइरस भएको पत्ता लाग्यो। चीनको वुहाननजिकै पशुपक्षी व्यापार हुने एउटा बजारमा पहिलो पटक यसको सङ्क्रमण देखिएको उक्त भाइरस केही महिनामै विश्वभरि फैलियो।

    उक्त भाइरसको वैज्ञानिक नाम सार्स-कोभ-२ (Sars-CoV-2) हो। सङ्क्रमणबाट हुने रोगलाई कोभिड-१९ (Covid-19) भनिन्छ। कोरोनाभाइरस नाक र मुखबाट मानिसको शरीरमा प्रवेश गर्छ। सङ्क्रमित व्यक्तिको संसर्गमा आउने अरू मानिसलाई उक्त भाइरस सर्न सक्छ।

    सङ्क्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक र मुखबाट निस्किएका ससाना छिटामा कोरोनाभाइरस हुन्छन्। उनीहरूको नजिकमा बस्ने मानिसको शरीरमा भाइरस छिर्न सक्छ। सङ्क्रमित व्यक्तिले सरसामान वा सतह छोएर हात नधोई आफ्नो अनुहार छुँदा कोरोनाभाइरस शरीरमा छिर्न सक्छ।

    भाइरसले पहिला घाँटी, सासनली र फोक्सोका कोषलाई आक्रमण गर्छ। बिस्तारै ती अङ्गलाई कोरोनाभाइरसहरूले आफ्नो नियन्त्रणमा लिएर आफ्नो सङ्ख्या वृद्धि गर्न थाल्छन् र गम्भीर असर पुर्‍याउन सक्छन्। ज्वरो आउनु र सुक्खा खोकी लाग्नु कोरोनाभाइरस सङ्क्रमण भएपछि लाग्ने रोग कोभिड-१९ का मुख्य लक्षण हुन्।

    केही बिरामीमा घाँटी दुख्ने, टाउको दुख्ने र पखाला लाग्ने गरेको पनि पाइएको छ। केही बिरामीमा घ्राणशक्ति अर्थात् सुँघ्ने क्षमता पनि शिथिल भएको पाइएको छ। केही मानिसहरूलाई सङ्क्रमण भए पनि कुनै गम्भीर लक्षण देखिँदैन। तर उनीहरूले थाहै नपाई अरूलाई भाइरस सारिदिन सक्छन्।

    यी लक्षण देखियो भने घरमै अरूबाट अलग्ग बस्न विश्व स्वास्थ्य सङ्गठनले सुझाव दिएको छ। झन्डै ८० प्रतिशत मानिसमा सामान्य खालको सङ्क्रमण हुन्छ। तर ज्वरो आएको छ, खोकी लागेको छ र सास फेर्न गाह्रो भएको छ भने चिकित्सकसँग परामर्श गर्नुपर्छ। किनभने ती लक्षणले श्वासप्रश्वास प्रणालीमा भएको सङ्क्रमण वा अन्य गम्भीर समस्यातिर सङ्केत गर्छन्।

    कोरोनाभाइरस सङ्क्रमण जसलाई पनि हुन सक्छ। सङ्क्रमित व्यक्तिको संसर्गमा आउने व्यक्ति तथा कोभिड-१९ बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीमा भाइरस सर्ने सम्भावना उच्च हुन्छ। त्यसैले सबैले आफू सुरक्षित हुने उपाय अवलम्बन गर्नुपर्छ। अरू गम्भीर रोग भएका व्यक्ति र वृद्धवृद्धालाई सङ्क्रमणको भयो भने यो भाइरसले धेरै दुःख दिन सक्छ।

    चिकित्साशास्त्रको जर्नल ‘द लान्सिट इन्फेक्शस डिजीजेज’मा प्रकाशित एउटा अध्ययनले सङ्क्रमण भएका व्यक्तिमध्ये झन्डै ०.६६ प्रतिशतको मृत्यु हुने अनुमान गरेको छ। यो मृत्युदर मौसमी फ्लू अर्थात् रुखाखोकीबाट हुने मृत्युदरभन्दा धेरै हो।

    विश्वभरि मौसमी रुघाबाट पीडित झन्डै ०.१ प्रतिशत बिरामीको मृत्यु हुने गरेको छ। तर कति व्यक्ति सङ्क्रमित भएका छन् त्यसको तथ्याङ्क उपलब्ध नभएसम्म कोभिड-१९ को मृत्युदर यही हो भनेर निर्क्योल गर्न सकिँदैन। फरक उमेर समूहका व्यक्तिमा फरक मृत्युदर देखिएको छ।

    इम्पीरीअल कलेज लन्डनको अनुमानअनुसार ८० वर्षभन्दा माथिका कोभिड-१९ बिरामीको मृत्युदर औसतभन्दा १० गुना बढी र ४० वर्षमुनिका बिरामीमा धेरै कम हुन्छ। चीनमा ४४,००० बिरामीको अभिलेखको अध्ययन गर्दा मधुमेह, उच्च रक्तचाप वा मुटु वा फोक्सोको समस्या भएका बिरामीको कोरोनाभाइरसका कारण मृत्यु हुने सम्भावना कम्तीमा पाँचगुना बढी पाइयो।

    अहिलेसम्म कोरोनाभाइरसका कारण लाग्ने रोग कोभिड-१९ को उपचार गर्न वा उक्त भाइरस हुन नदिने कुनै औषधि वा खोप बनेको छैन। अन्य जीवाणुको उपचारका लागि बनाइएका एन्टीबायोटिकले भाइरसलाई मार्न सक्दैनन्।

    कोरोनाभाइरसको खोप बनाउन अनुसन्धान भइरहेको छ कोभिड-१९ हुँदा देखिने लक्षणहरूको उपचार हुन्छ। अधिकांश मानिसमा तिनको शरीरको प्रतिरोधात्मक क्षमता सक्रिय भएर बिस्तारै निको हुन थाल्छ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया