• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    कोरोना संक्रमण झनै बढेपछि सरकारले गर्यो यस्तो अपिल, काठमाडाैं आउन चाहानेहरुले अवश्य पढौं

    521
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना संक्रमण उच्च रहेको भन्दै काठमाडौं उपत्यकामा नआउन आग्रह गरेको छ । शनिबार २१२० जनामा कोरोना संक्रमण पुष्टि हुँदा उपत्यकाका ११७७ जना उपत्यकाका थिए ।

    उपत्यकामा संक्रमण बढिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । उनले भने, ‘अहिले सकभर काठमाडौं उपत्यकामा नआउन हुन र आउनै पर्ने अवस्था भए जनस्वास्थ्यका मापदण्ड पालना गरेर मात्र आउनुस् ।’

    पछिल्लो २४ घण्टामा २१२० थप जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ९७८ नमुना परीक्षण गर्दा ७६६ महिला र १३५४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

    यससँगै कुल संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ । उनीहरुमध्ये ५२८ जनाको मृत्यु भएको छ भने ६२ हजार ७४० जना संक्रमणमुक्त भएका छन् । २०४४ जना पछिल्लो २४ घण्टामा मात्र कोरोना संक्रमणमुक्त भएका हुन् ।

    देशभर २१ हजार ३०२ संक्रिय संक्रमित छन् । ११ हजार ५२९ जना होम र ९ हजार ७७३ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २१७ जनाको आईसीयू र ३१ जनाको भेल्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयका अनुसार शनिबार थपिएका संक्रमितमध्ये ११७७ जना उपत्यकाका छन् । काठमाडौंका १००१ जना, भक्तपुरका ६७ र ललितपुरका १०९ जनामा संक्रमण पुष्टि भएको हो ।

    यस्तै सुनसरीका १२२ जना, मोरङका १११, रुपन्देहीका ९८, कैलालीका ९३, रौतहटका ८२, चितवनका ७५, सुर्खेतका ४३, बाराका २५, कास्कीका २२, सप्तरी र बाँकेका १९/१९ जना, पर्साका १८, काभ्रेका १४, धनुषाका १३, मकवानपुरका १२ तथा तनहुँ र बर्दियाका १०/१० जनामा संक्रमण पुष्टि भएको छ ।

    झापा र दैलेखका ९/९ जना, सिराहा, धादिङ, नुवाकोट र नवलपुरका ८/८ जना, उदयपुर र पाल्पाका ७/७ जना, रामेछाप, गोरखा, कपिलवस्तु, नवलपरासी र प्युठानका ६/६ जना, खोटाङ, महोत्तरी, सर्लाही र कञ्चनपुरका ५/५ जना, ओखलढुंगा र दोलखाका ४/४ जना, संखुवासभा र लमजुङका ३/३ जना, स्याङ्जा, अर्घाखाँची, गुल्मी र डडेलधुराका २/२ जना तथा पर्वत, म्याग्दी, बाग्लुङ,रोल्पा, कालीकोछ, दाचुृला, बझाङ र बाजुराका १/१ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यस्तै नेपालमा पछिल्लो समय कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट औषतमा दैनिक ८ जनाको मृत्यु हुने गरेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार असोज महिनाको तथ्यांक हेर्दा औषतमा दैनिक ८ जनाको मृत्यु हुने गरेको पाइएको छ ।

    भदौ ३१ गते कोरोनाबाट मृत्यु हुनेको संख्या ३७९ थियो । १७ असोजमा आइपुग्दा यो संख्या बढेर ५२८ पुगेको छ । अर्थात पछिल्लो १७ दिनमा मात्र १४९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कडा रोग लागेर र कोरोना संक्रममितहरुको मृत्यु भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

    प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका चार जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ । राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि संक्रमण देखिएको छ ।

    उनीहरुको शुक्रबार स्वाब गरिएको थियो । ‘चालकदेखि सबैको स्वाब संकलन गरिएको थियो । सचिवालयका हामी चार जनाको पोजेटिभ आएको छ’ थापाले भने, ‘केही चालकहरुमा पनि संक्रमण देखिएको छ ।’ यो पटक प्रधानमन्त्री ओलीको परीक्षण गरिएको थिएन । सचिवालयका चार जनालाई देखिएपछि अब उनको पनि परीक्षण हुने बताइएको छ ।

    कोरोना भाइरस: खोकी र ज्वरोभन्दा गन्ध र स्वाद गुमाउनु स्पष्ट लक्षण हुनसक्छ

    खोकी र ज्वरोभन्दा सुँघ्न सक्ने शक्ति गुमाउनु कोभिड-१९ को स्पष्ट सङ्केत हुन सक्छ । अनुसन्धानहरूले सुझाए अनुसार कोभिड-१९ को लक्षण खोकी वा ज्वरोभन्दा गन्ध थाहा नपाउनु भरपर्दो सङ्केत हुनसक्छ।

    युनिभर्सिटी कलेज लण्डनले ५९० जना मानिसमा गरेको अध्ययन अनुसार यो वर्षको सुरुमा स्वाद र गन्ध गुमाएका ८० प्रतिशतमा कोरोनाभाइरसको एन्टिबडिहरू भेटिएको थियो। एन्टिबडिहरू भएका ती व्यक्तिमध्ये ४० प्रतिशतमा कुनै लक्षण थिएन।

    यद्यपि, सामान्य लक्षण भएका मानिसमा मात्रै त्यस्तो अनुसन्धान गरिएको थियो। गन्ध र स्वाद हराउनु कोरोनाभाइरस लागेको हुनसक्छ भन्ने प्रमाण एप्रिलबाट सुरु हुन थालेको हो र मे महिनाको मध्यबाट कोरोनाभाइरसको लक्षणको सूचीमा आधिकारिक रूपमा यी लक्षणलाई राखिएको थियो।

    अहिलेको निर्देशिका अनुसार जसले गन्ध र स्वाद गुमाएको अनुभव गर्छ उसले कोरोनाभाइरसको परीक्षण गर्नुपर्छ र सेल्फ आइसोलेशनमा अलग्गै बस्नुपर्छ। तर युनिभर्सिटी कलेज लण्डनकी अग्रणी लेखक/अध्ययनकर्ता प्राध्यापक रेचल ब्याटरह्यामले मुख्य लक्षणका रूपमा अझै पनि धेरै मानिसहरूले खोकी र ज्वरोलाई नै लिने गरेको बताइन्।

    पाँचमध्ये चारजनामा एन्टिबडि

    उनले एप्रिल महिनाको २३ तारिखदेखि १४ मे सम्म विगत चार सातादेखि स्वाद र गन्ध गुमाएका मानिसहरूलाई लन्डनमा एसएमएसमार्फत् आफ्नो अनुसन्धानमा सरिक गराइन्। यी सबै मानिसमा एन्टिबडिको परीक्षण गरियो र पाँचमध्ये चारजनामा एन्टिबडि देखियो जसले उनीहरूमा पहिला कोभिड-१९ पोजिटिभ थियो भन्ने देखाउँछ।

    त्यस्तो अध्ययनमा सहभागी व्यक्तिहरू सबैमा सामान्य लक्षण भएको र त्यो पनि गन्ध र स्वाद गुमाएका हुनुपर्ने नियम राखिएको थियो ताकि उनीहरू सबैले कोभिडका बिरामीको प्रतिनिधित्व नगरुन्। तर यो अध्ययनले मानिसहरूलाई गन्ध वा स्वादमा आएको परिवर्तन हेर्न र त्यस्तो लागे आफूलाई अलग्गै राख्न महत्त्वपूर्ण छ भन्ने कुरालाई प्राथमिकता दिएको प्राध्यापक ब्याटरह्यामले बताइन्।

    उनका अनुसार दैनिक प्रयोग हुने सामानहरू जस्तै अत्तर, दन्तमन्जन, कफीजस्ता कुराको गन्ध नपाएको महसुस गरे आफूलाई अलग्गै राख्नुपर्छ। सबै कोरोनाभाइरसका बिरामीले गन्ध नपाएको महसुस गर्नैपर्छ भन्ने त छैन तर यदि गुमेको छ भने कोरोनाभाइरस भएको हुनसक्ने सम्भावना धेरै रहेको अनुसन्धानहरूले बताएका छन्।

    सम्भावित खतरा

    प्राध्यापक ब्याटरह्यामले व्याख्या गरिन्, मानिसले हेर्नुपर्ने भनेको चाहिँ रुघा नलागिकनै वा नाक बन्द नभइ गन्ध आउन छोडेको छ/छैन भन्ने हो। कोभिड-१९ हुँदा भाइरसले नाको पछाडिपट्टी घाँटी र जिब्रोमा रहेका कोषिकाहरूलाई आक्रमण गर्ने भएकोले गन्ध नपाइने ठानिन्छ।

    किङ्ग्स कलेज लन्डनका अनुसन्धानकर्ताहरू, जसले कोभिडका लक्षणको अध्ययन गर्ने एप चलाउँछन्, उनीहरूले यसअघि कोरोनाभाइरस भइ निको भएका ६० प्रतिशत मानिसले स्वाद र गन्ध गुमाएको अनुमान गरेका थिए।

    यसलाई सामन्य लक्षण मानिए पनि र अस्पतालमै भर्ना हुनुपर्ने अवस्था नभए पनि प्राध्यापक ब्याटरह्यामले गन्ध थाहा पाउने शक्ति गुमाउने सम्भावित खतरा रहेको बताइन्। त्यसमा धुवाँको गन्ध पत्ता लगाउन नसकिने, ग्यास लीक भएको थाहा पाउन नसकिने कुराहरू पनि पर्छन्।

    मानिसका अनुभव

    हजारौँ मानिसले अनलाइनमा आफूले धुवाँको गन्ध थाहा पाउन छोडेको भन्दै चिन्तित अनुभवहरू सुनाएका छन्। केहीले आफूहरूले निरन्तर रूपमा बासी “फोहोर” को गन्ध अनुभव गरेको वा धातुको जस्तो स्वाद अनुभव गरेको बताएका छन्।

    अन्यले चाहिँ भाइरस निको भइसकेको महिनौँसम्म पनि राम्ररी खानेकुराको स्वाद लिन नसकेको बताएका छन्। प्राध्यापक ब्याटरह्यामका अनुसार गन्धमात्रै गुमाउने र अन्य लक्षण नहुने मानिसको समूह अन्य मानिसका लागि “सबैभन्दा खतरनाक” हुन्छन् किनभने उनीहरू सामान्य महसुस गर्छन् र सामान्य दैनिकीमा हुन्छन्।

    उनका अनुसार स्वाद र गन्धको कुरा सँगसँगै हुने भए पनि कोरोनाभाइरसबाट निको भएकाहरूमा गन्ध हराउनु वा कम हुनु स्वाद हराउनुभन्दा बढी सामान्य हो। उनको अध्ययन त्यतिबेला गरिएको थियो जतिबेला गन्ध र स्वाद नहुनुलाई लक्षणका रुपमा पहिचान गरिएको थिएन।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ