• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    कोरोना संक्रमण भएको २४ घण्टा नबित्दै अस्पताल भर्ना भए ट्रम्प, केछ अवस्था ?

    590
    SHARES

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालमा भर्ना भएका छन् । कोरोना संक्रमण भएको २४ घण्टा नबित्दै स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ ।

    उनी हाल वाल्टर रिड नेसनल मेडिकल सेन्टरमा उपचाररत रहेका छन् । उनलाई आज बिहानबाट ज्वरो आएको चिकित्सकहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । यसअघि शुक्रबार बिहान उनले ट्वीट गर्दै आफू र पत्नी मेलानिया ट्रम्पलाई कोरोना पुष्टि भएको जानकारी दिएका थिए।

    संक्रमण देखिए पनि कुनै लक्षण नदेखिएकाले होम आइसोलेसनमा बसेका ट्रम्प थकान महसुस गर्नाका साथै उनमा कोभिड-१९ का हल्का लक्षण पनि देखिएपछि अस्पताल भर्ना भएको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोनाभाइरसबाट संक्रमित भएसँगै उहाँपनि कोरोनाभाइरसबाट संक्रमित विश्व नेताहरुको सूचीमा परेका छन् । यसअघि, अन्य केही देशका राष्ट्र तथा सरकार प्रमुखहरु पनि कोरोनाभाइरसबाट संक्रमित भएका थिए । सबैको छोटो चर्चा यहाँ गरिएको छ ।

    बेलायतका प्रधानमन्त्री बोरिस जोनसन
    बेलायती प्रधानमन्त्री बोरिस जोनसन कोरोनाभाइरसबाट संक्रमित हुने विश्व नेताहरुमध्ये पहिलो हुनु । उनलाई गत अप्रिलमा संक्रमित भएपछि ‘आइसीयू’मै राख्नुपरेको थियो । उनलाई अस्पतालमा भर्ना गरेर अक्सिजन नै दिनुपरेको थियो । तर, भेन्टिलेटरको आवश्यकता भने परेको थिएन । उनले एकान्तबासमै बसेर पनि केही सीमित व्यक्तिहरुसँग कुराकानी गर्दै आफ्नो कामहरु पनि गरेका थिए ।

    ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारो
    ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोलाई गत जुलाईमा कोरोनाभाइरसको संक्रमण भएको थियो । उनले संक्रमित भएको बेला मलेरियाविरुद्धको औषधि प्रयोग गरेर कोरोनाभाइरसका लागि मलेरियाविरुद्धको औषधिले काम गर्छ भन्ने सन्देश पनि दिन खोजेका थिए। त्यो अहिलेपनि अप्रमाणित नै रहेको छ । उनले सामाजिक दुरी काम गर्ने, मास्कको प्रयोग गर्नेलगायत मान्यतालाई बेवास्ता गर्ने गरेका थिए। उनी ‘लकडाउन’विरोधी नेताकारुपमा पनि चिनिन्छन् । उनकी श्रीमती पनि संक्रमित भएकी थिइन् ।

    होन्डुरसका राष्ट्रपति हुवान ओर्लान्डो हर्नान्डेज
    होन्डुरसका राष्ट्रपति हुवान ओर्लान्डो हर्नान्डेजलाई गत जुन महिनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । राष्ट्रपति हर्नान्डेजसँगै उनकी आफ्नी श्रीमती र दुईजना सहयोगीमा पनि संक्रमण देखिएको थियो । तर, उनमा लक्षण भने सामान्यमात्रै देखिएको उनले बताएका थिए । उनले आफूमा संक्रमण भएपनि आफ्नो काम भने विद्युतीय माध्यमबाट गरेका थिए ।

    गुटेमालाका राष्ट्रपति एलेजन्ड्रो गियामाते
    कोरोनाभाइरसबाट संक्रमित भएका विश्व नेताहरुको सूचीमा गुटेमालाका राष्ट्रपति एजेन्ड्रो गियामाते पनि छन् । उनलाई गत सेप्टेम्बरमा संक्रमण पुष्टि भएको थियो । आफूलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि टेलिभिजन सम्बोधनमार्फत् उनले आफूलाई कुनै लक्षणहरु भने नदेखिएको उल्लेख गरेका थिए । उनलेप नि आफू छुट्टै बस्ने र कार्यालयका काम भने गरिरहने बताएका थिए ।

    बोलिभियाका अन्तरिम राष्ट्रपति जेनिन अनेज
    बोलिभियाका अन्तरिम राष्ट्रपति जेनिन अनेज पनि कोरोनाभाइरसबाट संक्रमित भएका थिए । उनलाई गत जुलाईमा संक्रमण भएको हो । संक्रमित भएपछि उनी‘आइसोलेसन’मा बसेका थिए । उनले त्यो बेलामा कुनै असजिलो भने महसुस गरेका भने थिएनन् । कोरोनाबाट संक्रमित हुने उनी ल्याटिन अमेरिकी तेस्रो राष्ट्रप्रमुख थिए । त्यसअघि, ब्राजिली राष्ट्रपति बोल्सेनारो र होन्डुरसका राष्ट्रपति हर्नान्डेजमा पनि संक्रमण पुष्टि भएको थियो । अनेजको कार्यालयका केही सदस्यहरुमा संक्रमणको पुष्टि भएपछि उनको पनि परीक्षण गराउँदा उनमा संक्रमण देखिएको हो । बोलिभियामा सरकारका चारजना शीर्ष अधिकारीहरुमा समेत कोरोना संक्रमणको पुष्टि भएको थियो ।

    डोमिनिकाका राष्ट्रपति लुइस अबिनाडेर
    गणतन्त्र डोमिनिकाका नवनिर्वाचित राष्ट्रपति लुइस अबिनाडेर जुलाईमा कोरोनाभाइरसबाट संक्रमित भउका थिए । उनी आफ्नो चुनाव प्रचारप्रसार अभियानकैक्रममा संक्रमित भइ संक्रमणमुक्त भएको जनाइएको छ । उनले आफ्नो निर्वाचन हुनुअगाडि नै हप्ता लामो आइसोलेसनमा पनि बस्नुपरेको थियो ।

    इरानका उपराष्ट्रपति र मन्त्रीहरु
    कोरोनाभाइरसको महामारीको मध्यपूर्वको केन्द्रविन्दु बनेको इरानका पनि उपराष्ट्रपति र मन्त्रीहरु कोरोनाभाइरसबाट संक्रमित भएका थिए । देशका वरिष्ठ उपराष्ट्रपति इशाक जाहानगिरि र उपराष्ट्रपति मस्सौमेह इब्तेकरमा कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएको थियो । त्यसबाहेक मन्त्रिपरिषद्का अन्य सदस्यहरु पनि संक्रमित भएका थिए ।

    यीबाहेक रूसका प्रधानमन्त्री मिखाइल मिसुस्तिन, आर्मिनियाका प्रधानमन्त्री निकोल पसिनयान, बेलायतका राजकुमार चार्ल्सलाई पनि कोरोनाको संक्रमण पुष्टि भएको थियो । त्यसैगरी, धेरै देशका सरकार तथा राष्ट्रप्रमुखका श्रीमती तथा परिवारजन र धेरै देशका मन्त्रीसहितका उच्च अधिकारीहरु पनि कोरोनाभाइरसबाट संक्रमित भएका थिए ।

    विश्वभर कोरोना भाइरसका कुल संक्रमितको ७४ प्रतिशत निको भएका छन् । शनिबार बिहान यो समाचार तयार पार्दासम्म संक्रमित भएका ३ करोड ४८ लाख १७ हजार ८५२ मध्ये ७४ दशमलव ३५ प्रतिशत निको भएका हुन् । अर्थात् २ करोड ५८ लाख ८५ हजार ३७५ जना निको भएका छन् ।

    पछिल्लो २४ घण्टामा २ लाख २३ हजारभन्दा बढी संक्रमण मुक्त भएका छन् भने ३ लाख १४ हजार बढी संक्रमित थपिएका छन् । यस्तै एकै दिन थप ५ हजार १२३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या १० लाख ३२ हजार २६१ पुगेको छ ।

    कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २४ हजार ४० जनाको मृत्यु भएको छ । ५१ लाख ९० हजार ३५९ जना संक्रमित भएकोमा २५ लाख ७९ हजार ४६७ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरूमा ३ लाख १३ हजार ८८६ जनाको मृत्यु भएको छ ।

    संक्रमितको संख्या ९० लाख १३ हजार ७७४ पुगेको छ । त्यसमध्ये ५८ लाख ३३ हजार २५९ जना संक्रमणमुक्त भएका छन् । यस्तै एसियाली मुलुकहरूमा १ लाख ९८ हजार २७८ जनाको मृत्यु भएको छ । १ करोड ८ लाख ६७ हजार ४१३ जना संक्रमित भएकोमा ९१ लाख ३६ हजार २५६ जना संक्रमणमुक्त भएका छन् ।

    दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख ५८ हजार ८२३ जनाको मृत्यु भएको छ । ८१ लाख ८६ हजार ६७४ जना संक्रमित भएकोमा ७० लाख ३७ हजार ६५९ जना संक्रमणमुक्त भएका छन् । अफ्रिकी मुलुकहरूमा ३६ हजार २८८ जनाको ज्यान गएको छ भने १५ लाख ५ हजार ९७६ संक्रमित छन् ।

    संक्रमितमध्ये १२ लाख ४६ हजार १५८ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ९३१ जनाको मृत्यु भएको छ । ३१ हजार ४११ जना संक्रमित भएकोमा २८ हजार ६८२ जना संक्रमणमुक्त भएका छन् ।

    नेपालमा पनि कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार बितेको २४ घण्टामा अहिलेसम्मकै धेरै २ हजार ७२२ संक्रमित थपिएका छन् ।

    पछिल्लो एक साताको तथ्यांक हेर्दा पनि नेपालमा संक्रमित हुनेको संख्या बढेको छ । अहिले २१ हजार २३४ जनामा संक्रय संक्रमण छ । संक्रमितको संख्या यही दरमा बढ्दै गए नेपालले कोरोनाको उद्‍गमस्थल चीनलाई एकदुईदिनमा उछिन्ने मात्र होइन बिस्तारै संसारकै सबैभन्दा बढी संक्रमित रहेका देशहरुको सूचीमा पर्ने देखिएको छ।

    चाडवार्ड नजिकिएको र सबैभन्दा धेरै जनसंख्या रहेको काठमाडौं उपत्यकामा संक्रमण फैलिएकाले नेपाल संसारमै धेरै असरपर्ने मुलुकहरुमा पर्ने देखिएको छ। शुक्रबारको तथ्यांक अनुसार काठमाडौँ उपत्यकामा एकैदिन १ हजार ६३८ संक्रमित थपिएका छन् । विश्वमा कोरोनाको संक्रमण र अवस्थाबारे अपडेट गरिरहेको अनलाइन पोर्टल वल्डो मिटर्सको तथ्यांक अनुसार नेपाल उच्च संक्रमितको देशको सूचीमा माथि चढ्नेक्रम बढेको छ ।

    यो समाचार तयार पार्दासम्म नेपाल उच्च संक्रमणमा रहेका विश्वका देशको सूचीमा ४६औँ स्थानमा पुगेको छ। वल्डो मिटर्सको तथ्यांकअनुसार सबैभन्दा धेरै संक्रमित अमेरिकामा छन् । दोस्रो धेरै संक्रमण फैलिएको देश भारत हो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ