• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    ओली सरकारलाई अर्को झट्का, सर्वोच्चको दियो फेरि यस्तो कडा आदेश

    6.6K
    SHARES

    काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को संक्रमण पछिल्ला केहि दिन यता नेपालमा पनि बढेको छन्। नेपालमा पनि कोरोना महामारी दिन प्रतिदिन बढीरहेका बेला कोरोना नियन्त्रणका लागि ठोस कदम चाल्न नसकेको भन्दै चौतर्फी बिरोध भइरहँदा ओली सरकारलाई सर्वोच्चले अर्को ठुलो झट्का दिएको छ।

    सर्वोच्च अदालतले कोरोना परीक्षण निःशुल्क गर्न सरकारका नाममा परमादेश जारी गरेको छ। बिहीबार न्यायाधीशद्वय डाक्टर आनन्दमोहन भट्टराई र टंक मोक्तानको संयुक्त इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य मन्त्रालयलाई पीसीआर परीक्षणको शुल्क नलिन परमादेश दिएको हो। यो सँगै सरकारले अब कोरोना परीक्षण नि:शुल्क गर्नुपर्ने भएको छ।

    अधिवक्ता केशरजंग केसी र लोकेन्द्र ओलीले भदौ २८ गते दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक हक भएकाले शुल्क नलिन आदेश दिएको हो। संबैधानिक र कानूनी व्यवस्था उल्लंघन गर्दै सरकारले पीसीआर परीक्षणको शुल्क लिएको भन्दै परेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले आज यस्तो आदेश जारी गरेको हो।

    जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ३(४(ग)मा सरुवा रोगको उपचार निःशुल्क गर्ने व्यवस्था सुनिश्चित भए बमोजिम कोभिड-१९ को पीसीआर परीक्षण पनि निःशुल्क हुनुपर्ने रिट निवेदकको दाबी थियो।

    पीसीआर परीक्षण राष्ट्रपतिदेखि प्रधानमन्त्री, मन्त्री, न्यायाधीशहरु सांसद, कर्मचारीहरुको निःशुल्क परीक्षण भइसकेको तर, शंका लागेमा नागरिकले परीक्षण गर्दा शुल्क लिइएपछि सर्वोच्चमा रिट परेको थियो।उक्त रिटपरेपछि सर्वोच्चले केहि दिन अघि निःशुल्क पीसीआर परीक्षण हुन नपर्ने कारणसहित उपस्थित हुन सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो।

    सरकारको जवाफ प्राप्त भएपछि आज सर्वोच्चले उक्त मुद्धामा सरकारका नाममा परमादेश जारी गर्दे पीसीआर परीक्षण गर्न निःशुल्क गर्न आदेश दिएको हो। चौतर्फी दबावपछि हाल सरकारले कोरोना परीक्षणको शुःल्क २ हजार रुपैंया तोकेको छ। तर, धेरै नीजि ल्यावहरुले अहिलेपनि सरकारले तोके भन्दा बढी शुल्क लिइरहेका छन्।

    नेपालमा फेरी कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढेकाे छ । पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने १ महिला र १० पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५०९ पुगेकाे छ ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मृत्यु हुने सुनसरीका ३ पुरुष, काठमाडौँका २ पुरुष, भक्तपुरका १ पुरुष, ललितपुरका १ पुरुष, बाँकेकी १ महिला र रुपन्देहीका ३ पुरुष छन् । संक्रमित हुनेबाट भएको मृत्यु ० दशमलव ६५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

    कोरोना भाइरस संक्रमणका कारण नेपालमा पहिलो पटक डाक्टरको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत बाँकेको खजुरा गाउँपालिका- ३ घर भएका ५९ वर्षका डाक्टरको कोरोना भाइरस संक्रमणका कारण बिहीबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

    भदौ २९ गते संक्रमण पुष्टि भएका उनलाई श्वास फेर्न गाह्रो भएपछि नेपालगञ्जको भेरी अस्पतालमा असोज १ गते भर्ना गरिएको थियो । प्लाज्मा थेरापी विधिका साथै रेमडेसिभरको समेत प्रयोग गरेर उनको उपचार गरिएको भएपनि बिहीबार एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि बिहान ९ बजे उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।

    भेन्टिलेटरमा राखेर उपचार गरिरहेकै समयमा बिहीबार दिउँसो ३ः१० बजे उनको मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. रविन खड्काले जानकारी दिए । उनी कर्णाली प्रदेश अस्पतालका चिफ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन समेत रहेको खड्काले बताए ।

    पछिल्लो २४ घण्टामा नेपालमा १९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४४४ जनाको पीसीआर परीक्षण गर्दा १९११ जनामा संक्रमण पुष्टि भएको हो ।

    नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ७९ हजार ७ सय २८ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका मात्र ९४३ जनामा कोरोना संक्रमण भएको छ । काठमाडौंका ८१७, भक्तपुरका ५८ र ललितपुरका ६८ जनामा सं‌क्रमण भएको मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भएर ९६१ जना घर फर्केका छन् । नेपालमा हालसम्म ५७ हजार ३ सय ८९ जना कोरोना संक्रमण निको भएर घर फर्किएका छन् । हाल सक्रिय संक्रमितको संख्या २१ हजार ८ सय ३० रहेको छ ।

    आज कहाँ कति जना संक्रमित ?

    संक्रमितमध्ये काठमाडौंमा ८१७, कैलालीमा १६१, मोरङमा १०५, रुपन्देही ९१, चितवनमा ८६, ललितपुरमा ६८, सुनसरीमा ६६, भक्तपुरमा ५८, सिराहामा ३९, जुम्ला ३७, बाँकेमा ३०, पर्सा, कास्कीमा २८, कञ्चनपुरमा २४ जना रहेका छन् ।

    त्यस्तै धनुषामा १९, महोत्तरी, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङमा १७/१७, सप्तरीमा १६, बारा, नवलपरासी पूर्व र बागलुङमा १४/१४, नुवाकोट र नवलपरासी पश्चिममा १०, दाङमा ९, तनहँमा ८ जनामा संक्रमण देखिएको छ ।

    कालीकोटमा ७ जना, झापा र रामेछापमा ६/६ जना, सर्लाही, गोरखा र रुकुम पूर्वमा ५ जना, रौतहट, सिन्धुली, बर्दिया र बैतडीमा ४/४ जना, उदयपुर र ओखलढुंगा, दोलखा, सिन्धुपाल्चोक, कपिलवस्तु, गुल्मी, पाल्पा, रुकुम पश्चिम र सल्यानमा ३/३ जना संक्रमित भेटिएका छन् ।

    खोटाङ, पर्वत, लमजुङ, दैलेख, मुगु र बझाङमा २/२ जना, ताप्लेजुङ र भोजपुर, स्याङ्जा, अछाम र डडेल्धुरामा १/१ जना संक्रमित भएका छन् । यसैबीच उता दाेलखामा कोरोनाको लक्षणसहितका सङ्क्रमित फेला परेपछि जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले आजदेखि शैक्षिक संस्था पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएको छ । जिल्लामा सबै प्रकारका सभा, गोष्ठी, तालीम र सेमिनार पनि गर्न पाइने छैन ।

    कोरोना सङ्क्रमित बाहिरी जिल्लाबाट दोलखा प्रवेश गरे अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय पनि केन्द्रले गरेको छ । प्रमुख जिल्ला अधिकारी एवं केन्द्रका अध्यक्ष रमेशप्रसाद शिवाकोटीले शैक्षिक सहजीकरणका नाममा विद्यालयले विद्यार्थी बोलाई जबर्जस्ती कक्षा सञ्चालन गरेमा स्वयं विद्यालय र अभिभावक जवाफदेही बन्ने बताए ।

    बैठकले कोरोनाको सङ्क्रमण देखिएका स्थानलाई सम्बन्धित स्थानीय तहले जोखिम विश्लेषण गरी आवश्यकतानुसार अत्यावश्यकबाहेक अन्य सबै प्रकारका सेवा बन्द गरी स्वास्थ्य कार्यालयको सहयोग र समन्वयमा नियन्त्रण तथा उपचारको व्यवस्था मिलाउने निर्णय गरेको छ । खुला स्थानमा मानिस भेला हुन, भीडभाड गर्न र सभाजुलूस गर्न गराउन निषेध गरिएको छ ।

    मठमन्दिर, चर्चलगायत धार्मिक तथा सांस्कृतिकस्थलमा दैनिक नित्य पूजाबाहेकका गतिविधि सञ्चालन गर्न पाइने छैन । बढी भीडभाड हुने उद्योग, कलकारखाना, व्यापारव्यवसायअन्तर्गतका स्थानमा स्वास्थ्य मापदण्ड विपरीत हुने क्रियाकलाप गर्न रोक लगाइएको छ ।

    चाडपर्वलगायत धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्य गर्नका लागि हुने जमघट पनि गर्न पाइने छैन । उद्योग, व्यापार, व्यवसाय, निर्माणलगायत कार्य पनि स्वास्थ्य सुरक्षा मापदण्ड विपरीत गर्न पाइने छैन । कोभिड १९ का कारण स्थगित कक्षा १२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भए पनि निर्णयमा ढिलाइ भएको छ।

    राष्ट्रिय परीक्षा बोर्डले कोरोना परीक्षा लिनसक्ने स्थिति नभएमा कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना गर्ने वा परीक्षा नलिई आन्तरिक मूल्याङ्कन र कक्षा ११ को प्राप्ताङ्कलाई ५०/५० प्रतिशत मानी प्रमाणीकरण गर्नेलगायत विकल्पसहित गत महिना सुझाव दिएको थियो।

    उक्त सुझाव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत् मन्त्रिपरिषदमा पुगेको भए पनि हालसम्म निर्णय नहुँदा अभिभावक र विद्यार्थी अन्योलमा छन्। तत्काल निर्णय नभएका दसैं अघि उक्त परीक्षा हुने सम्भावना कम हुनेछ। दसैंपछि हिमाली जिल्लामा परीक्षा गराउन झन् कठिन हुनेछ।

    यस्तो स्थितिमा आन्तरिक मूल्याङ्कन र कक्षा ११ को नजितालाई ५०/५० प्रतिशत मानेर प्रमाणीकरण गराउने विकल्प बलियो हुनसक्ने जनाइएको छ। ४० नम्बरका लागि अनलाइनमा परीक्षा गराउँदा खुला पुस्तक परीक्षा (ओपन बुक एक्जाम) हुने भएकाले यसको विश्वसनीयता र सबै स्थानमा अनलाइनको पहुँचको सम्भाव्यताबारे प्रश्न उत्पन्न भएका छन्।

    शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कक्षा १२ को परीक्षा बोर्ड परीक्षा भएको र यसको अन्तर्राष्ट्रिय समकक्षतासमेत हुनुपर्ने भएकाले कुनै न कुनैरूपमा परीक्षा गराउने पक्षमा आफूहरू रहेको केही दिनअघि बताएका थिए।

    अनलाइन परीक्षा भएमा परीक्षाका लागि समय कति, परीक्षा केन्द्र कहाँ राख्ने, प्रश्न कसरी विद्यार्थीमा पुर्‍याउने, उत्तरपुस्तिका कसरी सङ्कलन र मूल्याङ्कन गर्ने र नतिजा कहिलेसम्म प्रकाशन गर्ने जस्ता प्रश्न उत्पन्न भएका छन्।

    अनलाइनमा पहुँच नहुनेले सूचना प्रविधिका अन्य माध्यमलाई पनि प्रयोग गर्नसक्ने गरी पठनपाठन गराउन भने सरकारले गत भदौ १९ गते विद्यार्थी सिकाइ सहजीकरण निर्देशका–२०७७ जारी गरिसकेको छ।

    मन्त्रालयका प्रवक्ता दीपक शर्माले मन्त्रिपरिषदबाट निर्णय भई नआएसम्म यसबारे केही भन्न नसकिने जनाउँदै दिइएका विकल्पबाटै निर्णय हुनसक्ने बताए। गत वैशाख ८ गतेदेखि तोकिएको सो परीक्षा गत चैत ११ गतेदेखिको बन्दाबन्दीका कारण स्थगन भएको थियो।

    परीक्षामा कूल चार लाख ३२ हजार विद्यार्थीले आवेदन दिएका थिए। बोर्डले यही भदौ २६ गते सूचना प्रकाशन गरी कक्षा १२ का परीक्षाका लागि आवेदन दिएका विद्यार्थी कोरोना महामारी वा अन्य कारणले अन्य जिल्लामा बसाइँसराइँ भएको भए सात दिनभित्र विवरण उपलब्ध गराउन आग्रह गरिसकेको छ।

    यसअघि माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षा मन्त्रिपरिषद्कै निर्णयका आधारमा विद्यालयबाट आन्तरिक मूल्याङ्कन गराई बोर्डले प्रमाणीकरण गरिसकेको छ भने कक्षा ११ को पनि सोही प्रक्रियाबाट प्रमाणीकरण हुने तय भएको थियो।

    शिक्षा ऐन (२०२८) को आठौं संशोधन २०७३ कार्यान्वयनमा आएपछि तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्को खारेज भई राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण भएपछि बोर्डले परीक्षा सञ्चालन गर्दै आएको छ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ