• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights विजनेस

    विद्यार्थीलाई सहुलियत दरमा इन्टरनेट, यसरी सजिलै लिन सकिन्छ सेवा

    518
    SHARES

    काठमाडाैं । कोरोना महामारीका कारण धेरै शिक्षण संस्थाहरु बन्द छन् । अनलाइन माध्यमबाट पठनपाठन भइरहेको छ । पहुँच भएका परिवारका बालबालिकाले अनलाइन कक्षा लिइरहेका छन् ।

    तर इन्टरनेटको पहुँच बाहिर रहेका विद्यार्थीहरुले अनलाइन कक्षा लिन पाएका छैनन् । इन्टरनेटको पहुँच भएका विशेषगरी शहरी क्षेत्रका अभिभावकले महँगाे शुल्क तिरेरै भए पनि छोराछोरीलाई अनलाइन कक्षा पढाउन घरमा इन्टरनेट सुविधा लिइरहेका छन् ।

    इन्टरनेटको सुविधा नपुगेको तथा सुविधा भएर पनि कमजोर आर्थिक अवस्थाका कारण इन्टरनेट जोड्न नसकेकाहरुको सिकाइ सहजीकरणका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय र त्यहाँ अध्ययनरत विद्यार्थीलाई निःशुल्क इन्टरनेट प्रदान गर्ने भएको छ ।

    मन्त्रालयले ’विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७’ भदौ १९ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत गराएको थियो । त्यही निर्देशिकामा आधारित भएर सेवा प्रदायकसँगको समन्वयमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउन लागिएको हो । सेवा प्रदायकमध्ये नेपाल टेलिकमले सीयूजी सिम उपलब्ध गराउन सक्ने जनाएको छ ।

    अरु सेवा प्रदायकसँग मन्त्रालयको छलफल चलिरहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रमुख डाक्टर तुलसी थपलियाले जानकारी दिनुभयो । केन्द्रका प्रमुख थपलियाका अनुसार विभिन्न सेवा प्रदायकसँग छलफल भइरहेको छ । अहिलेसम्म नेपाल टेलिकमले मात्रै प्रस्ताव गरेको हो ।

    नेपाल टेलिकमले उपलब्ध गराउन लागेको पाठशाला सीयूजी सिम हो । यो सेवामार्फत् विद्यार्थी र शिक्षकले सहुलियत दरमा भ्वाइस सेवा, पाँच जीबी डाटा र बल्क एसएमएस पाउने नेपाल टेलिकमले जनाएको छ ।

    सिकाइमा सहजीकरणका लागि भ्याट लगायतका कर बाहेक ९९ रुपैयाँमा ‘पाठशाला सीयूजी सिम’ उपलब्ध गराउने टेलिकमले निर्णय गरेको थपलियाले बताउनुभयो । कर र भ्याटसहित भने सीयूजी सिम लिनका लागि १ सय २५ देखि १ सय ३० रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

    पाठशाला सीयूजी सिममार्फत् पाँच जीबी डाटाले शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेबसाइटमा राखिएको कक्षा १ देखि १० सम्मका पाठ्यक्रम अध्ययन गर्न मात्रै प्रयोग गर्नुपर्ने हुन्छ । ‘पाठशाला सीयूजी सिम’बाट शिक्षक, विद्यार्थी र अभिभावकबीच चाहिएजति कुराकानी गर्न, केन्द्रको वेबसाइट चलाउन र शैक्षिक प्रयोजनका लागि बल्क एसएमएस चलाउन सकिन्छ ।

    यो सेवा कसरी लिने ?

    यो सिमकार्ड लिनका लागि एकप्रति नागरिकता र परिचयपत्रको फोटोकपी र फोटो चाहिन्छ । विद्यार्थी, शिक्षक र अभिभावकले सिम लिन पाउँछन् । विद्यार्थीले अभिभावकको नाममा पनि सिमकार्ड लिन पाउँछन् ।

    सिम लिनका लागि पालिका र विद्यालयबीच समन्वय भने हुनुपर्छ । विद्यालयले पालिकाको सिफारिस लिएर नेपाल टेलिकमको कार्यालयबाट आफ्नो शिक्षक, विद्यार्थी र अभिभावकका लागि एकमुष्ट रुपमा सिम लिन सक्नेछन् । यो सेवा कति दिनका लागि दिने भन्नेबारे भने अझै प्रष्ट नभएको केन्द्रका प्रमुख थपलियाले बताए ।

    नेपाल टेलिकम र एनसेलका पनि शैक्षिक डाटा प्याक

    सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी क्षेत्रको ठूलो दूरसञ्चार सेवा प्रदायक एनसेलले पनि अहिले शैक्षिक डाटा प्याक उपलब्ध गराइरहेका छन् । अनलाइन कक्षा लिन सहज होस् भनेर उनीहरुले शैक्षिक डाटा प्याक उपलब्ध गराएका हुन् । टेलिकमले ’ई शिक्षा प्याकेज’ र ’ह्याप्पी लर्निङ प्याक’ उपलब्ध गराइरहेको छ ।

    यो सेवा देशभरका शिक्षक तथा विद्यार्थीले लिन सक्ने टेलिकमले जनाएको छ । इ शिक्षा प्याकेज ६ जीबी र १५ जीबी डाटा प्याकमा उपलब्ध रहेको टेलिकमले जनाएको छ । ६ जीबी डाटाको मूल्य २ सय ६० रुपैयाँ र १५ जीबी डाटाको ५ सय रुपैयाँ रहेको टेलिकमले जनाएको छ ।

    यी दुवै प्याक बिहान ५ देखि बेलुका ५ बजेसम्म मात्रै चलाउन सकिने कम्पनीले जनाएको छ । यस्तै, ह्याप्पी लर्निङ प्याक २४ जीबी र ३५ जीबी डाटा प्याकमा उपलब्ध छ । २४ जीबीको ३ सय १५ रुपैयाँ र ३५ जीबीको ५ सय रुपैयाँ मूल्य रहेको टेलिकमले जनाएको छ । इ शिक्षा प्याकेज र ह्याप्पी लर्निङ प्याक २८ दिनसम्मलाई हुनेछ ।

    यस्तै, एनसेलले पनि स्टुडेन्ट प्लान सञ्चालन गरिरहेको छ । अनलाइन कक्षालाई लक्षित गरी ल्याइएको यो प्याकमा इ लर्निङअन्तर्गत २० जीबी डाटा रहने एनसेलले जनाएको छ ।

    स्टुडेन्ट प्लानको सुरुआती मूल्य २ सय ५५ रुपैयाँदेखि ७ सय २ रुपैयाँसम्म रहेको कम्पनीले जानकारी दिएको छ । इ लर्निङसहित यो प्याकेजमा फोर जी नेटवर्कमा चल्ने गरी थप २ देखि ८ जीबी डाटा रहने एनसेलले जनाएको छ । यो प्याक ३० दिनसम्म चलाउन सकिने एनसेलले जनाएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया