• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नेपालमा ६१ वर्षभन्दा माथिका बृद्ध वृद्धालाई किन बढ्यो कोरोना संक्रमण ? यस्ताे रहेछ कारण

    633
    SHARES

    काठमाडौँ । चैत ११ गतेदेखि लगाइएको लकडाउनलाई साउन ७ गतेबाट खुकुलो बनाइएको थियो । लकडाउन खुकुलो हुने अघिल्लो दिन साउन ६ गते कोरोना संक्रमितहरुको संख्या १७ हजार ९ सय ९४ रहेको थियो । त्यसमा पनि २० वर्षभन्दा कम उमेर समूहका २०.५ प्रतिशत संक्रमित थिए भने २१ देखि ४० वर्षसम्मको उमेर समूहका ६३.६ प्रतिशत संक्रमित थिए ।

    यस्तै ४१–६० वर्ष उमेर समूहका १४.२ प्रतिशत संक्रमित हुँदा ६१ वर्षभन्दा माथि उमेर भएकाहरु केवल १.६ प्रतिशत मात्रै संक्रमित थिए । त्यसबेला संक्रमण पूर्ण रुपमा युवा समूहमा मात्रै केन्द्रित थियो । सरकारले त्यससमयमा संक्रमित भेटिएकामध्ये अधिकांश भारतबाट नेपाल फर्किएकाहरु रहेको सार्वजनिक रुपमा नै बताएको थियो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको तथ्यांकमा २० वर्षभन्दा मुनीका सबै उमेरलाई एकै स्थानमा गणना गरिएको छ ।

    त्यो तथ्यांक अनुसार झण्डै २१ प्रतिशत संक्रमति २० वर्षसम्मको उमेर समूहमा रहेको जिकिर गरेपनि अधिकांश संक्रमित भारतमा काम गर्न जान सक्ने उमेर समूह (१६ देखि २० वर्ष)का भएको हुनुपर्छ भनेर सोझो अनुमान लगाउन सकिन्छ । लकडाउन खुकुलो पारिएको करिब ३७ दिनपछि भदौ ११ गते कुल संक्रमितहरुको संख्या दोब्बर भएर ३५ हजार २ सय २९ पुगेको थियो ।

    यो समयमा माथि उल्लेखित चारवटा उमेर समूहकै तथ्यांकलाई पुनः विश्लेषण गर्दा २० वर्षसम्मको उमेर समूहमा संक्रमित हुने दर घटेर १५.६ प्रतिशत भएको देखिन्छ । यस्तै २१–४० वर्ष उमेर समूहका संक्रमितको संख्या पनि थोरै घटेर ६०.९ प्रतिशतमा झरेको देखिन्छ । तर, ४१–६० वर्ष उमेर समूहमा संक्रमित हुनेको संख्या भने केही बढेर १९.१ प्रतिशत पुगेको देखिन्छ ।

    यसका साथै संक्रमणले सबैभन्दा धेरै गम्भीर असर पुर्‍याउने ६१ वर्षभन्दा माथिका उमेर समूहका ३.९ प्रतिशत संक्रमित भएको देखिन्छ । यो उमेर समूहको सापेक्ष अनुपात हेर्दा २.४ गुणाले वृद्धि भएको देखिन्छ । यसको मतलब साउन ६ गते १०० जनामा ६१ वर्ष माथिका २ जना मात्रै संक्रमित थिए भने भदौ ११ मा त्यो संख्या बढेर १०० मा ४ पुग्यो भन्ने हो ।

    नेपालमा काेभिड-१९ संक्रमितहरुको उमेर र लिंगका आधारमा विश्लेषण

    तर, यो तथ्यांकलाई थप विश्लेषण गर्दा २० वर्षसम्मको उमेर समूहमा ५०.७ प्रतिशतले संक्रमित हुनेहरुको संख्यामा तुलनात्मक वृद्धि भएको देखियो । यस्तै २१–४० वर्ष उमेर समूहमा ९.० प्रतिशतले तथा ४१–६० वर्ष उमेर समूहमा १६५.१ प्रतिशतले संक्रमित हुनेहरुको संख्यामा तुलनात्मक वृद्धि भएको देखियो । ६१ वर्षभन्दा माथिको उमेर समूहमा भने सबैभन्दा धेरै ३८२.५ प्रतिशले संक्रमित हुनेको संख्यामा तुलनात्मक वृद्धि भएको देखियो ।

    भदौ ११ गतेको संक्रमित संख्या असोज १० गते दोब्बर भएर ७१ हजार ८ सय २१ पुगेको थियो । त्यो दिन २० वर्षसम्मको उमेर समूहका कुल १२.८ प्रतिशत, २१–४० वर्ष उमेर समूहको ५८.४ प्रतिशत, ४१–६० वर्ष उमेर समूहका २१.९ प्रतिशत तथा ६१ वर्षभन्दा माथिका ६.०६ प्रतिशत व्यक्तिहरु संक्रमित भएको देखिन्छ । भदौ ११ गतेको तथ्यांकसँग तुलना गरेर हेर्दा २० वर्षभन्दा कम उमेर समूहमा ६५.५ प्रतिशत, २१–४० वर्ष उमेर समूहमा ९४ प्रतिशत, ४१–६० वर्ष उमेर समूहमा १३२ प्रतिशत तथा ६१ वर्षभन्दा माथिको उमेर समूहमा २१५ प्रतिशतले संक्रमित हुनेहरुको संख्यामा तुलनात्मक वृद्धि भएको देखिन्छ ।

    यही तथ्यांकलाई साउन ६ गतेको तथ्यांकसँग तुलना गर्ने हो भने २० वर्षसम्मको उमेर समूहमा १४९.५ प्रतिशतले संक्रमित हुनेको संख्यामा तुलनात्मक वृद्धि भएको छ । २१–४० उमेर समूहमा २६६.७, ४१–६० वर्ष उमेर समूहमा ५१७.३ प्रतिशतले संक्रमित हुनेको संख्यामा तुलनात्मक वृद्धि भएको देखिन्छ । सबैभन्दा अधिक ६१ वर्षभन्दा माथिको उमेर समूहमा १४२२.७ प्रतिशतले संक्रमित हुनेको संख्यामा तुलनात्मक वृद्धि भएको देखिन्छ ।

    यो तथ्यांक अनुसार ६१ वर्षभन्दा माथिको उमेर समूहमा लकडाउन खुकुलो पारेसँगै संक्रमित हुनेको संख्या अत्याधिक वृद्धि भएको देखियो । साउन ६ गते लकडाउन खुल्दा १.६ प्रतिशत मात्रै संक्रमित रहेको यो समूहका असोज १० सम्म आइपुग्दा ६.०६ प्रतिशत व्यक्ति संक्रमित भएको तथ्यांकले बताउँछ । साथै, ६१ वर्षभन्दा माथिको उमेर समूहमा पनि महिला संक्रमितको संख्या साउन ६ गतेको तुलनामा १६६५ प्रतिशतले बढेको छ भने पुरुष संक्रमितको संख्या १३०२ प्रतिशतले बढेको छ ।

    प्राय, घरमै रहने ६१ वर्षभन्दा माथि उमेर समूहमा संक्रमण बढ्नु भनेको समग्रमा अस्पताल तथा स्वास्थ्य संरचनामा नै दबाब बढ्नु हो । नेपाली समाजको परिपेक्षमा कुरा गर्दा यो उमेर समूहकाहरु प्राय सबैमा कुनै न कुनै प्रकारको दीर्घ रोगसमेत हुने गरेकाले जोखिम पनि उत्तिकै बढाउँछ ।

    महिला संक्रमितको संख्या बढ्दै

    नेपालमा महिलाको तुलनामा पुरुषहरु बढी संक्रमित हुने गरेका छन् । हालसम्म भेटिएका कुल ७१ हजार ८ सय २१ संक्रमित मध्ये ५२ हजार ५ सय ५१ जना पुरुष छन् भने १९ हजार २ सय ७० जना महिला छन् । तर, हालसम्मको तथ्यांकलाई आधार मानेर विश्लेषण गर्दा साउनको पहिलो सातादेखि महिला संक्रमितहरुको संख्या पनि विस्तारै उकालो लाग्न थालेको देखिन्छ ।

    साउन ६ गते लकडाउन खुकुलो पार्दा २५ सय ७९ महिला संक्रमित थिए भने पुरुष संक्रमितको संख्या १५ हजार ४ सय १५ थियो । कुल संक्रमितको संख्या दोब्बर हुँदा महिला संक्रमितको संख्यामा पनि उच्च वृद्धि भएको देखिन्छ । भदौ ११ गते संक्रमित महिलाको संख्या साउन ६ गतेको तुलनामा १८६.१२ प्रतिशतले बढेर ७ हजार ३ सय ७९ पुगेको देखिन्छ । यसमा पनि ६१ वर्षभन्दा माथि उमेर भएका महिला संक्रमितको संख्या ४०१.०५ प्रतिशतले बढेको देखिन्छ ।

    भदौ ११ गतेको कुल संक्रमितको संख्या असोज १० गतेसम्म आइपुग्दा दोब्बर भएर ७१ हजार ८ सय २१ हुँदा महिला संक्रमितको संख्यामा पनि १६१.१५ प्रतिशतले वृद्धि भएको देखिन्छ। असोज १० गतेको तथ्यांकलाई भदौ ११ गतेको तथ्यांकसँग तुलना गर्दा पनि ६१ वर्षभन्दा माथिकै महिलामा संक्रमित हुने संख्या २५२.३१ प्रतिशतले बढेको देखिन्छ ।

    महिला संक्रमित हुनेको दर यसकारण पनि महत्त्वपूर्ण छ किनभने यसले घरघरमा संक्रमण पुगेकोतर्फ पनि इंगित गर्छ । नेपालमा प्राय पुरुषहरु बाहिरको काममा खटिने र महिलाहरु घरको काममा बढी व्यस्त हुने गर्छन् । यस्तै बजारमा किनमेलदेखि आवश्यकीय वस्तुको जोहो गर्ने मुख्य जिम्मा भने महिलाको हुन्छ । यस्तोमा महिलाहरुमा संक्रमण बढ्दा त्यसले एकातर्फ समाजमा पनि संक्रमण व्यप्त रहेको इसारा गर्छ भने अर्कोतर्फ महिलाबाट घरपरिवारमा संक्रमण सजिलै फैलिने हुँदा थप गम्भीर हुनुपर्ने अवस्था छ ।

    यसका साथै, ६१ वर्षभन्दा माथि उमेरका वृद्धवृद्धा संक्रमित हुनु भनेको एक त अस्पतामा भर्ना भएर उपचार गराउनुपर्ने गम्भीर प्रकृतिका बिरामीको संख्यामा वृद्धि हुनु हो । अर्को कुरा, यो समूहको व्यक्तिहरु कमै मात्र हिँड्डुल हुने, हिँड्डुल भएपनि टोलछिमेकमा बढी हुने अवस्था हो । यस्तोमा उनीहरुलाई संक्रमण देखिनु भनेको पनि टोल, छिमेक र घरघरमै पनि संक्रमण विस्तार हुँदैछ भन्ने पनि त हो ।

    यस्तै नेपालमा हाउसहोल्ड सेकेण्डरी अट्याक रेट (एसएआर– घरमा संक्रमण विस्तारको दर) कति छ भन्ने अहिले विश्लेषण गरिएको छैन । तर, एउटा वैज्ञानिक अध्ययनले विश्वमा यो दर १८.८ प्रतिशत रहेको दाबी गरेको छ । जुन सार्स वा मर्सको महामारीमा देखिएको दरभन्दा धेरै बढी रहेको छ । यसकारण नेपालमा पनि घरमा संक्रमण विस्तारको दर कति छ भनेर अध्ययन गर्न पनि जरुरी भइसकेको छ ।

    तसर्थ, अहिलेपनि सबैभन्दा बढी संक्रमित देखिएको २१ देखि ४० वर्ष उमेर समूहका व्यक्तिहरुले आफूलाई संक्रमणले केही नगर्ने भनेर संक्रमण नियन्त्रणका लागि अति आवश्यक ‘एसएमएस’ (स्यानिटाइजेशन, मास्क, सोसियल डिस्टेन्स) कायम नगर्ने हो भने अवस्था विकराल हुनसक्छ । युवा उमेरका व्यक्तिहरुले नै कोरोना संक्रमणलाई गम्भीरता पूर्वक नलिएको कारण पनि घर, टोल, छिमेकमा संक्रमण विस्तार भइरहेको हुनसक्ने तथ्यांकले बताउँछ । त्यसैले आफ्नो घरमा संक्रमण विस्तार हुन नदिन र पाका उमेरका परिवारका सदस्यलाई सुरक्षित राख्न युवा उमेरका व्यक्तिहरुले थप सजगता अपनाउन नै उचित हुन्छ ।

    (यो लेख जोन हप्किन्स हेल्थ सिस्टममा कार्यरत क्वालिटी म्यानेजर तथा चिकित्सकीय एनालाइटिक्सका विज्ञ डा. विशाल भण्डारी, ठेगानाडट सर्भिसेसका संस्थापक तथा प्रविधिविज्ञ विशाल केसी, मोलिक्यूलर तथा कोष विज्ञ डा. रोशनलाल श्रेष्ठ, विज्ञान विषयका अध्ययता दोर्जे गुरुङ, तथ्यांक विज्ञानमा रुची राख्ने सुइक्षा गौतमको प्रत्यक्ष सहयोगमा तयार पारिएको हो ।)

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ