काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को संक्रमणलाई नियन्त्रण गर्न नसकेको भन्दै चौतर्फी बिरोध भईरहेका बेला ओली सरकारलाई अर्को चुनौती थपिएको छ । कोरोना परीक्षणका नाममा चर्को शूल्क असुल्दै आएका निजी प्रयोगशालाहरुले सरकारकोे निर्देशन नमान्ने बताएका छन् ।
८ वटा ल्याबले संयुक्त वक्तव्य नै जारी गर्दै आरटीपीसीआर टेष्टको शूल्क ३८९९ रुपैयाँ लिने बताएका हुन् । सरकारले पीसीआर टेष्टको शूल्क २ हजार तोकेको छ । तर निजी प्रयोगशलाहरुले चर्को शूल्क लिइरहेको पाएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको शूल्क मात्र लिन भनेको थियो ।
तर स्टार, ह्याम्स, बीएण्डबी, मेडिसिटी, डिकोड, सौर्य, सेन्ट्रल डायगनोस्टिक र इन्ट्राप्रिड प्रयोगशालाले संयुक्त वव्यक्त जारी गर्दै ३८९९ रुपैयाँ शूल्क लिने बताएका छन् । विश्व श्वास्थ्य संगठनको मापदण्ड बमोजिम यो शूल्क यथार्थपरक रहेको उमेत उनीहरुले दाबी गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारले तोकेको मापदण्ड भन्दा बाहिर गई पीसीआर परीक्षण नगर्न निजी प्रयोगशालाहरुलाई निर्देशन दिएको छ । निजी प्रयोगशालाले शुल्क लिएर मापदण्ड बाहिरका मानिसको परीक्षण गर्दा कोरोना नियन्त्रणका लागि सरकारले गरिरहेको काममा अप्ठ्यारो पर्ने भन्दै जथाभावी परीक्षण नगर्न मन्त्रालयले भनेको हो ।
लक्षण भएका, कन्ट्याक ट्रेसिङमा परेका, अग्रपंक्तिमा खटिएका लगायत सरकारले तोकेको मापदण्डभन्दा बाहेकलाई परिक्षण गराउनु गलत भएको मन्त्रालयले जनाएको छ । यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण गर्दा आउने रिपोर्ट सिधै सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउन मुलुकभरका प्रयोगशालालाई निर्देशन दिएको छ ।
यसअघि पोजेटिभ नतिजा आएमा प्रयोगशालाले सम्बन्धित व्यक्तिलाई नदिई काठमाडौंको टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाउने गरेको थियो । मन्त्रालयका अनुसार यसअघि स्वास्थ्य संस्थामै आइशोलेशनमा राखिने भएकोले पोजेटिभ रिपोर्ट महाशाखामा उपलब्ध गराउन भनिएकोमा पछिल्लो समय होम आइसोलेशनको पनि व्यवस्था गरिएकोले रिपोर्ट सिधै संक्रमितलाई वा उसका परिवारलाई दिन भनिएको हो ।
यसैबीच निजी मेडिकल कलेजले पीसीआर परीक्षण गरेर मात्र परीक्षामा सहभागी गराउने भनि गरेको निर्णयमा वैज्ञानिक आधार नभएको भन्दै सरकारले सो निर्णय कार्यन्वयन नगर्न आग्रह गरेको छ । पछिल्लो समय निजी मेडिकल कलेजले परीक्षामा सहभागी हुन पीसीआर परिक्षण अनिवार्य गरेपछि मन्त्रालयले निजी कलेजहरुलाई सो आग्रह गरेको हो ।
यता औषधि व्यवस्था विभागले थप ९ कम्पनीका ह्यान्ड स्यानिटाइजरको बिक्री वितरणमा रोक लगाएको छ । विषाक्त रसायन मेथानोल समावेश भएको तथा मापदण्डविपरीतका रसायन मिसिएको पाइएकाले विभागले ती स्यानिटाइजरमा प्रतिबन्ध लगाएको बताएको छ ।
विभागले रसायन समावेश भएका ह्यान्ड स्यानिटाइजरले मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर पार्ने हुँदा सर्वसाधारणलाई प्रयोग गर्न र नगराउन आग्रह गरेको छ । यस्तै यी स्यानिटाइजरको उत्पादन तथा बिक्रीवितरण रोक्न पनि विभागले सूचना जारी गरेको छ ।
‘४५ प्रतिशत सेनिटाइजर गुणस्तरहीन’
प्रतिबन्ध लगाइएका स्यानिटाइजरमा भारत उत्तराखण्डको सिभिका कस्मेस्युटिकल्स कम्पनीको हर्बल ट्री ह्यान्ड स्यान्टिाइजर, पर्साको आर केमिकल इन्डस्ट्रीको क्लिन ह्यान्ड स्यानिटाइजर र बनेपाको कुमकुम हर्बल इन्डस्ट्रीको कुमकुम ह्यान्ड स्यानिटाइजरका दुई वटा(५०० मिली र ५ लिटर)का रहेका छन् ।
त्यसैगरी ओम आरोग्य हेल्थकेयर प्रालिको इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर, काठमाडौंको साधना सप्लायर्सको साधना इन्सट्यान्ट ह्यान्ड स्यानिटाइजर र काठमाडौंको कालिका सोप एन्ड केमिकल्स प्रालिको ड्रोन ह्यान्ड स्यानिटाइजरको ( पहेँलो रंग) र रंग नमिसाइएको रहेका छन् । यसअघि विभागले ९ वटा ह्यान्ड स्यानिटाइजर गुणस्तरहीन पाइएको भन्दै बिक्रीतिवरणमा रोग लगाइसकेको छ ।
प्रतिक्रिया