• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति समाचार

    परराष्ट्रमन्त्री ज्ञवालीलाई ठुलो झट्का, राजीनामा मागियो

    6.1K
    SHARES

    काठमाडौँ । सरकराका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ठुलो झट्का लागेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाको राजीनामा माग्दै सुर्खेतमा प्रदर्शन भएको छ । राष्ट्रिय एकता अभियानका नाममा उक्त प्रदर्शन भएको हो । हुम्लामा चीनले सीमा मिचेको भन्ने विषयमा सरकारको तर्फबाट परारष्ट्रमन्त्री ज्ञवालीले दिएको प्रष्टीकरण आपत्तिजन रहेको राजीनामा मागेर प्रदर्शन गरेको हो ।

    कर्णाली प्रदेश सदरमुकाम सुर्खेतको वीरेन्द्रनगरमा भएको प्रदर्शनमा सहभागीले सीमा अतिक्रमण बन्द गर, चिनियाँ विस्तारवाद मुर्दावाद, हुम्लाको नेपाली भूमिबाट चिनियाँ फिर्ता जाऊ, सोझो नेपालीसँग छलछाम बन्द गर लगायतका नारा लगाएका थिए । उनीहरुले ‘गो ब्याक चाइना’, नेपाल आमाको जय, राष्ट्रिय एकता अभियान जिन्दावाद भन्ने नारा लगाएको स्थानीयले बताएका छन् ।

    प्रदर्शनमा उत्रिएका मध्ये २ जना पक्राउ परेका छन् । अभियन्ता लेखक गौतम र प्रवेश सुनुवारलाई प्रहरीले पक्राउ गरेको अभियानका केन्द्रीय संयोजक विनय यादवले जानकारी दिए । उनले भने, ‘शन्तिपूर्ण आन्दोलनमा पनि प्रहरीले दमन गरेको छ । यो सरासर गलत हो, हाम्रा अभियन्तालाई प्रहरीले तत्काल नछाडे कडा आन्दोलन गर्न बाध्य हुनेछौँ ।’ पक्राउ परेका अभियन्तालाई तत्काल रिहा गर्न पनि उनले माग गरेका छन् ।

    हुम्लाको मान्खा गाउँपालिकामा चीनले नेपाली भूमि मिचेर आधुनिक भवनहरू बनाएको भन्ने समाचार आएपछि बुधबार मन्त्री ज्ञवालीले चीनले आफ्नै भूमिमा संरचनाहरु बनाएको र नेपाली भूमि नमिचेको बताएका थिए । लगत्तै परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी समाचारको खण्डन गर्दै चीनले सीमाबाट करिब एक किलोमिटर टाढा आफ्नै भूमिमा संरचनाहरू बनाएको जनाएको थियो ।

    यस्तै यता राजधानी काठमाडौँको माइतीघर मण्डलाबाट १७ जनालाई प्रहरीले पक्राउ गरेको छ। वरिष्ठ चिकित्सक गोविन्द केसीको समर्थनमा आन्दोलन गर्ने क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। माइतीघर मण्डलाको निषेधित क्षेत्र तोड्न र यातायात अवरुद्ध पार्न खोजेपछि उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

    पक्राउ पर्नेमा अभियन्ता पुकारबमसहित छन्। १७ मध्ये १५ पुरुष र एक महिला रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई साँझ ५ बजे छोडिने परिसर प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए।

    वरिष्ठ चिकित्सक केसी १२ दिनदेखि सत्याग्रहमा छन्। तर, सरकारले उनीसँग वार्ता गर्नका लागि कुनै पहल गरेको छैन। स्वास्थ्य अवस्था जटिल हुँदै गइरहे पनि केसीसँग संवाद नगरेको भन्दै यसअघि मानवअधिकार आयोगले सरकारलाई ध्यानाकर्षण गराएको थियो। केसीको अनसन लम्बिँदै जाँदा उनको समर्थनमा प्रदर्शन पनि तीव्र भइरहेको छ।

    यसपटक ६ बुँदे माग राख्दै केसीले जुम्ला जिल्लामा अनसन थालेका थिए। उनलाई केही दिनअघि काठमाडौं ल्याइएको थियो। उनी अहिले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा अनसनरत् छन्। आमरण अनसनमा रहेका डा. गोविन्द केसीले आफ्नो माग पूरा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

    अनसनस्थल त्रिवि शिक्षण अस्पतालबाट शुक्रबार भिडियो सन्देश जारी गर्दै डा. केसीले प्रधानमन्त्री ओलीलाई भनेका छन्, ‘यो साधारण माग छ, पूरा गरिदिनुस् । ’प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज वा प्रतिष्ठान बनाउने सहमति भएर चिकित्सा शिक्षा अध्यादेशमा आएपछि कार्यान्वयन नभएको डा. केसीले बताए । ‘कर्णाली प्रतिष्ठन खुलेको ८ वर्ष भइसक्यो, एमबीबीएस कार्यक्रम सुरु हुन सकेको छैन’ उनले भने, प्रदेश २ र ४ मा पनि निर्माण सुरु हुनुपर्ने हो ।’

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका थुप्रै फाइल रोकेको भन्दै उनले आयुक्तहरुको सम्पत्ति छानबिन गर्नुपर्ने उनले बताए । आफ्ना अरु माग पनि साधारण रहेको भन्दै उनले सम्बोधन गर्न प्रधानमन्त्रीलाई आग्रह गरे । माग सम्बोधन नगर्ने हो भने आफ्नो सत्याग्रह जारी रहने डा. केसीले बताएका छन् ।

    सरकारले सम्झौताहरु कार्यान्वयन गर्नुको साटो उल्लंघन गरिएको भन्दै उनले असन्तुष्टि जनाएका छन् । ओली प्रधानमन्त्री भएको बेला पाँचौं पटक सत्याग्रह बसेका उनले भने, ‘तपाईंको कार्यकालमा उपलब्धि भएको छैन, बरु भएको गुम्ने अवस्था छ । हामी अनसन बसेकै बेलामा (चिकित्सा शिक्षा) ऐन ल्याउँदा पनि जनतामुखी बुँदा हटाएर माफियामुखी बुँदा ल्याउने काम भयो ।

    दशैँ-तिहारमा फेरि लकडाउन गर्ने ओली सरकारको तयारी

    नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार भन्दा धेरै भए देशको स्वास्थ्य प्रणालीले थेग्न नसक्ने भएकाले त्यस्तो अवस्थामा विभिन्न ठाउँमा पुन: लकडाउन गर्नुको विकल्प नहुने निष्कर्षमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पुगेको छ।

    यसको सङ्केत मन्त्रालयले तीन दिनअघि गरेको नियमित प्रेस ब्रीफिङमा दिइसकेको छ। दशैँ, तिहार तथा छठ मुखमै आएको बेला महामारीका कारण फेरि लकडाउन भएर फेरि असजिलो हुने हो कि हो कि भन्ने आशङ्का धेरैमा छ।

    “धेरैको चासो यतिखेर दशैँ-तिहारमा फेरि लकडाउन गरिन्छ कि भन्नेमा छ। तर त्यसको जबाफ त्यही २५ हजारको सीमासँग जोडिन्छ,” मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भने। यसअघि लगाइएको लकडाउन र निषेधाज्ञा हटाइएपछि केही जिल्लामा सङ्क्रमणको दर नरोकिएको तथ्याङ्कले देखाउँछ।

    सङ्क्रमणबाट निको दर पनि केही सातायता ७० प्रतिशतभन्दा माथि कायम छ। शुक्रवार नेपालमा सङ्कक्रमितको कुल सङ्ख्या ७० हजार नाघेको थियो। रोगमुक्तहुने सङ्क्रमितको सङ्ख्या ५१ हजार ८ सय पुग्दा सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार नाघेको थियो।

    भदौ २४ गतेदेखि दैनिक १ हजार भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्। दैनिक थपिने सङ्क्रमितमध्ये आधाजसो काठमाडौँ उपत्यकामा हुने गरेका छन्। उपत्यकामा बाहेक अहिले मोरङ, सिराहा, चितवन र रूपन्देहीमा सक्रिय सङ्क्रमितको सङ्ख्या धेरै छ।

    पछिल्ला दिनमा दैनिक १० हजारको हाराहारी पीसीआर परीक्षण हुने गरेको छ। विगतमा परीक्षण गरिएका नमुनाको सङ्ख्यासँग ‍तुलनामा गर्दा अहिले सङ्क्रमित भेटिने सङ्ख्या बढेको देखिन्छ। तर यतिखेरको खास समस्या परीक्षणभन्दा पनि स्वास्थ्य मापदण्ड पालना नहुनु भएको सरकारी पक्षको दाबी छ।

    सहप्रवक्ता अधिकारी भन्छन्, “मानिसहरूको आउजाउ निकै बढेको छ। तर उनीहरूले १४ दिन क्वारन्टीनमा बस्ने मापदण्ड पालना गरेका छैनन्। अबको समस्याको जड त्यो हुने देखिन्छ।” तर परीक्षणलाई जटिल बनाइएका कारण क्वारन्टीन नबस्नुलाई समस्या देखिएको मान्यता पनि केही विज्ञहरूको छ।

    जनस्वास्थ्यविज्ञ डा. बाबुराम मरासिनी परीक्षणको रकम अझै महँगो हुनुको बाँकी समस्यासँग सम्बन्ध भएको तर्क गर्छन्। त्यसकै कारण नेपालमा दैनिक २३ हजार वटाभन्दा धेरै परीक्षण गर्ने सरकारी क्षमता रहेको बताइँदा पनि त्यसको आधाजित सङ्ख्यामा मात्र पीसीआर हुने गरेको छ।

    “सस्तोमै र सहजै परीक्षण गर्न सक्ने व्यवस्था हुन्थ्यो भने हरेक यात्रा वा सार्वजनिक कार्यक्रमका अगाडि तिनलाई अनिवार्य बनाउन सकिन्थ्यो। अझै त्यो नेपालीको हैसियतभन्दा महँगो छ,” डा. मरासिनीको भनाइ छ। “सरकारले चाहने हो भने अहिलेको अधिकतम २ हजार रुपैयाँ लाग्ने परीक्षणको मूल्यलाई आधाभन्दा बढीले कम गर्न सकिन्छ।”

    जनस्वास्थ्यविज्ञ मरासिनी भन्छन्: “महामारी व्यवस्थापनको स्पष्ट रणनीति नहुँदा अहिले अवस्था धेरै बिग्रिएको र सरकारले जोडबल गरेर सम्पर्क व्यक्ति पहिचानको काम गर्न छाडेको बताउँछन्। कम्तीमा परिवारका अन्य सदस्यको मात्रै परीक्षण सुनिश्चित गर्न सके पनि राम्रै हुन्थ्यो।”

    सङ्क्रमित व्यक्तिलाई समेत कमजोर परामर्श र जाँच नतिजाकै जानकारी ढिलो हुने गरेकाले त्यसको प्रभावकारिता कम देखिएको उनी ठान्छन्। मन्त्रालयका सहप्रवक्ता अधिकारीले देशभरि जहाँसुकै हुने परीक्षणको विवरण सरकारलाई बुझाउनै पर्ने नियम बनाइएको र त्यसकै आधारमा सम्पर्क व्यक्ति पहिचानको काम नटुटेको दाबी गर्छन्।

    बिहीवार अहिलेसम्मकै उच्च एकै दिन १७ जनाको कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु भएको सरकारले पुष्टि गर्‍यो। गत साता दैनिक सङ्क्रमितको सङ्ख्याले समेत २ हजार नाघिसकेकोले त्यस्ता अवस्थामा २५ हजार सङ्क्रमित पुग्न एक साता नै काफी हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका थिए। तर सङ्क्रमितहरू थपघट हुने क्रम चलिरहेको छ।

    जनस्वास्थ्यविज्ञ मरासिनी भन्छन्, “न त अन्यत्र झैँ नेपालमा तत्काल हर्ड इम्यूनिटी हुने सम्भावना छ, न भाइरस निष्क्रिय हुनसक्ने देखिएको छ। नेपालको अवस्था अझै सङ्क्रमणको दोसाँधमा छ।”

    स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. अधिकारी भने अहिलेसम्म नेपालमा जोखिम वर्गमा पर्ने जेष्ठ नागरिकहरू अन्यत्र जसरी धेरै प्रभावित नभएकाले त्यो कायम राख्नुपर्ने चुनौती रहेको बताउँछन्। उनी भन्छन्, “दशैँ-तिहारमा त्यो कायम राख्ने सबैभन्दा ठूलो चुनौती यतिखेर हामीसँग छ।” बीबीसीबाट

    कोरोना भाइरस नेपालः भेन्टिलेटर ब्याङ्क – ‘सरकारी अस्पताललाई सित्तै, निजीबाट दैनिक रु ३००० भाडा’

    कोरोनाभाइरस महामारीसँगै पछिल्लो समय प्लाज्मा ब्याङ्कको अवधारणा सुनिँदै गर्दा पाँच जनाको एउटा समूह नेपालमा ‘भेन्टिलेटर ब्याङ्क’ स्थापना गर्ने सोचका साथ अघि बढ्यो। कुरा गत चैत महिनातिरको हो जब कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै नेपाल सरकारले देशव्यापी लकडाउन घोषणा गर्‍यो।

    त्यतिबेला सङ्क्रामक रोग विशेषज्ञ तथा जनस्वास्थ्यविद्‌ले कोरोनाभाइरस सङ्क्रमणका गम्भीर बिरामी बढ्दै गए आईसीयू र भेन्टिलेटरको अभाव हुनसक्ने भन्दै राज्यलाई सचेत गराउन थालिसकेका थिए।

    “यो पृष्ठभूमिमा कुनै सिकिस्त बिरामीले भेन्टिलेटरकै अभावमा ज्यान गुमाउन नपरोस् भनेर हामीले भेन्टिलेटर ब्याङ्क स्थापना गर्ने सोच बनायौँ,” नेपाल भेन्टिलेटर सर्भिसेजका संस्थापकमध्येका एक डा. विशाल ढकालले बीबीसी न्यूज नेपालीसित भने। “ब्याङ्क भनेपछि रकमको कारोबार गर्नेलाई भन्ने गरिएको कुरा आयो। त्यो भएर अन्ततः नेपाल भेन्टिलेटर सर्भिसेजको नाममा संस्था दर्ता भयो।”

    वैशाखको मध्यतिर गैरनाफामूलक संस्थाको रूपमा कम्पनी ऐनअन्तर्गत दर्ता भएको नेपाल भेन्टिलेटर सर्भिसेजले यथास्थितिमा फिर्ता लिनेगरी अस्पतालहरूलाई भेन्टिलेटर उपलब्ध गराउँदै आएको अर्का संस्थापक तथा नेपाल सरकारका पूर्वअर्थसचिव रामेश्वर खनालले बताए।

    “सरकारी अस्पतालले हामीलाई भाडा तिर्नुपर्दैन, ओसारपसार लगायतका खर्च कुनै संस्थाले बेहोरिदिन्छन्। निजी अस्पतालले चाहिँ एउटाको दैनिक तीन हजार रुपैयाँ तिर्नुपर्ने गरी हाम्रा भेन्टिलेटर पाउँछन्।”

    “निजी अस्पतालले भेन्टिलेटर प्रयोग गरेबापत एउटा बिरामीबाट दैनिक ८-९ हजार रुपैयाँ लिने गरेकोमा हामीले तीन हजारमा उपलब्ध गराउँदा चार हजारसम्ममा बिरामीले पाऊन् भनेर लागत खर्च उठ्ने गरी दिने गरेका छौँ,” खनालले थपे।

    ढकालका अनुसार नेपाल भेन्टिलेटर सर्भिसेजले काठमाण्डूस्थित त्रिवि शिक्षण अस्पताल, ललितपुरको पाटन अस्पताल, वीरगञ्जको नारायणी अस्पताल, जनकपुरस्थित जनकपुर अस्पातल र नेपालगञ्जको भेरी अस्पताल लगायतलाई गरी करिब ३० वटा भेन्टिलेटर असोज पहिलो हप्तासम्म उपलब्ध गराइसकेको छ।

    सात प्रदेशमध्ये पाँच प्रदेशका अस्पतालमा आफूहरूले भेन्टिलेटर उपलब्ध गराएको उनी बताउँछन्। “हामीकहाँ अवस्था कस्तो छ भने भेन्टिलेटर कहाँ छ त्यो हेरेर सिकिस्त बिरामीलाई त्यहीँ पुर्‍याउनुपर्छ। त्यसो भएर भेन्टिलेटर भएको ठाउँमा बिरामी दौडिने होइन कि बिरामीसम्म भेन्टिलेटर दौडिनुपर्छ भन्ने हाम्रो अवधारणा हो। अर्को कुरा भेन्टिलेटर सेवा सस्तोमा पाइयोस्,” खनालले भने।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ