• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    भाेलीदेखि खुल्ने भए विद्यालय, जारी भयाे यस्ताे सूचना

    2.7K
    SHARES

    सिरहा । स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी सिरहाको मिर्चैया नगरपालिकाभित्रका विद्यालय आइतबारदेखि सञ्चालन हुने भएका छन् । विश्वव्यापी रुपमा फैलिएको काेराेनाको सङ्क्रमणका कारण लामो समयदेखि अवरुद्ध पठनपाठन नगरपालिकाको निर्णयअनुसार असोज ११ गतेदेखि नगर क्षेत्रका निजी तथा सामुदायिक विद्यालय सञ्चालन हुने भएको हो ।

    मिर्चैया नगरपालिकाको शिक्षा शाखाले सूचना जारी गरी सुरक्षा मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गर्न लागिएको जानकारी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट यसअघि जारी गरिएको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ को व्यवस्थाबमोजिम नगरपालिकाले स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गर्न लागेको जनाइएको छ ।

    कक्षा सञ्चालन गर्दा सामाजिक दूरी कायम हुने गरी सिफ्टमा सञ्चालन गरिनुपर्ने, लकडाउनकाे अवधिको कुनै पनि शुल्क विद्यालयले अभिभावकसँग लिन नपाउने निर्णय गरेको सूचनामा उल्लेख छ । विद्यार्थीलाई बसमा ल्याउँदा एकातर्फको जोडी सिटमा एक जना मात्र बस्ने र विद्यालयमा प्रवेश गर्नुअघि साबुन पानीले हात धुन लगाएर मास्कसहित मात्रै प्रवेश गराउन निर्देशन गरिएको छ ।

    यस्तै विद्यालयमा एउटा डेस्कमा बढीमा दुई जना मात्र बस्न पाउने तथा विद्यालयमा भौतिक दूरी कडाइका साथ पालना गराउने सूचनामा उल्लेख छ । विद्यार्थीमा कुनै किसिमको लक्षण देखिए तत्कालै जाँच गराउन लगाउने पनि भनिएको छ ।

    यसैबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहको भर्ना एक हप्ताभित्र सम्पन्न गर्न निर्देशन दिएको छ । शिक्षा मन्त्रालयले तयार पारेको विद्यालय शिक्षा सम्बन्धी आकम्मिक कार्ययोजनामा विद्यालय भर्ना हुन बाँकी र स्थानान्तरित विद्यार्थीलाई असोज दोस्रो सातासम्म भर्ना भइसक्नुपर्ने उल्लेख छ ।

    कार्ययोजना अनुसार असोज पहिलो साताभित्र शिक्षकहरू कार्यस्थलमा पुगिसक्नुपर्ने, शिक्षक घरदैलो कार्यक्रम सञ्चालन गर्नुपर्ने र असोज दोस्रो साताभित्र विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुगिसक्नुपर्नेछ । निजी तथा संस्थागत विद्यालयहरूले लिने शूल्क पनि असोज दोस्रो सातासम्म पुनरावलोकन गरिसक्नुपर्ने कार्ययोजना बनेको छ ।

    मन्त्रालयले यसअघि जारी गरेको विद्यार्थी सिकाई सहजीकरण निर्देशिकामा ‘विद्यालयले लिन पाउने शूल्क प्रचलित कानुनको अधीनमा रही स्थानीय तहले स्वीकृत गरे बमोजिम हुने’ भनिएको छ । विद्यालयहरूले आगामी एकहप्ताभित्र सम्बन्धित पालिकाहरूबाट आफूले लिने शूल्क स्वीकृत गराउनुपर्ने मन्त्रालयले जनाएको छ ।

    आधा शूल्क घटाउन माग

    नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण विद्यालय कहिले खुल्छ निश्चित छैन । अहिलेसम्मको अवस्था हेर्दा दूरशिक्षाको विकल्प नभएको शिक्षाविदहरू बताउँछन् । अनलाइन कक्षा सञ्चालन गरेकै आधारमा विद्यालयहरूले साधारण अवस्थामा जस्तो पूर्ण शूल्क लिन नमिल्ने अभिभावकहरूको माग छ ।

    संस्थागत विद्यालय अभिभावक संघका अध्यक्ष सुवास भण्डारी संक्रमणकालीन शूल्क निर्धारण गर्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘यस्तो बेलामा मासिक शूल्कको ५० प्रतिशत भन्दा बढी शूल्क लिनै मिल्दैन ।’

    अभिभावक संघ नेपालका अध्यक्ष केशव पुरी खाँदै नखाएको खाजा, प्रयोग नै नगरेको यातायात, प्रयोगशाला, पुस्तकालय जस्ता शीर्षकमा शूल्क लिन नहुने बताउँछन् । बोर्डिङहरूले शूल्क निर्धारण गर्दा लकडाउन र निषेधाज्ञाको मारमा अभिभावक पनि परेका छन् भन्ने बिर्सन नहुने पुरीको सुझाव छ ।

    सैराकरले एक हप्ताभित्र भर्ना अभियान सक्न निर्देशन दिएपछि  विद्यार्थी र अभिभावकहरु तनावमा परेका छन् । बिशेषगरि बिकट जिल्लाका विद्यार्थी र अभिभावकहरुलाई १ हप्ताभित्र भर्ना सक्नुपर्ने खबरले पिरोलेको छ ।

    छठलगत्तै सबै विषयका परीक्षा गर्ने त्रिविको तयारी

    त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मङ्गलबार बसेको बैठकले छठलगत्तै रोकिएका परीक्षा सञ्चालन गर्न तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो ।

    त्रिविले विद्यार्थीलाई पायकपर्ने ठाउँबाट नै परीक्षा दिने वैकल्पिक व्यवस्थासहित छठलगत्तै परीक्षाको तयारी थाल्न निर्देशन दिइएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

    त्रिविले कोभिड–१९ का कारणले सबै रोकिएका परीक्षा छठलगत्तै गर्ने गरी दशैं अगाडि नै परीक्षाको कार्यतालिका सार्वजनिक गर्न सम्बन्धित डिन कार्यालयलाई पत्रचारसमेत गरिसकेको छ । त्रिविले विद्यार्थी थोरै भएका परीक्षा भने दशैँ र तिहारको बीचमा गर्नेसक्ने जनाएको छ ।

    ‘यही अहिलेको स्थितिमा हामी छठपछि परीक्षा लिने तयारीमा रहेको छौँ’, उनले भने, ‘स्थिति अहिलेको भन्दा जटिल भयो भने फेरि पनि के गर्ने भन्ने हुन्छ, होइन भने छठपछि सबै परीक्षा हुन्छन् ।’ पनिकाले बुधबार नै सबै डिन कार्यालयलाई परीक्षाको तयारी थाल्नका लागि परिपत्र गर्ने उनले जानकारी दिए ।

    त्रिविले भौतिक दूरी र स्वास्थ्यको मापदण्ड तोकेर परीक्षा लिने व्यवस्था गर्ने छ । पनिकाले वार्षिक परीक्षा र सम्बन्धित डिन कार्यालयले सेमेष्टर परीक्षा लिने छन् । त्रिविका रजिष्ट्रार प्रा डा पेशल दाहालले स्थगित भएका सबै परीक्षा सञ्चालन गर्नका लागि तयार गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिइसकेको जानकारी दिए ।

    ‘हामीले सबै सम्बन्धित कार्यालयलाई छठलगत्तै परीक्षा सञ्चालनका लागि आवश्यक तयारी गर्न निर्देशन दिइसकेका छौ’, उनले भने, ‘अब चाँडै नै परीक्षाको सञ्चालनको तयारीमा ती कार्यालय जुट्नेछन् । भौतिकरुपमा विद्यार्थीलाई उपस्थित गराएर परीक्षा लिन भनेको छौँ ।’

    त्रिविले अहिले पनि न्यून सङ्ख्या भएका परीक्षा सञ्चालन गरिरहेको छ । रजिस्ट्रार दाहालले फाराम भरेकाको परीक्षा पहिले गर्ने र त्यसपछि अन्य परीक्षा सञ्चालन गरिने बताए । यसैगरी त्रिविले सेमेष्टरको भर्चुअल परीक्षा गर्नेबारे छलफल गरे पनि अब त्यो विकल्पको प्रयोग नगर्ने भएको छ ।

    परीक्षा नियन्त्रक जोशीले केही डिन कार्यालयले सेमेष्टर प्रणाली परीक्षा भर्चुअल विधिबाट गर्ने प्रस्ताव गरे पनि अब विद्यार्थीलाई भौतिक उपस्थिति गराएर परीक्षा गर्ने भएको जानकारी दिए । कोभिड–१९ का कारणले केही विश्वविद्यालयले खुला किताब (ओपन बुक) गरेर भर्चुअल विधिबाट परीक्षा लिएका छन् ।

    रजिष्ट्रार प्रा. डा. दाहालले माघसम्म सबै परीक्षा सकेर आगामी फागुन/चैतदेखि पढाइ सञ्चालन गर्ने तयारी रहेको जानकारी दिए । कोभिड–१९ का कारणले त्रिविका चैतदेखि सञ्चालन हुने सबै परीक्षा स्थगित भएका छन् । अत्यन्तै न्यून भएका परीक्षा भने त्रिविले अहिले पनि भौतिक दूरी कायम राखेर सञ्चालन गरिरहेको छ

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ