• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    मन्त्रीमण्डल पुनर्गठन गर्नेबारे ओली-प्रचण्डबीच ३ घण्टा छलफल, क कसको मन्त्री पद पर्यो धरापमा ?

    754
    SHARES

    मन्त्रीमण्डल पुनर्गठन, संवैधानिक एवं राजनीतिक नियुक्तिको विषयमा सहमति जुटाउन सत्ताधारी दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भेटेर छलफल गरेका छन् । तर, पुनर्गठन र नियुक्तिको साझा मापदण्ड बनाउन सकेनन् ।

    झन्डै तीन घण्टा चलेको छलफलमा मन्त्रीमण्डल पुनर्गठनकै विषयमा अधिकांश समय गएको बुझिएको छ । सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुनर्गठनमा तीन विकल्प प्रस्तुत गरे पनि अहिलेसम्म मापदण्ड तय हुन सकेको छैन । दुई अध्यक्षबीच यस विषयमा पुनः छलफल हुनेछ ।

    मंगलबारको सचिवालय बैठकले संविधानअनुसार संवैधानिक नियुक्तिहरू गर्न सरकारलाई सुझाव दिएको थियो । सोही बैठकले पार्टी एकता र एकीकरणका बाँकी काम पूरा गर्न १० दिनभित्र कार्ययोजना तयार गर्न पनि अध्यक्षद्वय र महासचिवलाई जिम्मा दिएको थियो ।

    मन्त्रीमण्डल पुनर्गठनमा प्रधानमन्त्री ओलीले अहिले रहेका केही मन्त्रीलाई निरन्तरता दिनुपर्ने अडान राखेका छन् भने अध्यक्ष प्रचण्डले भने दुई वर्ष कार्यकाल पूरा भएका सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ अनुहारलाई सरकारमा पठाउनुपर्ने अडान राख्दै आएका छन्।

    चार महिना लामो आन्तरिक विवाद समाधान गरेको नेकपाभित्र अहिले मन्त्रीमण्डल पुनर्गठनको एजेन्डाले प्राथमिकता पाएको छ । मन्त्री भएकाहरूलाई मन्त्रीमै यथावत् राख्न र मन्त्री बन्ने आकांक्षीहरू प्रधानमन्त्री निवास बालुवाटार र प्रचण्ड निवास खुमलटारमा धाउने क्रम पनि बढेको छ । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

    यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्को गरिमा कायम राख्न सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै नेकपा नेतृत्वको सरकारले संवैधानिक परिषदको गरिमालाई अवमूल्यन गरेको भन्दै नेकपा सचिवालय संवैधानिक परिषद्जस्तो बनाउन खोजेको आरोप लगाएका हुन् ।

    विज्ञप्तिमा भनिएको छ,‘लोकतान्त्रिक राज्य ब्यवस्थामा संवैधानिक परिषद्को अलग्गै महत्त्व, मर्म एवम् मुल्य हुन्छ र हुनुपर्दछ भन्ने सरकारले नबुझ्नु दुःखद त छ नै, लोकतान्त्रिक पद्धतिका लागि सुखद संकेत होइन ।’

    संवैधानिक निकायहरूको गठनमा ढिलाइ गरेर अध्यादेश मार्फत संवैधानिक परिषदकै औचित्य समाप्त पार्ने षड्यन्त्र सरकारले गरेको कांग्रेसको आरोप छ ।

    विज्ञप्तिमा नेकपा सचिवालय नै संवैधानिक परिषद्जस्तो बनाउन खोजेको भन्दै भनिएको छ,‘नेकपा सचिवालयको पछिल्लो बैठकले संवैधानिक नियुक्तिहरु गर्ने विषयमा जुन रूपमा आफूलाई संलग्न गरायो त्यसबाट यसको बचेको गरिमालाई अन्त्य गर्ने दिशामा सरकार उद्दत रहेको पुष्टि भएको छ ।’ संविधानको व्यवस्थाबाहिर गएर संवैधानिक परिषद र संवैधानिक नियुक्ति नगर्न समेत कांग्रेसले सरकारसँग अपिल गरेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया