• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    देशैभर बिजुली जान थालेपछि विद्युत प्राधिकरणले बल्ल मुख खोल्यो, दियो यस्तो प्रष्टीकरण

    5.1K
    SHARES

    काठमाडौं । संघीय राजधानी काठमाडौँ सहित देशैभर बिजुली जान थालेपछि नेपाल विद्युत प्राधिकरणले बल्ल मुख खोलेको छ। देशका अधिकांस स्थानहरुमा नियमित रुपमा बिजुली जान थालेपछि कतिपयले फेरि लोडसेडीङ सुरु भएको अनुमान गरिरहेका बेला नेपाल विद्युत प्राधिकरणले नियमित विद्युत आपूर्ति गर्न प्राधिकरण प्रतिवद्ध रहेको बताएको छ।

    एक सूचना जारी गरेर प्राधिकरणले प्रशारण एवम् वितरण लाइनको सञ्चालन तथा विद्युत आपूर्तिको निरन्तरता, विद्युत महशुल र भुक्तानी सम्वन्धमा उपभोक्ताले देखाएको चासो र चिन्ताको सम्वन्धमा सजग रहेको बताएको छ ।

    ‘विद्युतको प्रशारण तथा वितरण संरचना जमिनमाथि (ओभर हेड)बाट गएकोले प्रतिकुल मौसमका कारण कुनै-कुनै स्थानमा विद्युतीय प्रणालीमा समस्या आउने गरेको छ, नियमित रुपमा गर्नुपर्ने मर्मत संभार तथा प्रणाली सुधारको कार्य गर्नुपर्दा विद्युत आपूर्ति बिच्छेद गर्नुपर्ने भएकोले यस्तो अबस्थामा विद्युत आपूर्तिमा निर्धारित समयसम्म अवरुद्ध हुने गर्दछ,’ प्राधिरकणले भनेको छ । समस्याहरुको निराकरण तथा सुधार गर्दै नियमित विद्युत आपूर्ति गर्न प्रतिवद्ध रहेको प्राधिकरणले बताएको छ ।

    विद्युत आपूर्तिमा आउने अवरोधलाई जोडेर ‘अब लोडसेडिङ हुन थाल्यो’ भन्ने जस्ता अफवाह पनि सुनिने गरेको भन्दै प्राधिकरणले त्यसमा कुनै सत्यता नभएको र त्यस्तो अवस्था नरहेको बताएको छ । आम उपभोक्ताहरुमा थप भरपर्दो र नियमित विद्युत सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको प्राधिकरणले दोहोर्‍याएको छ ।

    यस्तै ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले पछिल्लो केही दिनयता विद्युत वितरण प्रणालीमा उत्पन्न समस्या तत्काल समाधान गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् । मन्त्री पुनले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालासहित आधा दर्जन बढी उपकार्यकारी निर्देशकहरुलाई बिहीबार मन्त्रालयमा बोलाएर समस्या तत्काल सम्बोधन गर्न निर्देशन दिएका हुन् ।

    मन्त्री पुनले निमित्त कार्यकारी निर्देशक कोइरालालाई पूर्ण अधिकार प्रयोग गरी काम गर्न र ठूलै समस्या आए तत्काल आफूलाई जानकारी दिन पनि भने । ‘जनता हाम्रा ग्राहक हुन्, ग्राहकका गुनासा तत्काल सम्बोधन गर्नुस्’, मन्त्री पुनले भने, ‘नियमित विद्युत सेवा पाइरहेका जनताले सेवा अनियमित हुँदा गरेको गु्नासालाई नकारात्मक रुपमा नलिऔं, नियमित विद्युत पाउनु जनताको अधिकार हो भन्ने ख्याल गरेर काम गरौं, छिटोभन्दा छिटो गुनासाहरुको सम्बोधन गरौं ।’

    मन्त्री पुनले हाल प्राधिकरण कार्यकारी निर्देशक बिहीन रहेको विषयसँग जोडेर केही मानिसले सरकार, मन्त्रालय र प्राधिकरणको नियतमाथि प्रश्न उठाइरहेको भन्दै ती प्रश्नको व्यवहारबाटै जवाफ दिनुपर्नेमा जोड दिए । ‘समय परिस्थिति र घटनाक्रमका कारण पनि सरकार, मन्त्रालय र प्राधिकरणमाथि कतिपय स्वाभाविक, कतिपय अस्वाभाविक र कतिपय नियोजित गुनासा आएका छन्’, मन्त्री पुनले भने, ‘जायज र स्वाभाविक गुनासोलाई सम्मान गर्दै आफ्नो काम इमान्दारीपूर्वक गरौं, नियोजित आशंका आफैं हटेर जान्छन् ।’

    मन्त्री पुनले विद्युत जनताको जीवनसँग अभिन्न रुपले जोडिएकाले त्यस्तो संवेदनशील निकायलाई एक मिनेट पनि ढिला गर्ने छुट नभएको उल्लेख गरे । उनले कोभिड–१९ का कारण विद्यालय र विश्वविद्यालयहरुको पठनपाठन अनलाइन कक्षामार्फत भइरहेकाले पनि विद्युत अनियमित हुँदा विद्यार्थीको पढाइमा थप प्रतिकूल असर पर्नसक्नेतर्फ गम्भीर हुनुपर्ने उल्लेख गरे ।

    मन्त्री पुनले प्राधिकरणको कार्यकारी निर्देशक आउने÷जाने प्रक्रिया नियमित भएको स्पष्ट गर्दै प्राधिकरणमा निवर्तमान कार्यकारी निर्देशकसँगै बसेर राम्रो काम गरेको टिममाथि नै प्रश्न उठाएकाले ती प्रश्नका जवाफ कामबाटै दिन आग्रह गरे ।

    मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले नियमित विद्युत पाइरहेका जनता समस्यामा पर्दा शंकाको आँखाले हेर्नु स्वाभाविक भएको बताए । उनले प्राधिकरणका समस्या समाधान गरी जनतालाई नियमित विद्युत उपलब्ध गराउने काममा मन्त्रालय सधैं गम्भीर रहेको स्पष्ट गरे ।

    मन्त्रालयका प्रवक्ता एवं सह–सचिव प्रवीणराज अर्यालले विद्युत प्रणालीमा आएका समस्याबारे समयमै सही सूचना नपाउँदा कतिपय अवस्थामा जनतामा भ्रम पर्न गएको भन्दै सूचना सम्प्रेषणमा ध्यान दिन सुझाव दिए। प्राधिकरणका निमित्त कार्यकारी निर्देशक कोइरालाले खराब मौसमका कारण समस्या आएको भन्दै मौसममा सुधार आएसँगै धेरै हदसम्म समस्या आफैं समाधान भएर जाने जानकारी दिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ