• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    मन्त्रिपरिषद बैठक बस्दै, लकडाउन गर्ने/नगर्नेबारे महत्त्वपूर्ण निर्णय हुनसक्ने

    1K
    SHARES

    काठमाडौं । आज साँझ मन्त्रिपरिषद् बैठक बस्दैछ। बैठक साँझ ५ बजेलाई बोलाइएको सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

    प्रवक्ता ज्ञवालीका अनुसार बिहीबारको मन्त्रिपरिषद् नियमित भएकाले मन्त्रालयगत एजेण्डामा छलफल हुनेछ । मन्त्रिपरिषद‍्को नियमित बैठक साताको सोमबार र बिहीबार बस्ने गरेको छ ।

    आजको नियमित बैठक हो । नियमित बैठकमा मन्त्रालयगत एजेण्डाहरुमा छलफल र निर्णय हुनेगर्छ । त्यसमा पनि आज स्वास्थ्य मन्त्रालयको प्रस्तावमा कोभिड-१९ सँग सम्बन्धित नयाँ केही निर्णयहरु हुन सक्छन्’ मन्त्री ज्ञवालीको भनाइ छ ।

    स्वास्थ्य मन्त्रालयले सक्रिय संक्रमितकोे संख्या २५ हजार पुगेपछि लकडाउन गर्न गरेको सिफारिसका बारेमा केही निर्णय हुन्छ कि भन्ने प्रश्नमा उनले भने, ‘देशभर त अब लकडाउन हुन्न तर संक्रमितको अवस्था हेरिकन आवश्यकता अनुसार निर्णयहरु हुन सक्छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने फेरि लकडाउन गर्न सिफारिस गरेको छ । कोरोना संक्रमण दर तीव्र गतिमा बढेको निचोडसहित मन्त्रालयले सबै सार्वजनिक सेवा र व्यवसाय बन्द गर्न सिफारिस गरेको हो ।

    स्वास्थ्य मन्त्रालयअन्तर्गतको इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधबार बिहान बसेको बैठकले फेरि एक महिना सबै सार्वजनिक सेवा र व्यवसाय बन्द गर्न सिफारिस गरिएको प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले बताएका छन्।

    ‘कोरोना संक्रमण दर तीव्र सबै सेवा र व्यवसाय एक महिना नखोल्ने गरी मन्त्रालय अन्तर्गत इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले सिफारिस गरेको छ’, गौतमले भने, ‘अवस्था जटिल बन्दै गएकाले यस्तो सिफारिस गरिएको हो।’

    गौतमका अनुसार अहिले कोरोनाका १७ हजार सक्रिय संक्रमित छन्। यदि सक्रिय संक्रमितको संख्या २५ हजार पुगेको खण्डमा लकडाउन गर्नुपर्ने सिफारिस पनि मन्त्रालयले सरकारलाई गरेको छ।

    ‘अहिले १७ हजार सक्रिय संक्रमित छन्। कुनै दिन २५ हजार सक्रिय संक्रमित भएमा फेरि बन्दा बन्दी गर्ने गरी सिफारिस भएको छ’, उनले भने, ‘अन्तर्राष्ट्रिय नाकाहरुमा हेल्थ डेस्क स्थापनाका लागि दरबन्दी पुनरवालोकन गर्ने पनि निर्णय भएको छ।’

    ‘कोरोना निको भएपनि त्यसको असर लामो समयसम्म रहन सक्छ’

    नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को एक अध्ययनले कोरोना निको भइसक्दा पनि त्यसको असर लामो समयसम्म हुन सक्ने बताएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् भवन । अध्ययनले युवा तथा वयस्कमा पनि कोरोना संक्रमणले लामो समयसम्म बिरामी बनाउन सक्ने जनाएको हो ।

    परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा अध्ययन सार्वजनिक गर्दै ३५ प्रतिशत भन्दा बढि कोरोनामुक्त बिरामीमा निको भएको २–३ हप्तासम्म पनि रुघाखोकी लाग्ने, थकान हुने र साँस फेर्न गाह्रो हुने समस्या देखिएको बताए ।

    डा. ज्ञवालीले परिषद्ले कोभिड १९ संक्रमणबाट निको भएका व्यक्तिको स्वास्थ्य स्थिति सम्बन्धी अध्ययन सार्वजनिक गरेको बताउँदै कोरोना मुक्त भएका व्यक्तिको शारीरिक, मानसिक र समाजिक स्वास्थ्य अवस्था मूल्यांकन गरी अध्ययन गरिएको बताए ।

    अध्ययनमा कोरोना संक्रमण निको भएका ९९ प्रतिशतले यात्रा गरेको पाइएको छ जसमा ६९.१ प्रतिशतले आन्तरिक यात्रा र २९.९ प्रतिशतले अन्तराष्ट्रिय यात्रा गरेका थिए । शारीरिक स्वास्थ्य अवस्था अध्ययन गर्दा ८९.१ प्रतिशत सामान्य र १०.१ प्रतिशतमा कोरोनाका लक्षण देखिएको थियो । लक्षणमा रुघाखोकी लाग्ने ,हाँछ्यु आउने, चिसो महसुस हुने, सामान्य काम गर्दा पनि कमजोर महसुस हुने तथा गन्ध र स्वाद गुमाएको लक्षण देखा परेको थियो ।

    कोभिड १९ निको भएका बिरामी, स्वास्थ्यकर्मी, समाजसेवी लगायतमा पोष्ट ट्रम्याटिक स्ट्रेस डिसर्अडर र पोस्ट ट्रम्याटिक स्ट्रेस सिन्ड्रोम देखिएको छ । अध्ययनमा सहभागी भएकामा ७० जनामा दीर्घरोग जस्तै मधुमेह, मुटुरोग, दमरोग ,श्वासप्रश्वासका अन्य रोग र केहीमा एचआइभी संक्रमित पनि रहेका छन् । कोभिड १९ पछि धुमपान र मद्यपान सेवन १० देखि १२ प्रतिशतले क्रमश घटेको अध्ययनले देखाएको छ ।

    अध्ययनले मानसिक स्थिति मूल्याकंन गर्दा १५ प्रतिशतलाई कोरोनाका बारेमा सुन्दा बारम्बार दिक्क लाग्ने,अनावश्यक विचार आउने र ७.७ प्रतिशतमा आफू र अरुमा नकरात्मक विचार आउने, २१.४ प्रतिशतमा कामको चिन्ता, १९.२ प्रतिशतमा घरको चिन्ता र २९.६ प्रतिशतमा बेरोजगारीका कारण चिन्ता देखिएको जनाएको छ।

    संक्रमित व्यक्तिले रिपोर्ट नेगेटिभ नआउँदासम्म अलग्ग बस्दा मासिक कमाइमा असर पुर्याएको अनुभव गरेका थिए भने कोभिड १९ को डरका कारण आफन्तबाट संक्रमित हुँदा कुनै पनि स्नेह र प्रेमको अनुभव नपाएको तथ्य अध्ययनमा देखिन्छ ।

    अध्ययनले त्यसैगरी सामाजिक स्वास्थ्यमा ८४.३ प्रतिशत निको भएकाले सामाजिक भेदभाव तथा दुर्व्यवहारका कारण मानसिक चिन्ता हुने र अविश्वासनीय समाचार तथा फेसबुकलगायतका सामाजिक सञ्जालले झन् चिन्ता थपेको पाइएको छ ।

    परिषद्ले टेलिफोन अन्तवार्ताबाट ७ वटै प्रदेशमा १८ वर्ष माथि उमेरका कोरोना संक्रमण निको भएका व्यक्तिमा अध्ययन गरेको जनाएको छ । ५५२ संख्यात्मक र २५ जनामा गुणात्मक अध्ययन गरि प्रतिवदेन सार्वजनिक गरिएको हो ।

    यसअघि सरकारले सिन्धुपाल्चोक र बागलुङलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। ती दुई जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्दै विश्व बैंकबाट प्राप्त हुने करिब ६ अर्ब रुपैयाँमा पुर्ननिर्माणका काम अगाडि बढाइने परराष्ट्रमन्त्री, सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले बताए।

    विपद व्यवस्थापन प्राधिकरणको अगुवाईमा पुर्ननिर्माणको काम सुरु हुने उनले जानकारी दिए। त्यस्तै सरकारले नेपाल चीन व्यापार संयुक्त कार्यदलको भर्चुअल वार्ताका लागि कार्यसूची र टोली स्वीकृत गरेको छ। नेपाल र चीनको व्यापार प्रवद्र्धनका लागि बैठक फलदायी हुने ज्ञवालीले बताए।

    यस्तै हाइटीमा हैजाको कारण भएको ठूलो क्षतिको पुर्नस्थापनाका लागि संयुक्त राष्ट्र संघले बनाएको कोषमा ५ हजार डलर सहयोग गर्ने निर्णय पनि गरेको छ। नेपाल सरकार र इजरायल सरकारबीच श्रम सम्झौतामा हस्ताक्षर गर्न राजदूत अन्जन शाक्यलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि सरकारले गरेको छ। सम्झौतापछि सरकारी तवरबाट जाने नेपाली कामदारहरुले त्यहाँका नागरिक सरह सुविधा र संरक्षण प्राप्त गर्नेछन्।

    यस्तै सरकारले असोज २४ का लागि तोकिएको निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन मंसिर २७ गतेका लागि तोक्ने निर्णय पनि गरेको छ। सरकारले नेपाल र चीन दुई देशका महत्वपूर्ण ग्रन्थहरुको अनुवाद गर्ने समझदारी पत्रमा हस्ताक्षरका लागि स्वीकृति दिने निर्णय पनि गरेको छ।

    सरकारले कोरोना संक्रमितको उपचार र शव व्यवस्थापनमा संलग्नहरुको २५ लाखको निःशुल्क बिमा गर्ने निर्णय पनि गरेको छ। कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्य प्रविधिक, महिला स्वास्थ्य स्वयंमसेविका, सरसफाइ कर्मचारी, शव व्यवस्थापनमा संलग्न जनशक्ति, एम्बुलेन्स चालक र प्रत्यक्ष संलग्न हुने सुरक्षाकर्मी र कर्मचारीको निशुल्क बीमा क्षतिपूर्ति दिने निर्णय गरेको हो ।

    नेपाल-चीन सीमाबारे स्थलगत रिपोर्ट नआउँदै सरकारले हतारमा टिप्पणी गर्‍यो : कांग्रेस

    हुम्लामा नेपाल र चीनबीचको सीमा मिचिएको हो वा होइन भन्नेबारे सरकारले हतारमा टिप्पणी गरेको कांग्रेसले आरोप लगाएको छ । बिहीबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले स्थलगत अध्ययनको विवरण आउनुपूर्व नै सरकारले यसबारे टिप्पणी गरेको बताएका हुन् ।

    ‘हुम्ला जिल्लास्थित नेपाल र चीनको सीमासम्बन्धी प्रश्नमा सीमा मिचिएको हो या होइन भन्ने विषय स्थलगत अध्ययनको विवरण आउनु पूर्व नै ‘सीमा मिचिएको छैन’ भनेर परराष्ट्र मन्त्रालयले धारणा सार्वजनिक गरेको प्रति नेपाली कांग्रेसको ध्यानाकर्षण भएको छ,’ प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र नेपाली सेनासमेतको टोलीको स्थलगत अध्ययन जारी रहँदै, स्थलगत भ्रमण पूरा गरेर सदरमुकाम फर्कनुपूर्व नै सरकारले धारणा सार्वजनिक गर्नु युक्तिसंगत नदेखिएको कांग्रेसको आरोप छ ।

    अध्ययन टोलीले ११ नम्बर पिल्लर बुधबार मात्रै भेटेको र चीनले निर्माण गरेको संरचना १२ नम्बर पिल्लरबाट बाहिर या भित्र भनेर अध्ययन टोलीको स्थलगत अध्ययन निष्कर्षपछि सीमा मिचिएको हो/होइन भन्ने बारे निष्कर्षमा पुग्न सकिने स्थितिलाई पनि सरकारले हेक्का नराखेको प्रवक्ता शर्माले बताएका छन् ।

    सीमासम्बन्धी गम्भीर प्रश्नमा स्थानीय प्रशासन, राजनीतिक दल र सञ्चार माध्यमसमेतको ठोस अध्ययन र अवधारणाको जगमा धारणा सार्वजनिक गर्नु जिम्मेवार र परिपक्व हुने आफूहरुको बुझाइ रहेको कांग्रेसले बताएको छ ।

    ‘बिहीबार साँझसम्म स्थलगत अध्ययन टोली सीमाबाट हुम्लाको सदरमुकाम फर्किएपश्चात सीमा मिचिएको ठहर भए चीन सरकार समक्ष कडा विरोध जनाउादै संवादको कूटनीतिक प्रक्रियामार्फत् समाधानमा पुग्न सरकारलाई प्रतिपक्षी दलका तर्फबाट सचेत गराउँदछौं,’ कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    स्थलगत अध्ययनको धारणा आउनुपूर्व नै ‘सीमा मिचिएकै छैन’ भनेर ठोस अध्ययनको आधार बेगर धारणा सार्वजनिक गर्नु परराष्ट्र मन्त्रालयको कमजोरी रहेको पनि कांग्रेसले आरोप लगाएको छ ।

    बुधबार परराष्ट्रमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले नेपाल र चीनबीच सीमा समस्या नभएको बताएका थिए । हुम्लामा नेपाली भूमि मिचेर चीनले भौतिक संरचना निर्माण गरेको भनेर आएका समाचारप्रति सरकारको ध्यानाकर्षण भएको भन्दै मन्त्री ज्ञवालीले त्यसमा सत्यता नभएको बताएका थिए ।

    लामो समयदेखि हराएको भनिएको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ बुधबार भेटिएको थियो । हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको नेतृत्वमा गएको टोलीले बुधबार स्तम्भ भेट्टाएको जानकारी नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले दिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया